‘वागमतीको पानीमा सबैको बुद्धि भ्रष्टगर्ने ताकत छ’ - रुपान्तरण
 २०८३ बैशाख ९, बुधबार    

‘वागमतीको पानीमा सबैको बुद्धि भ्रष्टगर्ने ताकत छ’


– किशोर नेपाल

‘किशुनजी’ यतिमात्रै भने पुग्दछ । नेपाली सीमाना भित्रको वृहत्तर सामाजिक, आर्थिक तथा राजनीतिक समाजमा ‘कृष्णप्रसाद भट्टराई’ भनिरहनु पर्दैन । कांग्रेस र अन्य राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरुको बीचमा उहाँ किशुनजीकै नामले परिचित रहनु भयो । आत्माको पवित्रता र चरित्रमा उल्लास, उहाँको व्यक्तित्वको विशिष्ट पहिचान थियो । उहाँको राजनीतिक र सामाजिक ब्यक्तित्व जटिल थिएन । उहाँ आध्यात्मिक हुनुहुन्थ्यो । तर, सँधै धर्मको नाममा हुने पाखण्ड र आडम्बरका बिरोधमा उभिनु भयो । उहाँको प्रत्येक दिन गीता पाठबाट शुरु हुन्थ्यो ।

किशुनजी पत्रकार पनि हुनुहुन्थ्यो । नेपाल पत्रकार संघको पहिलो सभापति । पत्रकारका रुपमा सोभियत रुसको भ्रमणमा गएको समयमा उहाँले त्यहाँका प्रभावशाली नेता निकिता ख्रुश्चेवसंग अन्तर्वार्ता गर्नु भएको थियो । युवावस्थामा उहाँ बनारसबाट प्रकाशितहुने ‘युगवाणी’ पत्रिकासंग आवद्ध हुनुहुन्थ्यो । त्यतिबेला अन्य कतिपय पत्र–पत्रिकामा उहाँका बिचारोत्तेजक रचनाहरु प्रकाशित भएका छन ।

एक हिसावले किशुनजी ‘हठयोगी’ हुनुहुन्थ्यो । राजा महेन्द्रले २०१७ साल पुस एकगते प्रधानमन्त्री बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र नेपाली कांग्रेसका महत्वपूर्ण नेताहरुलाई गिरफ्तार गरेर सुन्दरीजल कारागारमा थुनेका थिए । उनको यो कदमको अन्तर्राष्ट्रिय स्तरमा विरोध भएको थियो । राजा महेन्द्रले २०२५ सालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दवाव थेग्न नसकेपछि बीपी कोइराला र उहाँका साथीहरुलाई रिहा गरेका थिए । रिहाइका लागि एउटा कागजमा हस्ताक्षर गराइएको थियो । बीपीले त्यसलाई ज्यादै ठूलो बिषय बनाउनु भएन । तर, कृष्णप्रसाद भट्टराईका लागि भने यो अहं बिषय थियो । राजाले बिना कुनै आरोप आपूmलाई थुनेकोले कुनैपनि कागजमा सही गरेर कारागारबाट मुक्तहुन उहाँले इन्कार गर्नुभयो । त्यसपछि उहाँलाई सुन्दरीजल कारागारबाट नख्खु कारागारमा लगियो । पछि, उहाँलाई त्यहीबाट रिहा गरियो ।

उहाँको कुनै घर थिएन । सम्पत्ति थिएन । कारागार मुक्त भएपछि उहाँ आफना भान्जाको कुपण्डोल हाइटमा रहेको घरमा बस्न थाल्नु भयो । त्यहींबाट उहाँ नेपाली कांग्रेसको पुनर्संरचनामा लाग्नु भयो । समयले बिस्तारै कोल्टोफेर्न थाल्यो । कारागारबाट मुक्त भएपछि बीपी कोइराला र गणेशमान सिंह निर्वासनमा जानु भयो । बीपीले त्यहीबाट प्रजातन्त्र स्थापनाका लागि सशस्त्र संघर्ष शुरु गर्नुभयो । किशुनजी हिंसात्मक संघर्षको विपक्षमा हुनुहुन्थ्यो । उहाँले प्रजातन्त्र पुनस्र्थापनाका लागि देशभित्रै बसेर साथीहरुलाई समेट्ने र अहिंसात्मक आन्दोलनका लागि संगठितगर्ने काम शुरुगर्नु भयो ।

