–रुचि श्रेष्ठ
नेपाली कांग्रेस पार्टीभित्रै सल्टाउनुपर्ने ‘बिशेष’ महाधिवेशनको आन्तरिक किचलो सर्वोच्च अदालत सम्म पुग्यो । सर्वोच्च न्यायालयको निर्णयसँगै त्यो किचलो कागजी रुपमा त टुंगो लागेकोछ । तर, अदालतको निर्णय राजनीतिक पार्टी भित्रको आन्तरिक किचलोको समाधानका लागि कसरी प्रभावकारी हुन सक्दछ ? त्यो हेर्न बाँकी नै छ ।
कांग्रेसका प्रभावशाली नेताहरु ‘निकासको खोजी’मा लागिपरेका छन । पार्टीका सबै नेताहरुले सार्वजनिक रुपमा सधै भन्दै आएको अभिव्यक्ति हो : हामी पार्टी बिभाजन हुन दिन्नौ । यसले संगठन कमजोर बनाउछ । कांग्रेस कमजोरहुनु भनेको नेपालमा लोकतन्त्र खतरामा पर्नु हो ।
अहिलेको समयमा त्यो भन्दा ठूलो खतराको कुरो के छ भने नेपाली कांग्रेस पार्टीभित्रै पार्टीका कार्यकर्ताहरुलाई यस्ता अभिव्यक्तिले छुन छाड्दैछ ।
नेपाली कांग्रेसको बहुमतको सरकार थियो । किशुनजी प्रधानमन्त्री हुनुहुन्थ्यो । पार्टी एकता कायम राख्नैका लागि किशुनजीले २०५६ सालमा आफनो कार्यकालको नौ महिना पछि प्रधानमन्त्री पदबाट राजिनामा दिनुभएको थियो । अवश्य, यो निर्णयले नेपाली कांग्रेसप्रति किशुनजीको निष्ठा दर्शाउछ । किशुनजीले पार्टीलाई टुक्रनबाट त जोगाउनुभएको थियो तर, परिस्थितिले किशुनजीलाई शेक्सपियरको ‘ट्रयाजिक हिरो’ बनाइदियो । यो ट्रयाजेडीमा परेका थिए कांग्रेस भित्र र बाहिरका लाखौं नेपालीहरु जो किशुनजीलाई लोकतन्त्र र सामाजवादको प्रतीकका रुपमा मान्ने गर्दथे ।
त्यो घटनाको तीन वर्ष नपुग्दै नेपाली कांग्रस फेरी पार्टी विभाजनको संघारमा पुग्यो र टुक्रिएरै छोड्यो : गिरिजा कोइराला कांग्रेस र शेरबहादुर देउवा कांग्रेस । नेपालको राजनीतिमा लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास राख्नेहरुका लागि त्यो फेरी अर्को ट्रयाजिक घटना थियो । तर, कांग्रेसका धेरै नेता र कार्यकर्ताहरुका लागि त्यो ट्रयाजेडीको कम र अंशबण्डाको स्थिति बढी थियो । संयोग, त्यसबेला यो भन्दा जटिल र भयानक परिस्थिति अर्कै थियो ।
माओवादी जनयुद्ध उत्कर्षमा थियो । माओवादीलाई वार्तामा ल्याउनु र देशमा शान्ति स्थापनागर्नु नेपालीको प्रमुख र एकमात्र राष्ट्रिय मुद्दा थियो । यसमा अन्तर्राष्ट्रिय चासो पनि उत्तिकै थियो । ९० को त्यो दशकमा सोभियत रुसको बिघटन भइसकेको, चीन औद्योगीकरण र आधुनिकिकरणमा व्यस्त रहेको र युरोपका बौद्धिक वर्ग “चीज–वाइन” भेलाहरुमा कार्ल माक्र्सको सिद्धान्तको नयाँ आयामहरु केलाउन थालेको समय थियो । यस्तो समयमा, नेपालमा माओवादी व्दन्व्दले हिंस्रक युद्धको