– नारायण नेपाल
नेपालका शहरबजारमा २०८२ भाद्र २३ र २४ गते पोखिएकोे हिंसात्मक असन्तुष्टिको परिणाम फागुन २१ गतेको निर्वाचनमा देखिएको छ । आन्दोलनको राप र चाप नसेलाउँदै भएको निर्वाचनले देशमा ताजा जनादेश लिएर आएको छ । जो जिता वही सिकन्दर ! भनेजस्तै यतिबेला देशमा देखिएको यो उन्मादको राजनीति लामो समय टिक्न सक्ला ? अहिले नै अनुमानगर्न सकिदैन । अहिले यो आन्दोलनको दुई विकल्प देखिएकोछ : या त यो पतनतिर जानसक्छ या अधिनायकवादतिर ।
हिजोसम्म विश्व राजनीतिको केन्द्रमा रुस र युक्रेन बीच युद्ध चर्चित थियो । आज अमेरिका– इजरायल इरानसंग युद्धमा रहेका छन । पश्चिमएशियामा भइरहेको यो युद्धको आर्थिक प्रभाव संसारभरि नै मज्जाले परेको छ । इरानसँग आर्थिक सम्झौता नगरे पुरै संसार आर्थिक मन्दीमा फस्ने निश्चित छ । युरोपले अहिले नै आर्थिक मन्दीको सामना गर्दैछ । भेनेजुयलाको तेल भण्डारमा अमेरिकाको कब्जापछि इरानमाथि भएको हमलाले कच्चा तेलको मुल्य बढाउने निश्चित छ । उता, युरोपतिर भोकमरीको खतरा बढेकोछ भने यता नेपालमा ‘देश र माटोको मायाले युरोप त्यागेर आयौं’ भन्नेहरूको बथान बाक्लिदै गएकोछ । युद्ध र त्यसको आर्थिक प्रभाव डलर, रुवेल र युआनमा पर्दैछ । अन्तरनिर्भरतामा अडिएका देशहरु भू–अर्थनीतिको नियन्त्रणमा छन । नेपालमा भइरहेको उथलपुथलले पक्कै पनि दुनियाँ बदलिएको होइन । तर, नेपाल जस्तो सानो र परनिर्भर बजारमा विश्व राजनीतिक संकटको बाक्लो बाछिटापर्नु निश्चित छ ।
चीनियाँ नेता माओले उहिल्यै एक सैन्य प्रशिक्षणका क्रममा भन्नुभएको थियोे – राज्यसत्ता बन्दुकको नालबाट प्राप्तहुन्छ । एकताका यो भनाइ नेपाली माओवादीहरूको गुरुमन्त्र नै बनेको थियो । अमेरिकी चिन्तक नोम चोम्स्कीले लेखेका छन् – मान्छेको सोच र सत्यमा नियन्त्रण गर्ने अस्त्र मिडिया र बौद्धिक वर्ग हो । मिडियाले प्रोपोगान्डा गर्छ, बौद्धिक वर्गले त्यसलाई यथावत वैधानिकता दिएर सत्यका रुपमा स्थापित गर्छन् । लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रता पाएको राज्य व्यवस्थामा जन–धारणा निर्माण गर्न मिडियाको भूमिका प्रमुख हुने गर्दछ । यहाँ त मानिस ‘डिजिटल’ जेलमा मज्जैले जेलिएका छन र त्यसैको आधारमा ‘जन–धारणा’ निर्माण हुने गरेको छ ।
आजको यो प्रयोग माक्र्सवाद होइन । न त यो लोकतान्त्रिक वा वामपन्थी समाजवाद नै हो । नेपाली राजनीतिमा अहिले प्रयोग भइरहेको सिद्धान्त ‘लोकप्रियतावाद’ हो । हेर्दा, सुन्दा मज्जा लाग्ने, भौतिक र शारीरिक आनन्दतर्फ जनमतलाई मोडने । प्रचलित सिद्धान्त महमा घोलिएको मन्द वीष हो । लोकतान्त्रिक आवरणमा तयार पारिएको यो सिद्धान्तले लोकतन्त्रको आवरणमा अधिनायकवादी शासनलाई स्थापित गर्दछ । उन्नाइसौं शताब्दीमा अमेरिका र एसियाली देशहरूमा अभ्यास भइसकेको यो ब्यबस्था विभिन्न दल र निर्णयक तहमा रहेका ती दलका नेताहरूको स्वभाव र अहिलेका नेताहरुको स्वभावमा खासै भिन्नता छैन । पहिले राजनीतिक अराजकता फैलाउने र त्यसपछि बदलिएको राजनीतिक अवस्थामा भएको निर्वाचन स्वीकार गर्ने परिस्थिति निर्माण गर्ने १
