- राजेश मिश्र
नेपाल देशमा यान्त्रिक उल्लास उत्कर्षमा छ ।
चुनावको उत्साहमा सामान्य मतदाताभन्दा बढी मतदान नगर्ने, तर, सामाजिक संजालका हिसावले राजनीतिमा ‘निरक्षर’ र ‘साईबर चपल’ जमात आकर्षित रहेको छ । एआई प्रविधिको दुरुपयोग चरममा छ । चुनावमा होमिएका दलहरुले प्रतीज्ञा–पत्र, वाचा–पत्र वा घोषणा–पत्र, जुनसुकै नाममा आफ्ना प्रतिबध्दता प्रकट गरेपनि यसले सामाजिक बहसको रुप लिइसकेको अवस्था छैन । अजेण्डामाथि विचार होइन, अनुहार हावी छ ।
चुनावी भविष्यवेत्ताहरु दावी गर्दैछन : यसपटक रास्वपा नामधारी नयाँदलको पक्षमा “सुनामी” आउनेछ । सुनामी निर्माणको शब्द होइन, विध्वंशको प्रतीक हो । अनि रास्वपा पनि पुरानो दल होईन । रास्वपा सभापति जुन मुद्दा उठाएर जसको बिरोधगर्दै दुइपटक संसदमा पुगेका थिए, दुवैपटक त्यही पुरानै ‘भ्रष्ट’ नेताहरुको नेतृत्वमा सरकारको स्वाद चाखिसकेको दल हो । नाम नयाँ भएपनि यो दलले नयाँपन देखाउन सकेको उदाहरण छैन । यसका बारेमा तल छलफल हुनेछ ।
पहिले कुरा गरौँ चुनावमा संचार–माध्यमको भूमिकाको । नेपालको डिजिटल पत्रिका सेतोपाटीले फागुन २१ मा हुने चुनावका बारेमा सर्वेक्षण सामग्री प्रस्तुत गरेको छ । प्रक्षेपण अनुसार आगामी चुनावमा रास्वपाका उम्मेदवार अगाडी छन । सर्वेक्षण जनतालाई सुसुचित गर्ने ईमान्दार अभ्यास हो कि मतदातामाथि मानसिक दवाव दिने प्रयास ? छुट्टिदैन । नेपाली जनमानसको चरित्र नै ‘जता ढल्कु उता मल्कु’ हो । नेपालको संबिधानमा ‘लोकतन्त्र’ र ‘समाजवाद’को फुंदा जोडिएपनि यथार्थमा नेपाली समाज न लोकतान्त्रिक छ, न समाजवादी । राजनीतिक रुपले गरिएको लोकतन्त्रको परिभाषा सामाजिक, आर्थिक र सांस्कृतिक धरातलमा यथारूप लागु हुँदैन । समाजको ध्यान सानातिना तिकडमकै भरमा आकर्षितगर्नु सजिलो हुन्छ ।
नेपालमा भाष्यनिर्माताको छवी बनाउन लालायित संचार माध्यमको सूचिमा सेतोपाटी पहिलो होईन । माओवादी द्वन्द चरम अवस्थामा रहेको समयमा हिमाल मिडिया समूहले पनि यस्तै सोचेको थियो । ‘दलित र सीमान्तकृत बर्गको सशक्तिकरण’ भन्ने नाम दिएर यो संचारगृहले आर्कटिक सर्कलको देश नर्वे लगायत अन्य युरोपेली मुलुकहरुबाट गतिलो आर्थिक सहायता पाएको हो । संचारगृहका स्वामी दीक्षितहरु सोच्थे, ‘बहस जेसुकै होस्, भाष्यनिर्माता हामी नै हौँ ।’