रुप लिएको थियो र यसले अन्तर्राष्ट्रिय चासो बढाउनु स्वाभाविक थियो । नेपालीलाई नै बुझ्न धौ–धौ परेको नेपाली समाजको मौलिक धरातल विदेशीले बुझ्न नसक्नुमा कुनै आश्चर्य थिएन । नेपालका, विशेषगरी, बिकट पहाडी समुदायबाट राज्यव्यवस्थाका विरुद्ध माओवादी जनयुद्ध शुरुहुनु नेपालको लागि पनि आश्चर्य थिएन । यहाँ एउटा बिर्सनै नहुने कुरो के हो भने विश्वमा बिभिन्न राजनीतिक परिवर्तनहरु भइरहँदा नेपालीलाई निरंकुश राणाशासनले १०४ वर्षसम्म ढोका थुनेर राखेको थियो । तीन दशक लामो पंचायती व्यवस्थाले त्यसको बाँकी कसर पूरागरिदिएको थियो । ती अन्धकारमय दिनहरुमा नेपालीले स्वतन्त्रता र अधिकार त गुमाएकै हो । तर, नेपाल राज्यले सभ्यताको धार नै गुमायो ।
नेपाली कांग्रेसले आफ्नो स्थापनाकाल देखि नै त्यही सभ्यताको धार पहिल्याउने, स्थापित गर्ने र पुनस्र्थापितगर्ने उद्देश्यका साथ आफनो अस्तित्व स्थापित र प्रमाणित गर्दै आएकोछ । नेपाली समाजमा प्रजातान्त्रिक समाजवादको अवधारणाको प्रारम्भगर्ने वीपी कोइरालाले यो समाजको समग्र प्रगतिको लागि लोकतान्त्रिक समाजवाद आवश्यक र अपरिहार्य धार हो भन्ने बिचार स्थापित गर्नुभयो । वीपीको राजनीति, साहित्यिक र व्यक्तिगत जीवन यही धारको खोजमा केन्द्रीत रहेको हामी पत्र–पत्रमा पाउँछौ । किशुनजीको राजनीतिक निष्ठा र सादगीपूर्ण जीवन त हामी सबैको सामु खुला किताब कै रुपमा रहेकोछ । २०४६ सालको राष्ट्रिय जनआन्दोलनको संयोजन र नेतृत्व गर्नुभएका गणेशमानजीको लोकतन्त्र प्रतिको निष्ठा र दृढताबाट प्रेरित नेपालीले उहाँलाई नेपाली राजनीतिका लौहपुरुषको रुपमा सम्मान गर्दैआएका छन । महेन्द्र नारायण निधिको गान्धिवादी चिन्तन, त्यसप्रतिको सहनशीलता र संघर्ष बिना नेपाली कांग्रेसले पार्टी र प्रजातान्त्रिक आन्दोलनलाई अहिंसाको मार्गमा स्थापित गर्नु सम्भव थिएन ।
२०४७ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि त्यस समयको विश्वराजनीति र विश्वअर्थव्यवस्थामा पुंजीवाद र साम्यवादको रस्साकस्सीमा समाजवाद पिसिए जस्तै नेपाली कांग्रेसको प्रजातान्त्रिक धारबाट समाजवाद पन्छ्याइन थालियो । १०४ वर्ष लामो निरंकुश राणाशासन र ३० वर्ष लामो निर्दलीय राजतन्त्रले आधारभूत आवश्यकता र अधिकारबाट बंचित राखेको नेपालीलाई कांग्रेसले रातारात सभ्य र समृद्ध राष्ट्रहरुको लहरमा उभ्याउने सपना देखाउन थाल्यो । कांग्रेस सरकारमा रहंदा, नरहंदा, भूमिगत वा निर्वासनमा रहंदा कांग्रेस पार्टी भित्र भएका सही र गलत निर्णयहरुको प्रभाव नेपालीले सधै भोग्नु परेकोछ ।
