देउवा कहिले फर्कदैछन ? - रुपान्तरण
 २०८३ बैशाख २१, सोमबार    

देउवा कहिले फर्कदैछन ?


– रुपान्तरण

भदौ २३ र २४ को घातक जेनजी आन्दोलनले देशको सर्वनाश मात्र गरेन, आन्दोलनकारीका नाममा अराजक समूहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि सांघातिक हमला गरे । उनको निवास ध्वस्त बनाए । उनलाई ‘दानव’का रुपमा चित्रणगर्न कुनै कसर वाँकी राखेनन । उनको सुरक्षाका लागि ‘सुरक्षाकर्मी’ सक्रिय देखिएनन । तै, सेनाले उनलाई जोगायो र उपचारका लागि सैनिक अस्पताल पु¥यायो । उनको ‘अपराध’ यतिमात्र थियो ः उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद ओलीसंग सत्ता साझेदारीको सम्झौता गरेका थिए । ओली सरकारको शासन शैली ठीक थिएन । सरकारका निर्णयहरु जनसापेक्ष थिएनन । सरकार अनुशासनका नाममा नियन्त्रणमुखी बन्दै गएको थियो । सरकारले सामाजिक सन्जालमाथि नियन्त्रण लगाउने ऐन बनाउने कदम चालेपछि स्थिति बिष्फोटक बन्दै गयो...

बाँकी सबै कुरा सबैका लागि छर्लंग भै सकेको छ । यो टिप्पणीको विषय र सन्दर्भ जेनजी आन्दोलनसंग जोडिएको छैन । यो शेरबहादुर देउवाको सन्दर्भमा लेखिएको टिप्पणी हो ।

जेनजीका नाममा चलाइएको घातक आन्दोलनको सवैभन्दा बढी असरपर्ने नेता कांग्रेसका सभापति शेरबहादुर देउवा थिए । उनले प्रधानमन्त्री केपी ओलीको सरकारले गरेका निर्णयहरुको प्रतिवाद कहिल्यै पनि गरेनन । सत्ता–साझेदारीको कागजमा हस्ताक्षर गरिसकेपछि सत्ता–संचालनमा हस्तक्षेपगर्ने प्रवृत्ति उनमा छैन । देउवाले दुइपार्टी बीचको राजनीतिक साझेदारीको अर्थ राम्ररी बुझेका थिए ।

जेनजी आन्दोलनका नाममा असामाजिक तत्वहरुबाट घाइते भएका देउवा अहिले काठमाडौंमा छैनन । पारिवारिक स्रोतका अनुसार, थप उपचारका लागि सिंगापुर गएका देउवा हाल हङकङमा आराम गर्दैछन । ‘बिशेष अधिवेशन’बाट स्थापित भनिएको कांग्रेसको ‘नयाँ’ नेतृत्वले आफना पूर्व सभापतिका बारेमा कुनै प्रकारको चासो राखेको सुनिएको छैन । शक्ति र सत्तामा रहे पनि र नरहे पनि, पार्टीले देउवा जत्तिका महत्वपूर्ण नेताका बारेमा औपचारिक वा अनौपचारिक हिसावले जानकारी दिनुपर्ने हो । तर, पार्टीका स्थापित नेताहरु र कथित बिशेष अधिवेशनबाट चुनिएका पदाधिकारीहरु मौन रहेका छन । देउवाको स्वास्थ्य स्थितिका बारेमा उनकै पार्टीका नेताहरु मौन रहनु अनौठो बिषय हो ।

उनी कहिले नेपाल फर्किनेछन ?

देउवाका बारेमा उनको पार्टीले जानकारी दिनुपर्दैन ?

बजारमा हल्ला चलेकोछ – शेरबहादुर देउवामाथि ‘सम्पत्ति शुद्धिकरण’ सम्बन्धी मुद्दा चलाउने तयारी गरिदैछ । यो कुरा त्यति सहज लाग्दैन । तर, नेपाल हो । नेपालमा जे पनि हुन्छ । प्रधानमन्त्रीको पदमा बस्दापनि आफूलाई ‘रहस्यमय’ बनाउने ‘जन–नेता’ संसदको अधिवेशन बन्दगरेर अध्यादेश मार्फत शासनगर्न चाहन्छन । यो अवस्थामा भगवान पशुपतिनाथले मात्र यो देशको रक्षागर्न सक्दछन ।

शेरबहादुर देउवाको जीवन राजनीतिमा चासो राख्नेहरुका लागि प्रेरक पनि छ र रोचक पनि । उनको राजनीतिक जीवनको पूर्वाद्र्ध कष्टकर थियो भने उत्तराद्र्ध सुविधाजनक । निर्दलीय पन्चायतका समयमा उनले झण्डै दशबर्ष जेलमा बिताएका थिए । उनलाई शारीरिक र मानसीक पीडा दिएको थियो तत्कालीन निर्दलीय पन्चायत ब्यबस्थाको सरकारले । प्रजातन्त्र–लोकतन्त्रका लागि उनले भोगेका कष्टहरुको सूचि लामो छ ।

नेपाली जनताका सर्वोच्च नेता गणेशमान सिंहको आव्हानमा भएको २०४६ सालको जन–आन्दोलनको समयमा देउवा बेलायतमा अध्ययन गर्दै थिए । त्यहीबाट उनले नेपालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भइरहेको जन–आन्दोलनको पक्षमा समर्थन जुटाउने काम गरेका थिए । आन्दोलनपछि नेपाल फर्किएका देउवा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला मन्त्री परिषदमा गृहमन्त्री नियुक्त भएका थिए ।

देउवा ४९ बर्षको उमेरमा प्रधानमन्त्री भएका थिए । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको ‘अल्पमत’ सरकार बिरुद्धको रीट निवेदन सर्वोच्च अदालतबाट स्वीकृत भएपछि देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुको समर्थन जुटाएर १९९५ सेप्टेम्बर १२ मा संयुक्त सरकारको नेतृत्व गरेका थिए ।

प्रधानमन्त्री देउवाको त्यो कार्यकालमा भारतसंग महाकाली सम्झौता भएको थियो भने उनकै कार्यकालमा माओवादी जनयुद्धको प्रारम्भ पनि भएको थियो ।

शेरबहादुर देउवामाथि अहिलेसम्म कसैले भ्रष्टाचारको आरोप र अभियोग लगाएको छैन । हो, उनको विवाह श्री ३ महाराज जुद्ध शमशेरकी नातिनी तथा देश–विदेशका संस्थाहरुमा कार्यरत रहनु भएकी आरजु राणासंग भएको हो । ससुराली पक्ष ऐश्वर्यशाली हुनु पक्कै पनि देउवाको अपराध होइन ।

अहिले देशमा झण्डै दुई तिहाईको शक्तिशाली सरकार छ । यस्तो शक्तिशाली सरकारले पारदर्शी ढंगले देउवा र उनीसंग सम्बन्धित ब्यक्तिहरुको सम्पत्ति छानवीन गरे त भै हाल्यो । त्यस्तै, नेपाली कांग्रेसका ‘आधिकारिक’ र ‘अनाधिकारिक’ व्यक्तिहरु किन केही बोली रहेका छैनन ? के यतातिर कांग्रेसीहरुको ध्यान जाला ?