सेतोपाटीमा पनि अहिले यस्तै दम्भ देखिन्छ । सन १९३० मा जन्मिएका जर्ज सोरोस हंगेरियन–अमेरिकी ‘परोपकारी’ यहूदी ब्यापारी हुन । हिजोआज ‘ग्लोबल साउथ’का रुपमा प्रचारित क्षेत्र उनको आखेटभूमि हो । उनको आक्रामक आर्थिक रणनीति गरीब मुलुकको राजनीतिसंग ठोक्किएका उदाहरण धेरै छन । त्यसैले उनी कुख्यात पनि छन । उनको संस्था ‘ओपन सोसाईटी फाउन्डेसन’ नामको उपक्रम नेपालमा ‘अलायन्स फर सोसल डाईलग’ नामको गैर सरकारी संस्थासंग जोडिएकोछ । सेतोपाटीको प्रकाशन शुरु हुँदा उद्घाटनको केक काट्नेमा सम्पादक अमित ढकाल, लेखक–पत्रकार नारायण वाग्ले र टेलिभिजन पत्रकार बिजयकुमार थिए । हाल अलायन्स फर सोसल डाईलगका हर्ताकर्ता हरि शर्माको संलग्नता त पछि मात्रै देखिएको हो । हरि शर्मा कुनैबेला प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाका प्रमुख सचिव थिए । पछि उनी प्रथम राष्ट्रपति रामवरण यादवका ‘राजनीतिक सल्लाहकार’ भए ।
अहिले सेतोपाटीको “सर्वेक्षण” माथि औंला ठड्याउनेहरु बिरुध्द यो संस्था सर्वोच्च अदालतको ढोका ढक्ढक्याउने तयारीमा रहेको सुनिएको छ । सेतोपाटीले अव अर्को मुद्दाको पनि तयारी गर्नु उचित हुनेछ ।
नेकपा एमालेका केपी ओलीको प्रधानमन्त्रित्वकालमा गोकुल बास्कोटा पहिलो पटक संचार मन्त्री भएका समयमा सेतोपाटी निकै आक्रामक रुपले सरकार बिरुध्द प्रस्तुत भएको थियो । तिथि–मितिको सम्झना भएन । एकदिन सेतोपाटीका सम्पादक र मन्त्री गोकुल बाँस्कोटाको एउटा रंगीन साँझमा भेट भयो । त्यो बेला गोकुल बास्कोटाले सेतोपाटीका सम्पादकलाई भनेका थिए, "तपाईं हामी एउटै जहाजका यात्री हौँ । डुबे संगै डुब्ने हो । तपाईंको आर्थिक स्रोत विज्ञापनमात्रै होइन भन्ने मलाई थाहा छ । ‘फूल अडीट’ गर्न लगाउँ ?"
सेतोपाटीले त्यसको भोलिपल्टदेखि ओली सरकारको आलोचना गदै सम्पादकीय लेख्नु त टाढाको कुरा, लेख समेत प्रकाशित गरेन !
अब अर्को उदाहरण, केही वर्षअघि सेतोपाटीमा चितवनको कुनै मेडिकल कलेजबारे धारावाहिक ‘अनुसन्धानमूलक’ समाचार प्रकाशित भयो । तीन शृंखलापछि यो क्रम अचानक बिना कुनै तार्किक निष्कर्ष बन्द भयो । सम्पादक आफै चितवन पुगेर लेखेको त्यो समाचार शृंखला सिनेमा हेरे जस्तै आत्मपरक र रोचक थियो : “त्यो मेडिकल कलेजको संचालक नटराजनले मलाई सोध्यो, ‘तेरो अंग्रेजी कसरी यति राम्रो भयो ? नेपाली पत्रकारले यस्तो अंग्रेजी बोलेको मलाई थाहा थिएन ।” आदि ईत्यादि ।