२०५९ सालमा अंशबण्डा भएको नेपाली कांग्रेस ४ वर्ष नबित्दै फेरी एउटै मंचमा आइपुग्यो । कांग्रेसको त्यो बेलाको अंशबण्डा कुनै आदर्श र विचार प्रेरित थिएन तर, पार्टी एकता भने लोकतन्त्रका लागि भएको थियो ः लोकतन्त्रको पुनस्र्थापना र संघीय गणतन्त्रको स्थापनाको लागि । यो आवश्यकताको एकता थियो । नेपाली कांग्रेसको सौभाग्य, कि यो आवश्यकता नेपाली कांग्रेसको मात्र थिएन, यो राष्ट्रिय आवश्यकताको सवाल थियो । माओवादीलाई शान्तिवार्तामा ल्याउनु आवश्यक थियो । राज्यलाई व्दन्व्द र हिंसाबाट मुक्तगर्नु अपरिहार्य थियो । माओवादी समेत सारा राजनीतिक दल एकजुट हुनुपर्ने थियो । र, त्यसको नेतृत्व नेपाली कांग्रेसका सभापतिको हैसियतले गिरिजा कोइरालाले गर्नुपर्ने थियो । २००७ साल, २०१७ साल देखि २०४६ सालसम्म संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रका लागि संघर्ष गरेको नेपाली कांग्रेसले गिरिजा कोइरालाको नेतृत्वमा संघीय गणतन्त्रको धार अपनायो । नेपाली राज्य–व्यवस्थामा राजतन्त्र असान्दर्भिक भइसकेको कुरा नेपाली कांग्रेसले बुझेको थियो ।
गिरिजा प्रसाद कोइरालाको नेतृत्व र नेपाली कांग्रेसको अग्रसरतामा राप्रपा बाहेक सम्पूर्ण राजनीतिक दलहरु राजतन्त्रको बिरुद्धमा एकजुट भए । यी दलहरुले माओवादीलाई हतियार बिसाउन लगाए । २०६२ सालमा दोस्रो जनआन्दोलन गरेर राजा ज्ञानेन्द्रलाई गद्दीबाट हटाए, माओवादीसँग शान्ति सम्झौता गरेर उनीहरुलाई संविधान सभामा भित्रयाए । राजतन्त्र फालेर नेपालमा संघीय गणतन्त्र स्थापना गरे । यी सबै घटनाहरु नेपालीका लागि अकल्पनीय थियो तर, अप्रत्याशित थिएनन । हिंसा, आतंक र त्यसमाथि राजा ज्ञानेन्द्रको निरंकुशतन्त्र झेल्दै आएका नेपालीले हिंसा रहित स्वतन्त्र नेपाली समाज नै बिर्सिन लागेको अवस्थामा नेपाली कांग्रेसले लोकतन्त्रका लागि आवाज उठाउदा नेताहरुले आफना कार्यकर्ताको मात्र होइन, अन्य दलहरुको पनि साथ र समर्थन पाए ।
यस्ता बिभिन्न अवसरहरु छन जब नेपालका कम्युनिष्ट नेताहरुले कांग्रेसलाई लोकतन्त्रको मेरुदण्डका रुपमा स्वीकार गरेकाछन । तर, जनताले कांग्रेसबाट परिवर्तनका जे जस्ता आशा राखेका थिए त्यो आशा पुरा नभएकोले कांग्रेसका नेताहरुको अभिव्यक्तिको प्रभाव क्षीण हुने आशंका बढेकोछ । नेपाली कांग्रेस र अन्य दलहरुमा पनि बैचारिक स्पष्टता धमिलिन थालेकोछ । नेपाली कांग्रेसका नेताहरुले नेपाली समाजको सभ्यताको धार प्रष्टपार्नु जरुरी छ । अहिलेको समयमा नेपाली जनता बहुलाएर सिद्धान्त र आदर्शप्रति निरपेक्ष देखिएका होइनन ।