रतुवामाई जनता माध्यमिक विद्यालयको रुपान्तरण - रुपान्तरण
 २०८३ बैशाख १०, बिहीबार    

रतुवामाई जनता माध्यमिक विद्यालयको रुपान्तरण

डा. सुनील शर्माको सत्कार्य


काठमाडौ मेडिकल कलेजका संचालक डा.सुनील शर्मा राजनीतिमा पनि जनताका बीच लोकप्रिय ब्यक्तित्वका रुपमा स्थापित ब्यक्ति हुन । नेपाली कांग्रेसका नेताका रुपमा अघिल्लो संसदमा उनी निर्वाचित भएका थिए । तर, यसपटक फागुन २१ मा भएको संसदीय चुनावमा उनले पराजय बेहोर्नु प¥यो ।

यो समाचारको सरोकार चुनावसंग छैन । यो त डा.सुनीलले आफनो निर्वाचन क्षेत्रको सीमानाभन्दा बाहिर रहेको रतुवामाई जनता माध्यमिक विद्यालयको कसरी ‘कायापलट’ गरिदिएका छन ? त्यसैको जीवन्त विवरण हो । उनको यो सुकार्यको प्रशंशागर्दै स्थानीय जनताले डा. शर्माको माता–पिताका नाममा विद्यालयको नाम ‘जनता लोकनाथ होमादेवी माध्यमिक विद्यालय’ राखिदिएकाछन ।

एक्काइसौँ शताब्दीको भौतिक दौडमा मानिसले दिनप्रतिदिन आफ्नै कर्तव्य बिर्सदै गएका छन । सन्तानले मातापिताप्रति निर्वाह गर्नुपर्ने कर्तव्य, शिष्यले गुरुप्रति देखाउनुपर्ने श्रद्धा र नागरिकले राज्यप्रति बोक्नुपर्ने जिम्मेवारी, यी सबै शब्दहरू मानिसको चेतनाबाट क्रमशः हराउँदै गएका छन् । आजको समाज स्वार्थको गतिमा दौडिरहेको छ, जहाँ परिवार कमजोर बन्दैछ, समाज टुक्रिँदैछ, र संवेदना मौन हुँदै गएको छ । मातापिताले आफ्ना आवश्यकता पूरा गर्न छोडेको दिन, उनीहरूको जीवन कि त वृद्धाश्रमको पर्खालभित्र सीमित हुनपुग्छ, कि त आफ्नै घरभित्र उपेक्षाको चिसो छायाँमा हराउन थाल्छ ।

तर, रात जतिसुकै अँध्यारो भएपनि चन्द्रमामा चाँदीको उज्यालो घेरा बाँकी रहन्छ । त्यो उज्यालोले संसारमा अझै आशा बाँकी छ भन्ने सन्देश दिन्छ । समाज पूरै अँध्यारो छैन, अझै उज्यालो चिर्ने केही किरणहरू जन्मिरहेका छन् भन्ने प्रमाण दिन्छ । आजको कथा त्यही उज्यालो किरणको कथा हो । एउटा यस्तो कथा, जसले समाजमा फैलिएको निराशामात्रै चिर्दैन, कर्तव्यबोध, समर्पण र मानवीय संवेदनाको गहिरो अर्थ पनि सम्झाइदिन्छ ।

मोरंग क्षेत्र नं. ३ का पूर्व प्रतिनिधिसभा सदस्य तथा नेपाली काँग्रेसका लोकप्रिय युवा नेता डा. सुनीलकुमार शर्माले आफूले अध्ययन गरेको श्री जनता माध्यमिक विद्यालयलाई करोडौंको सहयोग प्रदान गरेर असल विद्यार्थीका रुपमा आफ्नो कर्तव्य मात्रै पूरा गरेका छैनन् जुनीजुनीसम्म मातापिताको नाम अमर रहने काम गरेर असल पुत्रका रुपमा आफनो परिचय स्थापित गरेकाछन् । उनको अतुलनीय योगदानको सम्मानगर्न यो विद्यालयको नामाकरण ‘श्री जनता लोकनाथ होमादेवी माध्यमिक विद्यालय’ गरिएकोछ । बिद्यालयमा जोडिएका हरेक इँटामा मातृऋण र गुरुऋणबाट मुक्तिको कथा अंकितछ ।