त्यसपछि अचानक सेतोपाटीमा त्यो कलेजको 'अनियमितता'का समाचार आउन बन्द भयो । सेतोपाटी र त्यो मेडिकल कलेज बीच समीकरण मिलाउन ‘त्रिकोण’ नामको एड्भरटाईजिङ् एजेन्सीका संचालकको कसरी प्रवेश भयो ? त्यसपछि समाचार-शृंखला किन बन्द भयो ? सेतोपाटीका सम्पादक आफ्ना पाठकप्रति ईमान्दार छन् भने उनले यसको जवाफ सेतोपाटीमा लेखेर दिनुपर्छ । राजनीतिज्ञले आफूमाथि उठेको प्रश्नमा जवाफ दिनुपर्छ भन्ने उनको मान्यतामा मेरो शत–प्रतिशत सहमति छ । तर, यो मान्यता पत्रकारमाथि लागु हुने कि नहुने ? या उनले जवाफ दिउन, अन्यथा यो ‘लान्छना’ लगाउने लेखक म र छाप्ने किशोर नेपाल बिरुद्ध अदालतको ढोका ढकढक्याउन उनी स्वतन्त्र छन ।
कुरा मेडिकल कलेजको मात्रै होईन, लिटिल बुध्दको नामले कहलिएका रामबहादुर बोम्जनका बारेमा उनले गरेका ‘सिरिज’ किन शुरु भए र किन अनयासै बन्द भए ? प्रमाण र उदाहरण धेरै छन् ।
तर, कुरा यहाँ सेतोपाटीको मात्रै होईन । रास्वपाको सुनामी आउने सन्देशदिन दृश्य टीभी नामको एक अनलाईनले ईलामका दुई पत्रकारबीचको ‘रोचक’ वार्ता प्रसारित गरेको थियो । नीलो सुनामीको भविश्यवाणी यसमा पनि जोडदार रुपले मुखरित भयो । यो एक प्रकारले सेतोपाटी सर्वेक्षणकै नियतमा आधारित थियो । नेपाली राजनीतिको यो तरल मात्रै होईन, ‘स्लाईमी’ अर्थात् लेदो अवस्था हो । कसको स्वार्थ कसको जय वा पराजयसँग जोडिएको हुन्छ, हचुवामा भन्न मिल्दैन ।
तर, एउटा यथार्थ सरल रुपले प्रकट छ । हाम्रो ‘आकाशे छिमेकी’को स्वार्थ र प्रभाव नेपालको न्यायालयमा भन्दा संचार क्षेत्रमा बिशेष रुपले बलशाली हुँदै गएको छ ।
कुरा नीलो स्यालको
काकतालीले नीलो रंगमा डुबेर जंगलको सिंहको जस्तो हुंकारगर्ने रास्वपाका सभापति ‘भगवान’का रुपमा स्थापित भए भने, यो कुनै आश्चर्य हुनेछैन । नेपाली समाजमा आफ्नो कर्मठ कर्तब्य परायणता भन्दा आकाशबाट झरेको कुनै देवदूतले सम्पूर्ण समस्या जादूको छडीको एक झट्कामा समाधान गरिदिन्छ भन्ने परम्परागत बिश्वास व्याप्त छ । नेपालीहरु मान्छे मन परेपछि उसले गरेको ‘सात खून’ समेत माफ गरिदिन्छन ! त्यति हुँदा पनि हाम्रो समाजमा नीलो रंंग खुईलिएर सामान्य स्याल झैँ हुईंयागर्ने फौजदारी मुद्दाको अभियुक्तको नियतमा प्रश्नगर्ने चेतना छैन । सामाजिक संजालमा अर्कालाई तौलिनेहरु आफैलाई प्रश्न गर्दैनन् । हौवाको भरमा अर्कालाई तौलिनु जति सजिलो हुन्छ, सोच्ने काम उति नै कठीन । भीड सजिलो बाटो लाग्नु स्वाभाविक हो ।
२०७९ सालको चुनावमा रास्वपाले उठाएका १२९ उम्मेदवार मध्ये जितेको केवल सात जनाले हो । समानुपातिक प्रणाली बरदान साबित भयो र यो दल २१ सीट सहित चौथो भयो । रास्वपाले अहिले बजाएको चुनावी दुन्दुभी त्यही पुरानो ‘समानुपातिक’ दोहोरिने आशामा हो ।