हिंसात्मक आन्दोलनबाट परिवर्तन सम्भव नभएको निष्कर्ष निकाल्दै बीपी कोइराला र गणेशमान सिंह २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको आव्हानगर्दै स्वदेश फर्किनु भयो । स्वदेश फर्किनु अघि बीपी कोइरालाले पटना शहरमा कांग्रेसका नेता र कार्यकर्ताहरुको सम्मेलनको आयोजना गर्नु भएको थियो । त्यही सम्मेलनमा बीपीले नेपाली कांग्रेसको सभापतिका हैसियतले किशुनजीलाई कार्यवाहक सभापति बनाउनु भयो । बीपीको स्वदेश आगमनपछि देशको राजनीतिक घटनाक्रम तीब्र गतिमा परिवर्तनको दिशामा अघि बढन थाल्यो ।

राष्ट्रिय एकता र मेलमिलाप – २०३३ देखि राष्ट्रिय जन–आन्दोलन – २०४६ सम्म– तेह्रबर्षको अवधिमा नेपाली राजनीतिक जीवनमा ब्यापक परिवर्तन आयो । जनमत संग्रह–२०३६ बाट घुम्न शुरु भएको नेपाली राजनीतिक समय–चक्रको वेग राष्ट्रिय जन–आन्दोलन –२०४६ मा थामियो । देश संवैधानिक राजतन्त्र र वहुदलीय प्रजातन्त्रको राजमार्गतिर लाग्यो ।

यसपछि शुरु भयो किशुनजीको नयाँ यात्रा । राजाको सक्रिय नेतृत्वबाट जनताले चाहेको बहुदलीय प्रजातन्त्रतिरको यो यात्राका क्रममा किशुनजी अन्तरीम सरकारका प्रधानमन्त्री बन्नुभयो । उहाँको नेतृत्वमा बनेको सर्वदलीय सरकारले देशमा बृहत्तर शान्ति स्थापना गर्यो । सवैधानिक राजतन्त्र र वहुदलीय प्रजातन्त्रको कुशल संचालनका लागि अनुकूल संविधान बनायो । संसदका लागि चुनाव गरायो । तर, चुनावमा त्यो समयका प्रभावशाली र लोकप्रिय प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई पराजित हुनुभयो ।

राजा बीरेन्द्रले नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई २०४७ बैशाख ६ गते अन्तरीम प्रधानमन्त्री नियुक्त गरेका थिए । उहाँ २०४८ जेठ १२ गतेसम्म पदमा रहनु भयो । अन्तरीम प्रधानमन्त्रीका रुपमा उहाँले राजनीतिक समस्याहरुको सहज समाधान गर्नु भएको थियो । नयाँ लेखिन लागेको संविधानमा ‘राजाको राजकीय अधिकार कटौति नगर्न’ दवावदिन तत्कालीन नेपाली सेनाका डेढ दर्जनजति प्रभावशाली जर्नेलहरु उहाँको कार्यकक्षमा पुगेका थिए । उहाँले ती जर्नेलहरुलाई ‘महाराजधिराजसंग मेरो कुरा भै सकेकोछ’ भनेर जवाफ दिदै फर्काइ दिनु भयो ।

यो अन्तरीम कालमा म नेपाल टेलिभिजनको संचालक समितिको सदस्य थिएँ । प्रधानमन्त्री भट्टराईसंग सम्बन्धित समाचारहरु प्रसारणभन्दा पहिले हेर्ने जिम्मा मलाइ दिइएको थियो । कांग्रेसका बौद्धिक नेता मनमोहन भट्टराई संचार मन्त्रालयको सल्लाहकार नियुक्त भएका थिए ।

दोस्रो पटक किशुनजी संसदीय चुनाव जितेर, जन प्रतिनिधिका रुपमा, २०५६ जेठ १७ गते प्रधानमन्त्री बन्नु भयो । नेपाली कांग्रेसको संसदीय चुनाव अभियान उहाँकै नेतृत्वमा चलेको थियो । चुनावमा नेपाली कांग्रेसले स्पष्ट वहुमत ल्याएको थियो । नेपाली कांग्रेसले उहाँलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेको थियो । प्रधानमन्त्री बनेको एकसातापछि किशुनजीले मलाइ फोन गरेर आफनो कार्यालयमा बोलाउनु भयो । भेटमा उहाँले मलाई आफनो प्रेस सल्लाहकार नियुक्त गरेको पत्र दिनु भयो । त्यो पदमा पुग्न धेरै प्रभावशाली ब्यक्तिहरु जमजमाएका थिए । उनीहरु किशुनजीलाई प्रभावितगर्न विभिन्न सूत्रहरुको प्रयोगगर्दै थिए । तर, किशुनजी कुनै प्रभाव र लालचमा पर्ने ब्यक्तित्व हुनुहुन्थेन ।