बिक्रम सम्बत २०२२ सालमा स्थानीय समाजसेवी नरेन्दबहादुर थापाले आफ्नो स्वामित्वको एक बिगाह एक कट्ठा पाँच धुर जग्गामा श्री जनता माध्यमिक विद्यालय स्थापना गरेका थिए । यो साधारण सामुदायिक विद्यालय थियो र अनेकौं समस्याका बीच चलिरहेको थियो । दिनप्रतिदिन आवश्यकताका पहाड थामिनसक्नु बन्दै थिए । तर, दशकौंपछि अहिले परिस्थिति फेरिएकोछ । कुनै समय त्यही विद्यालयमा अनेकौं पारिवारिक दुखः कष्ट भोगेर शिक्षा हासिल गरेका एकजना विद्यार्थी देशकै होनहार डाक्टर र समाजसेवीका रुपमा गाउँ फर्केपछि बिद्यालयको अवस्था बदलियो । ती व्यक्ति हुन – डा.सुनील शर्मा ।

त्यही विद्यालयबाट शिक्षा हासिल गर्ने अवसर पाएका थिए सुनीलले । त्यही विद्यालयमा पढेर, खेलेर आफ्नो महत्वपूर्ण बालापन बिताएका थिए । आफुले पढेको विद्यालयको खराब अवस्था देखेर सुनील शर्मा स्कूलको कायापलटगर्न तम्सिए । विद्यालयका भित्ताहरु चिरिएका देखेर डा. शर्मा ती भित्ताहरूलाई सजीव बनाउन सक्रिय भए । पाठशालाको अवस्था देखेपछि उनलाई आफ्नो कर्तव्यबोध भयो । भावुक स्वभावका डा.शर्मा विद्यालयको स्तर उठेकोे हेर्न चाहन्थे । विद्यालयलाई आर्थिक सहयोगको ठूलो आवश्यकता थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुकबहादुर कार्की, प्रधानाध्यापक ईश्वर खनाल, शिक्षक र स्थानीय वुद्धिजीवीसँग व्यापक छलफल पछि विद्यालय व्यवस्थापन समितिले सुनील शर्माका मातापिताको नाममा विद्यालयको नामाकरणगर्ने प्रक्रिया रतुवामाई नगरपालिकामा पठायो । नगरपालिकाले विद्यालयको नाम व्यक्तिका नाममा नामाकरण गराउन चाहनेले दुई करोड रुपियाँ बराबरको चलअचल सम्पत्ति दान दिनुपर्ने मापदण्ड बनाएर डा. सुनील शर्माको पक्षमा निर्णय ग¥यो । विद्यालयको नाम परिवर्तन गर्नुअघि नै रतुवामाई नगरपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०८२ तेस्रो संशोधनसहितको दफा २६ को उपदफा २, ३ र ४ बमोजिमका सम्पूर्ण प्रक्रिया पूरा गरियो ।

नगरपालिकाको निर्णय दुई करोड दिए पुग्ने भए पनि विद्यालयको आवश्यकता त्यसको दोब्बर थियो । त्यसैले मनकारी सुनीललाई विद्यालयको आवश्यकताका अगाडि नगरपालिकाको दुई करोडको हदबन्दीले रोक्न सकेन । उनी चार करोडको लगानीमा विद्यालय हातामा १० कोठे अत्याधुनिक कम्प्युटर ल्याब र शौचालयसहितको भवन निर्माणका लागि सहयोगगर्न तयार भए । स्कुलको प्रांगणमा आफ्ना मातापितालाई साक्षी राखेर भब्य कार्यक्रमकाबीच ६ हजार चार सय बर्ग फिटमा निर्माण हुने भवनको शिलान्यास गरे । एकै स्थानमा उभिएर उनी गुरुऋण र मातृऋणबाट मुक्त भए । जनता माध्यमिक विद्यालयको नाम परिवर्तन भएर जनता लोकनाथ होमादेवी माध्यमिक विद्यालय भयो ।