तर बिडम्बना ! नीलो स्यालले चुनाव जितेपनि सांसदको फुली लगाएर संसदमा शपथग्रहणगर्न पाउने छैन । उसको अवस्था निलम्बित रहेनछ ।
चितवन–२ का मतदाताले हौवाको भरमा जिताएका उम्मेदवारको कुटिल आपराधिक ईतिहासका कारण दुईपटक आफ्नो साधन, श्रोत र समय व्यर्थमा खर्च गरिसकेका छन् । त्यो क्षेत्रका नागरिकका निम्ति यो आफैमा लज्जाको बिषय हो । के तेश्रो पटक पनि यही हास्यास्पद ईतिहास दोहोरिने हो ? यस अर्थमा चितवन दुईका मदताताको विवेक ऐतिहासिक तराजूमा झुण्डिएको छ ।
कुन जिल्लामा हो, मलाई अहिले ठ्याक्कै याद छैन : एक महिलाले गाडीको ‘सन्–रुफ’ बाट रास्वपा सभापतिलाई तानेर पांच सेकेण्ड गालामा चुम्बन गरेको दृश्य सामाजिक संजालमा भाईरल भयो । सभापति प्रफुल्ल भए ।
ती महिलाले किन बिर्सेको होला ?
अमेरिकामा तीनओटा बिवाहेत्तर सम्बन्ध राखेर एक सन्तानका पिता भएका दिलफेंक व्यभिचारी थिए उनी ! नेपालमा उनले भोगिरहेको सहकारी ठगी, सम्पत्ति शुध्दिकरण र संगठित अपराधको मुद्दा केवल ‘प्रतिशोध’ हो भने अमेरिकाबाट भाग्नु अघि उनी बिरुद्धका बैंक ठगीको सातओटा मुद्दा पनि प्रतिशोध नै थिए ? अमेरिकीलाई थाहा छ, त्यहाँ थन्किएका मुद्दाका कारण सत्तामा पुगेको नीलो स्याललाई कुनैपनि बेला ‘ब्ल्याकमेल’गर्ने बाटो खुला छ । घंटेहरुको कानमा केवल घन्टी बजेको छ । कुरा बुझ्ने न समय छ न क्षमता ।
कुरा कालो चश्माको
रास्वपा सभापति नीरिह छन् । बागमती प्रदेश, काभ्रे जिल्लाका रास्वपा उप-सभापतिले भर्खरै रास्वपा परित्याग गर्दै भनेका कुरा बडा रोचक छन : ‘सभापतिले खाली फारममा सही गरे, क–कसले नाम भरे, उनलाई थाहै भएन ।’ जो बुझ्छन, तिनले बुझ्नेछन । यसमा थप टिप्पणी आवश्यक छैन । ढाकाकुमार श्रेष्ठ प्रकरण त अस्ति भर्खरको नै हो । मिसन चौरासीको नारा दिने रास्वपाको हविगत बयासीमै छताछूल्ल भएको छ ।
कालो चश्मा भित्र लुकेका तिलस्मी बालेन साह (वा शाह) किन बरिष्ठ नेताको पगरी गुथेर पनि रास्वपाको औपचारिक सदस्य छैनन ? झापा पांचको दमकमा खोलिएको उनको सम्पर्क कार्यालयमा ठोकिएको साईनबोर्ड चिच्याउँदैछ, ‘बालेनको सम्पर्क कार्यालय !’ त्यहाँ रास्वपा र घन्टीको नामो–निशान छैन ।
बालेन रास्वपाका सभापतिले चुनेका उम्मेदवारहरुको निर्वाचन क्षेत्रमा जाँदैनन । भैरहवा र बुटवलको चुनावी प्रचारमा ‘बिरामी भएको’ बहाना बनाए र गएनन । सभा स्थगित भयो । नीलो स्याल र कालो चश्मा एउटै मन्चमा उपस्थित हुंदा समेत उनीहरुको ‘आत्मीय’ रसायन प्रकट हुँदैन ।