किशुनजीको शासन अपेक्षाकृत ‘शुद्ध’ थियो । मन्त्रीहरु कमिशन र घूसलिन डराउँथे । सिंह दरवार परिसरमा कमीशनखोर र विचौलियाहरुको आवागमन र चहल–पहल रोकिएको थियो । आर्थिक कारोवारमा लिप्त कांग्रेसका केही नेताहरुका लागि योे अवस्था असहनीय थियो । पार्टीका केही जिम्मेवार नेताहरु भट्टराई सरकारका बिरुद्ध एक भएर ‘सिंह दरवारमा मूर्दा शान्ति छाएको’ भाषण गर्न थालेका थिए ।

देशमा माओवादी जनयुद्ध चर्किइ रहेको थियो । किशुनजी यसको समाधानकोे प्रयासमा हुनुहुन्थ्यो । उहाँलाई जनयुद्ध कसको वलमा चलेकोछ भन्ने कुराको ज्ञान थियो । उहाँका केही प्रभावशाली युरोपेली मित्रहरु नेपालमा जनयुद्ध अन्त्य गराउन विचार–विमर्शमा थिए । यही क्रममा उहाँलाई फ्रान्स भ्रमणको निम्तो आयो । तर, नेपाली कांग्रेस पार्टी पंक्तिका केही ब्यक्तिहरु उहाँको फ्रान्स भ्रमणका बिरुद्ध लागे । पार्टीभित्र र वाहिरका नीहित स्वार्थीहरु भन्न थाले, ‘किशुनजी अन्त जहाँ गएपनि हामीलाई आपत्ति छैन । उहाँ फ्रान्स बाहेक जहाँ गएपनि हुन्छ ।’

यो अचम्म लाग्दो तर्क थियो ।

किशुनजी पार्थिव रुपले नरहनु भएको यो अवधिमा नेपाली समाजमा ठूलो उथल–पुथल भइ सकेको छ । जनताले देश द्रूततर गतिमा ओरालो लाग्दै गरेको अनूभूत गरेकाछन । देशप्रति समर्पित सामान्य नेपाली जनताको मनमा किशुनजीको सम्झना बाक्लिएकोछ : उहाँ नेपाली जनताको ‘आफनो मानिस’ हुनुहुन्थ्यो । देशमा लोकतान्त्रिक शासन स्थापनाका लागि उहाँले गर्नु भएको लामो र कष्टपूर्ण संघर्षको सम्झना अविस्मरणीयछ ।

वर्तमान राजनीतिक परिवेश र समकालीन समाज न त किशुनजीको चाहना अनुरुप रहेकोछ, न त उहाँको अनुपस्थिति कसैलाई खटकिएकोछ । अहिलेको अवस्थामा गणतन्त्र नेपालका पिता गिरिजाप्रसाद कोइराला नै विस्मृतिको गर्भमा धकेलिइ सक्नु भएकोछ । राजनीतिको ‘धन्दा’ मा लागेकाहरुले यतिबेला किशुनजीलाई सम्झिनुपर्ने कुनै कारण पनि छैन । संवैधानिक राजतन्त्र र वहुदलीय प्रजातान्त्रिक ब्यबस्था अन्तर्गत भएको अन्तिम संसदीय चुनावको नेतृत्व गरेर कांग्रेसलाई वहुमतले जिताउने नेताप्रति कांग्रेसले गरेको व्यवहारको सम्झना गर्नेबेला पनि यो होइन ।

किशुनजी ठट्टागर्नु हुन्थ्यो । आफनो पीडालाई ठट्टामा अनुवादगर्ने कौशल थियो उहाँमा । उहाँको शैली जीवन्त थियो । उहाँले गर्नुहुने ठट्टाका विरुद्ध छापागिरी हुने गर्दथ्यो । उहाँका राजनीतिक बिरोधीहरु उहाँको व्यक्तित्वको सान्दर्भिकता समाप्त भइ सकेको हल्ला गर्दथे र रमाउँथे ।