डा. शर्माले शिलान्यास कार्यक्रममा काठमाडौं मेडिकल कलेजमा उपलब्ध सबै विषयहरूमा पीएचडीसम्म अध्ययनगर्ने जेहेन्दार छात्रहरुका लागि थप एक करोड रुपैयाँ बराबरको छात्रवृत्तिको घोषणा गरे । उक्त छात्रवृत्तिमध्ये ५० लाख रुपैयाँ विद्यालयलाई जग्गा उपलब्ध गराउने नरेन्द्रबहादुर थापाको नाममा राखिएको छ भने बाँकी २५/२५ लाख गरी ५० लाख रुपैयाँ डा. शर्माका हजुरबुबा गुणलाल न्यौपाने र जिजुबुबा गणपति न्यौपानेका नाममा राखिएको छ ।

डा. शर्मालाई आफु पढेको विद्यालय र शिक्षकहरुले गरेको न्यानो स्वागतले निकै भावुक बनाएको थियो । त्यतिबेला उनले विद्यालयका संस्थापकहरूले गरेका दुःख र संघर्षका कथा मात्रै स्मरण गरेनन्, उक्त विद्यालयले आफूलाई आजको स्थानसम्म पु¥याउन सहयोग गरेकोमा अन्तःस्करणबाट धन्यवाद दिए ।

ठूलो काम भएकोले यसलाई औपचारिक रुपबाटै अनुमोदन गरियो । कार्यक्रममा उपस्थित रतुवामाई नगरपालिकाका नगरप्रमुख नागेश्वर सिंहले डा. शर्मालाई महान् दाता बताउँदै उनको योगदानको खुलेर प्रशंसा गरे । उनले धन हुने व्यक्ति धेरै भए पनि यति मनकारी, निस्वार्थ अनि समाजप्रति समर्पित दानवीर विरलै देखिने यथार्थ प्रष्ट पारे । यति मात्रै होइन, उनले डा. शर्माको यो सहयोगले ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको भविष्य उज्यालो बनाउने विश्वास व्यक्त गरे ।
कोशी प्रदेश सभा सदस्य गणेश उप्रेतीले डा. सुनील शर्माको यो सहयोगले विद्यालयका विद्यार्थीहरूमा पढाइप्रति थप आत्मविश्वास उत्पन्न भएको बताए । आवश्यक पूर्वाधार, छात्रवृत्ति र प्रोत्साहन उपलब्ध भएपछि अब यो विद्यालयका विद्यार्थीहरूले निजी बोर्डिङ स्कुलका नतिजालाई समेत चुनौती दिन सक्ने विश्वास उनको थियो । यस्तै नेकपा एमालेका नेता तथा पूर्वप्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले डा. सुनील शर्माले शैक्षिक क्षेत्रमा गरेको सहयोगको प्रशसां मात्रै गरेनन्, यस्तो कार्य सबैका लागि उत्तिकै प्रेरणादायीहुने विश्वास पनि व्यक्त गरे ।

विद्यालयलाई गरिएको यो सहयोग केवल आर्थिक सहयोग मात्रै नभएर भावी पुस्ताका लागि देखाइएको सत्मार्गको बाटोका रुपमा लिइएको छ । अब यो स्कुलबाट उत्पादनहुने हरेक असल विद्यार्थीले केवल आफ्ना लागि मात्रै काम गर्ने छैनन्, सम्पूर्ण समाज, देश र मानवीय कर्ममा आफूलाई समाहित गराउने छन् । आफ्ना मातापिता र गुरुको सम्मानका लागि गरिने यस्तो कार्यका लागि प्रेरणाका स्रोत बनेर समाजमा असल नागरिकको परिचय स्थापित गर्नेछन् ।

सौजन्य : काठमाडौ मेडिकल कलेज, सिनामंगल ।