- रुपान्तरण
नयाँवर्ष २०८३ को सुरुवातसँगै राज्यले सीमावर्ती भारतीय बजारबाट १०० रुपियाँ भन्दा बढी मूल्यका सामान आयातमा भन्सार असूल गर्ने नियम लागु गरेदेखि नेपाल–भारत सीमावर्ती बजार र संघीय राजधानीसम्म खाद्यान्नमा मूल्यबृद्धिको लहर ब्यापक भएको छ ।
यो १०० रुपियाँको मात्र सामान ल्याउने हदबन्दी नेपालमा पहिलो पटक लागुभएको होइन । यसअघि, पंचायती व्यवस्थाकालमा पनि हदबन्दी लगाउने गरिएको थियो । त्यस समयमा पनि १०० रुपियाँ कै हदबन्दी थियो । तर, त्यस समयमा १०० रुपियाँमा ६ जनाको मध्यमवर्गीय परिवारलाई एक साता पुग्ने रासन आउथ्यो ।
अहिले बजारमा फलफूल, तरकारी, लत्ताकपडा र बाहिरबाट आयात गरिने सबै वस्तुमा मूल्यबृद्धि भएको छ । तर, चर्चाको शिखरमा छ : केरा ! पूजा, प्रसाददेखि बेबी फूड र डायट फ्रुटका रुपमा उपभोगहुने केराको मूल्य दोब्बर भएको खबर ‘भाइरल’ भइरहेको छ । सूचना र समाचारहरु अब फेरी संकेतमा बुझ्नु पर्ने समय आएको हो ? तर, यो केराको संकेतमा न दर्शन छ, न साहित्य छ, न कला छ, न समाचार नै छ ।
नेपाली समाजमा यो केराको खबर इटालीका भिजुअल आर्टिस्ट मरिजो क्याटलानले बनाएको “डक टेप्ड बनाना”, टेपले टाँसेको केरा, जस्तै भएको छ । सन २०२४ को नोभेम्बर महिनामा अमेरिकाको न्यूयोर्क शहरमा त्यो टेपले टाँसेको केरा ६२ लाख अमेरिकी डलरमा लिलाम भएको थियो । एउटा कलाकृतिको हैसियतमा । यो घटनाले कलाको विश्वबजारलाई नै एक पटक फेरी कला दर्शनका जटील प्रश्नहरुले झकझक्याएको थियो ।
आखिर कला के हो त ?
कलाको मूल्य के हो ?
कलाको मूल्य कसले र के ले निर्धारण गर्दछ ?
मानिसले कलाकृतिमा किन लगानी गर्छन ?
ती प्रश्नहरुले कलाको विश्व बजारमा ‘बुद्धिबिलास’ बाहेक अरुकुनै प्रभाव पारेनन । ६२ लाख डलर तिरेर त्यो टेपले टाँसेको केराका खरीदकर्ता थिए चीनका क्रिप्टो ब्लकचेन ब्यापारी जस्टिन सन । उनले त्यो ६२ लाख डलरको केरा आफूले खरीद गर्नासाथ सार्वजनिकरुपमा छोडाएर खाइदिए । त्यो केरामा विश्व–व्यापार देखिन्छ, विश्व–राजनीति देखिन्छ । यसमा विश्व भू–राजनीति पनि देखिन्छ । तर, एउटा सद्दे मानिसले दिनको कुनै पनि प्रहरमा त्यो केरामा कुनै प्रकारको कला देख्न सक्दैन ।