पछिल्लो समय, आत्मकेन्द्रित र संवेदनहीन राजनीतिबाट पन्छिएर वस्नु भएको थियो किशुनजी । सत्ता र शक्तिको दौडमा लागेका जो पनि उहाँलाई भेट्न पुग्दथे ती सबैलाई निस्पृह भावले सान्त्वना दिनुहुन्थ्यो । उहाँ जे हुनुहुन्थ्यो, त्यही देखिनु हुन्थ्यो । आफनो निर्णायक क्षमतामा कहिल्यै कुनै चूक आउन दिनु भएन किशुनजीले ।

वर्तमानमा नेपाली राजनीतिका मानदण्डहरु वदलिएकाछन । तर, किशुनजीले मानवीय स्वतन्त्रताका लागि, नेपाली जनताको अधिकारको स्थापनाका लागि र नेपाली जनताको आत्म–सम्मानका लागि सतत संघर्षगर्नु भयो । ‘नेपाली जनताले स्वतन्त्रताको सीमा नाघेर स्वच्छन्दताको हदैसम्म आफनो अधिकारको उपभोगगर्न पाउनु पर्दछ’ भन्ने मान्यतामा उहाँ जीवनभरि दृढ रहनु भयो । राजनीतिक ध्रुवमा कहिल्यै दक्षिणपन्थी रुझानराख्नु भएन किशुनजीले । उहाँ न कसैसंग दच्किनु भयो, न डराउनु भयो । २०४७ सालको संविधानमा ‘देशमाथि नेपाली जनताको सर्वोपरिता’ कायम राख्न किशुनजीले ठूलो संघर्षगर्नु परेको थियो । राजतन्त्र समाप्त भै सकेको अहिलेको अवस्थामा नेपाली सेनासंग ‘विसंगत’ सम्वन्धमा फँसेका राजनीतिक दलका नेताहरुका लागि किशुनजीको सम्झना सान्दर्भिक हुनेछ ।

नेपाली समाजको प्रतिनिधित्वगर्ने राजनीतिक दलहरुमा विचार र चिन्तनको खडेरी लागेकोछ । रित्तो गाग्रो धेरै छचल्किन्छ भन्ने उखानलाई नेताहरुले सावित गरी सकेका छन । उनीहरु न इतिहासबाट सिक्न चाहन्छन, न वर्तमानलाई केलाउन सक्दछन । राजनीतिगर्नेहरुलाई राज्य शक्तिको दोहनगर्ने असीमित लोभले गाँजेकोछ । किशुनजी भन्ने गर्नुहुन्थ्यो, ‘चप्पल लाउनेले जुत्ता लाउन पाउनु पर्दछ । तर, एउटै गोडामा तीन जोर जुत्ता लाउनु निश्चय पनि अस्वाभाविक आचरण हो ।

किशुनजी नेपाली समयको सतत चेतना हुनुहुन्थ्यो । समयको प्रवाहका विपरित चलेर पनि समयलाई नियन्त्रणमा राख्नु भएको थियो उहाँले । अनुभव र अध्ययनले खारिएको ब्यक्तिले मात्र विवेकसम्मत कामगरेर समयलाई आफनो नियन्त्रणमा राख्न सक्दछ । राजनीतिक हिसावले किशुनजी सफल–असफल के हुनु भयो ? यसको चिन्ता गरी रहनु पर्दैन ।

एउटा सामान्य परिवारमा जन्मिनु भएका किशुनजी सही अर्थमा ‘सर्वहारा’ नेता हुनुहुन्थ्यो । कुलीन मिथ्याका विरुद्ध सामान्य नेपालीको आत्मसम्मानका लागि निरन्तर संघर्षमय जीवन विताउनु भयो उहाँले । ‘सन्त’ का रुपमा नेपाली जनताले सम्मान गरेका किशुनजी अहिले पनि म संग ठट्टा गरी रहनु भएको छ जस्तो लाग्दछ : ‘वागमतीको पानीमा सवैको वुद्धि भ्रष्टगर्ने ताकत छ बाबू !’

वैशाख ५, २०८३ कान्तिपुर दैनिकको कोसेलीमा प्रकाशित