जसपामा तानातान : सांसदहरुलाई महन्थको उर्दी - रुपान्तरण
 २०८१ जेठ ६, आईतबार    

जसपामा तानातान : सांसदहरुलाई महन्थको उर्दी


काठमाडौं । जनता समाजवादी पार्टीले जिल्ला जिल्लामा रहेका आफ्ना सांसदलाई काठमाडौं आउन निर्देशन दिएको छ । २७ गतेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदको विशेष अधिवशेन आह्वान गरेको अवस्थामा आफ्ना सांसदहरूलाई काठमाडौंमै बस्न निर्देशन दिएको हो ।

दिनदिनै कोरोना संक्रमण बढ्दै गएको अवस्थामा २७ गते सदनमा उपस्थित हुन समस्या हुने भएकाले बाहिर जिल्लामा रहेकालाई पनि काठमाडौं आएर सुरक्षित बस्न भनिएको जसपाले जनाएको छ ।

त्यस्तै काठमाडौंमा रहेकाहरूलाई पनि बाहिर नजान भनिएको अध्यक्ष महन्थ ठाकुरको सचिवालयले जनाएको छ । जसपामा सरकारलाई समथर्न गर्ने कि गर्ने भन्ने विषयमा दुई धार देखिएको छ ।

प्रतिनिधि सभामा जसपाका ३४ जना सांसद छन । ती मध्ये दुई जना सांसद निलम्बनमा परेका छन । बाँकी ३२ सांसदमा १६पूर्व समाजवादीका हुन भने १६ पूर्व राजपाका हुन ।

पूर्व राजपाका सांसद महेन्द्र यादवले कित्ता परिवर्तन गरी बाबुराम भट्टराई–उपेन्द्र यादव कित्तामा पुगिसकेका छन । भट्टराई–यादव पक्षले पूर्व राजपाका अर्का एक सांसदलाई पनि आफूतिर तानेको दावी गरेको छ । अहिले दुबै पक्षले अर्का पक्षका सांसदहरुलाई आफूतिर तान्ने प्रयासमा लागेको छ ।

भट्टराई–यादव कुनैपनि अवस्थामा ओली सरकारलाई ढाल्नु पर्ने लाइनमा छ भने ठाकुर–राजेन्द्र महतो पक्ष ओली सरकारको बचाउमा लागेको छ । दुई लाइनको विवादमा पार्टी फुटको संघारमा पुगेको छ ।