काठमाडौं– नेपाली कांग्रेसका युवानेता डा.सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड युनिट–२ दुवाकोट, भक्तपुरले सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित भएका बिरामीहरूलाई निःशुल्क उपचार सेवा उपलब्ध गराइरहेकोछ । केएमसी कलेजले प्रकाशित गरेको विज्ञप्ति अनुसार नेपाल सरकारद्वारा काठमाडौं उपत्यकाका नदी किनार तथा देशका विभिन्न जोखिमयुक्त स्थानमा रहेका सुकुम्बासी बस्ती खाली गराउने कार्य भइरहेका बेला त्यहाँ बसोबास गर्ने नागरिकहरूको स्वास्थ्य समस्याप्रति चासो देखाउँदै स्वास्थ्य सेवा उपलब्ध गराउन थालेकोछ । वर्षायाम सुरु भएसँगै यो समस्या थप जटिल बन्दै गएको छ ।
मानवीय संवेदनाको सम्मानगर्दै केएमसी अस्पतालले दुवाकोटमा बिरामीहरूलाई निःशुल्क उपचार प्रदान गर्ने व्यवस्था गरिएको जानकारी अस्पतालका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले दिनु भएकोछ । यस्तो सेवा काठमाडौ उपत्यकाका सेवाग्राहीमा मात्र सीमित छैन । उपत्यका बाहिरका विभिन्न स्थानका बिरामीहरूले पनि अस्पतालबाट सेवालिन सक्नेछन् ।
केएमसीले बिरामीलाई सहज रूपमा अस्पतालसम्म पु¥याउने काममा सहयोगगर्न सचेत नागरिक, संघ–संस्था तथा सरोकारवालाहरुसँग आग्रह गरेको छ । केएमसी ब्यबस्थापनका अनुसार औषधि तथा औषधिजन्य सामग्रीबाहेक अस्पतालमा उपलब्ध अन्य सम्पूर्ण उपचार सेवा निःशुल्क हुनेछ ।
प्रतिनिधि सभा सदस्यका रुपमा डा.सुनील शर्मा प्रतिनिधि सभाबाट तलब–भत्ता जस्ता सुविधा नलिने एक मात्र सांसद हुन् । उनी आफनो सामाजिक दायित्व र मानवीय जिम्मेवारी पूरागर्न निरन्तर सक्रिय छन् । गम्भीर बिरामीलाई निःशुल्क उपचारको व्यवस्था, देशभर स्वास्थ्य शिविरको संयोजन, घाइतेहरूको उपचारमा सहयोग, एम्बुलेन्स हस्तान्तरण लगायतका कार्य उनका पहिचान बनेका छन् ।
डा.सुनील शर्माले मानवीय दायित्व पूरागर्न दुर्गम क्षेत्रका विपन्न बिरामीको निःशुल्क उपचारगर्दै आएका छन ।
यसैक्रममा, काठमाडौं मेडिकल कलेज प्रा.लि. दुवाकोट, भक्तपुरले पूर्ण वा आंशिक छुटमा उपचार सेवा प्रदानगर्ने घोषणा गरेको छ । डा.सुनील शर्माले जारी गरेको सूचनाअनुसार मोरङ सहित देशका विभिन्न दुर्गम जिल्लाका आर्थिक रूपमा कमजोर बिरामीलाई प्राथमिकतामा राखी सुविधा उपलब्ध गराइदैछ । कर्णाली प्रदेशका हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालीकोट, रोल्पा, रुकुम, सल्यान तथा कोशी प्रदेशका सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ लगायतका जिल्लाका विपन्न बिरामीहरूलाई काठमाडौं मेडिकल कलेजद्वारा सञ्चालित सुपरस्पेसियालिटी अस्पताल, दुवाकोटमा विरामीको आर्थिक अवस्था अनुसार उपचारमा पूर्ण वा आंशिक छुट प्रदान गरिदैछ ।
यसैगरी दोलखा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लाका विपन्न बिरामीहरूले पनि यो सुविधा लिन सक्नेछन । यसका लागि सम्बन्धित व्यक्तिहरूले आफ्नो पालिका वा वडा कार्यालयको सिफारिस सहित अस्पतालमा सम्पर्क गर्नुपर्नेछ ।
उपचार सेवासम्बन्धी थप जानकारीका लागि मोवाइल नम्बर ९८०२३३५११२ वा ९८०२३३५१०८ मा सम्पर्कगर्न सकिन्छ ।