नीलो स्याल आफ्ना पछिल्ला कर्तुतका कारण भूराजनीतिक मोलमोलाहिजाको एक लाचार शिकार भएको बुझ्नु कठीन छैन । नक्खु जेलमा हुँदा उसलाई भेट्न नेपालमा कहलिएका धेरै ‘ब्यक्तित्व’ पुगेका थिए । सुदन गुरुङ भेट्न गएको दुई सातापछि उनी सर्वोच्च अदालतको निर्णय लत्याएर एक जिल्ला न्यायाधीशले गरेको उदेकपूर्ण आदेशका आधारमा रिहा भए । बालेनसंग सहकार्यगर्ने उनको योजना थिएन । यी दुवैको व्यक्तित्वमा गम्भीर टकराव छ ।
रास्वपा सभापतिको समस्या के हो भने, उनी ‘नखाउँ भने दिनभरी को शिकार, खाउँ भने कान्छा बाउको अनुहार’ भन्ने अवस्थामा छन । नीलो स्याल अमेरिकाको सातओटा मुद्दाबाट भागेर नेपाल पसेकोे मान्छे हो । अमेरिकी दूतावासको सदाबहार सदाशयतामा बालेन निकट सामाजिक संजालका ‘ईन्फ्लुएन्सर’हरुलाई काठमाडौं स्थित अमेरिकी दुतावासले नियमित तालीम दिंदै आएको छ । बालेनका निम्ति अमेरिकी भत्ता लिएर प्रशिक्षकका रुपमा कार्यरत निश्चल बस्नेत र प्रियंका कार्की सेलेब्रिटी मानिन्छन ।
आफ्नै बिगतको भासमा जाकिएको नीलो स्याललाई वालेन जस्तो सुविधा छैन । उसलाई प्रयोगगर्ने त धेरै छन्, सहयोगगर्ने कोही छैनन । राजनीतिमा भीड एक “अप्टीक” हुन सक्छ । त्यो समस्याको ताला खोल्ने साँचो हुँदैन ।
नीलो स्याल अहिले कालो चश्माको माकुरे जालमा अल्झिएको फगत एक झिंगा हो । कालो चश्मालाई बुझ्न धेरै कुर्नु पर्दैन । माकुराको सन्तानले माऊलाई पहिले खाएर जीवन यात्राको शुरुवात गर्छ ।
जाँदाजाँदै,
मार्क जुकरबर्गले आफ्ना दुई भारतीय सहपाठीको ‘अल्गोरिदम’ चोरेर हार्भर्ड युनिभर्सिटीबाट भागेपछि, आफ्नी प्रेमिका प्रिसिला चांगलाई फेसबूकको पहिलो प्रयोग यो मेसेज पठाएर गरेका थिए, ‘आई लभ यू !’
आज फेसबूक घृणा फैलाउने ‘हेट् मेसेज’ प्रसारण केन्द्र बनेको छ । हामी जानी नजानी यो भासमा जाकिएका छौं । नीलो स्याल र कालो चश्मा अल्गोरिदमका उत्पादन मात्रै हुन । अनि हामी अज्ञानी उपभोक्ता ।
यो ‘अदृश्य’ डोरीको बन्धन नचुँडिएसम्म नीलो स्याल र कालो चश्मा आउंछन, अनि जान्छन । हामी जहाँ छौ त्यहीं हुनेछौं ।
राजतन्त्रले जनतामा राजनीतिप्रति मोहभंग गराएर आफ्नो दूनो सोझ्यायो । संसदीय व्यवस्थाले जनतालाई राजनीतिक मोहरा बनाउन खोज्यो । अहिले उदाएको सिध्दान्त र नीति बिना देश बनाउन हिंडेकाहरुले जनतालाई ‘लाईक’ बटनमात्र ठानेकाछन । फासिष्ट राजमा ‘अनलाईक’ गर्ने बिकल्प हुँदैन ।