बेलायतका प्रसिद्ध विद्धान जोनलकले १७ औँ शताब्दीमा गरेको नव–उदारवादको व्याख्या आजको नेपाली राजनीतिमा उदारवादका रुपमा चलेकोछ । नव–उदारवादले ‘अधिनायक’को खोजी गर्दछ । आजको नेपाली समाज र राजनीतिमा मूख्यतः वामपन्थीदलहरू नवउदारवादको आर्थिक, राजनीतिक दवाव र दलदलमा फँसेका छन् । हाम्रो लोकतान्त्रिक पद्धतिमा जनताले राजनीतिक दल तथा शासकवर्गसँग गरेको सामाजिक करारको परिणाम दैनिकीका रुपमा खोजेका थिए । तर, यो लोकतन्त्रमा गठबन्धन सरकारले सुशासन, जनअधिकारको रक्षा र भ्रष्टाचारको अन्त्य गर्न सकेन ।
लोकतन्त्रमा मौलाएको विकृति कसरी लोकप्रियतावाद मार्फत अधिनायकवादमा पुग्छ ? लोकतन्त्रले मानिसलाई स्वतन्त्रता दिन्छ । तर, स्वतन्त्रताको सिद्धान्त बिहीन अभ्यासले सामाजिक अनुशासनमा ह्रास आउन थाल्छ । बिपन्न वर्गको अधिकारको अवमूल्यन हुन्छ । स्रोत र शक्तिमा नियन्त्रण जमाएका समपन्न वर्गको नियन्त्रणमै स्वतन्त्रता सिमित रहन्छ र अराजकता मौलाउन थाल्छ । यस्तो समाजमा गुलियो र मिठो नारा बोक्नेहरू शक्तिको केन्द्रिकरण मार्फत आफूलाई नियम र कानुनभन्दा माथि राख्न थाल्छन । त्यहीबाट बिस्तारै सैनिक अधिनायकवादको उदय हुन्छ । नेपालीे लोकतन्त्रमा मौलाएको लोकप्रियतावादको लय त्यही बाटोमा लागेकोछ ।
उदाहरणका लागिजान्नेलाई छान्ने, चुपचाप घण्टी छाप, अबकी बार बालेन सरकार जस्ता नारालाई हेरौं । चुनावमा उमेद्वारको चरित्र, योग्यता, भूमिका र उसको गतिविधि केही थाहा छैन । तर, ती अपरिचित अनुहारलाई विजयी गराउन नै अन्धाधुन्ध भोट हालियोे । के सबै उस्तै हुन त ? हो भने कसरी ? होइन भने कसरी ? कुन हो विचार ? के हो योजना ? को हो नयाँ ? को हो पुरानो ? के होला नयाँ ? के होला पुरानो ? पुराना दल र नेताहरूले केही गरेनन, केही भएन भन्ने भाष्य स्थापित भयो । के साँच्चै केही नभएको हो त ? होइन ।
पराजयपछिको समीक्षाभन्दा पूर्वतयारीको योजना महत्वपूर्ण हुन्थ्यो । समीक्षा आगामी यात्राको लागि महत्वपूर्णहुन्छ । निर्वाचन परिणामपछि आफूलाई ठूला नेता ठान्नेहरू आजको मुख्य समस्या मिडिया ‘एल्गोरिदम’ हो, यसको लहर बिश्वभरि नै चलेकोछ भनेर आफ्नो अक्षमताको ढाकछोप गर्दैछन् । तर, यस्तो तर्कको कुनै मूल्य छैन । एल्गोरिदम गणितीय हिसाबले आउने रुचीकर विषयको श्रृङ्खला मात्रै हो । सामाजिक मिडिया वा अनलाइन केवल माध्यममात्रै हुन् । मुख्य प्रश्न राजनीतिक साध्य हो, सिद्धान्त र व्यवहार हो, दृष्टिकोण हो । हामीले साधनको संचालन प्रणालीमा दोष दिएर उम्किने होइन । आवधिक निर्वाचन जनताको भावनानाप्ने लोकतान्त्रिक विधिमात्रै हो, समग्र राजनीति होइन । पराजयको लागि तयार नहुनेहरू विजयका हकदार पनि हुँदैनन् ! हरेक घटनाक्रमको समीक्षा गरेर खरानीबाट हामी उठ्ने कसरी हो ? के हो सुधार ? कसरी हुन्छ सुधार ? कहिले हुन्छ रूपान्तरण ? कसैले भन्न सक्दैन । हाम्रा स्थापित राजनीतिक दलहरुले त यो अभ्यासको थालनीसम्म गरेका छैनन ।