- अभिजीत अधिकारी
नेपालको राजनीतिमा लामो इतिहास बोकेको पार्टी हो नेपाली कांग्रेस । कुनै समय बीपी, गणेशमान र किसुनजीको आदर्शलाई सिरानी हाल्ने कांग्रेस, हिजोआज सत्ता राजनीतिको लालसामा स्वार्थ समूहले मिलाइदिएको अप्राकृतिक गठबन्धनबाट चल्न थालेको कुरालाई नकार्न सकिँदैन । त्यसकै परिणामस्वरुप ‘जेनजी’ बिद्रोहले अन्य दल सँगै नेपाली कांग्रेसलाई पनि एउटै डालोमा हालेर बहिष्कार गर्न खोजेको कुरा यथार्थ हो । त्यसैको फलस्वरूप नेपाली कांग्रेस पार्टी भित्र तीव्र ध्रुवीकरण शुरु भयो । झण्डै पार्टी फुटको अवस्थासम्म पुग्यो ।
नेपाली कांग्रेसको एउटा धारले “हामी बदलियौँ, अब हामीलाई देश बदल्नु छ” भनेर चुनावमा आफूलाई प्रस्तुत गर्दापनि यसपटक नागरिकले कांग्रेसलाई पत्याएनन । बदलिएको कांग्रेसको नेतृत्वप्रति भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ नेतृत्वप्रति नागरिकहरूको झुकाव बढी नै देखियो । विगत पैंतीस वर्षदेखि सत्ता राजनीति गर्दै आएको कांग्रेस विरुद्धको ‘एन्टी–इन्कम्बेन्सी’ (सत्ताविरोधी लहर) एकैचोटि भोग्न पार्टी बाध्य भयो ।
अब नेपाली कांग्रेसको भविष्य के हुन्छ भनेर हेर्दा कांग्रेसले आफूलाई मात्रै हेरेर पुग्दैन । राजनीतिक दललाई निरपेक्षतामा होइन, सापेक्षतामा हेर्नुपर्दछ । पहिले जस्तो “लोकतन्त्रको लागि नेपाली कांग्रेस” भन्ने एकै वाक्यमा नागरिकहरूले कांग्रेसलाई जसरी मत दिन्थे, त्यो अवस्था अव रहेन । अहिले लोकतन्त्रका नाममा थुप्रै ‘पसलहरू’ खुलिसकेका छन् । यतिबेला नेपाली कांग्रेसले सप्तरीको वरमझियाका पेडा ब्यापारीहरुले जस्तै आफूलाई “असली बाजेको पेडा” भनेर सावित गर्न कठोर परिश्रम गर्नुपर्नेछ । देशलाई परिवर्तनको बाटोमा डोहो¥याउने लोकतान्त्रिक पार्टीका रूपमा कांग्रेसले आफुलाई नयाँ पुस्ताका बीच स्थापित गराउनु निकै चुनौतीपूर्ण छ ।
नेपाली कांग्रेसका लागि आजको दिनमा सबैभन्दा ठूलो चुनौती भनेको आफू रास्वपा लगायतका नयाँ पुराना पार्टीभन्दा पृथक छौँ भनेर नेपालका नागरिकहरूलाई बुझाउनु रहेको छ । अहिले जसरी रास्वपामा बालेन र रवि बलियो नेताका रूपमा स्थापित देखिएकाछन्, त्यसै गरी कांग्रेसमा पनि बिस्तारै व्यक्ति केन्द्रित नेतृत्व हाबी हुँदै गएको देखिएकोछ । यसै त, नेपाली कांग्रेस पार्टीमा सभापति विधानतः बलियो हुन्छ, त्यसमाथि पनि ‘स्ट्रोङ म्यान’ लिडरशीपको लहरबाट उदाएको नेता नेतृत्वमा पुग्दा पार्टीभित्रको ‘लेभल प्लेइङ फिल्ड’ असमानहुने जोखिम रहन्छ । यसले गर्दा पार्टीभित्र नेतृत्वभन्दा फरक धारमा उभिने, वैचारिकरुपमा पार्टी संस्थापनलाई चुनौती दिनेहरू किनाराकृत हुँदै जाने भय रहन्छ । अन्ततः अहिलेको जस्तै पार्टी भनेकै नेता हो, नेता भनेकै पार्टी हो भन्ने परिस्थिति ब्यापक हुदैजान्छ । यसले कांग्रेसको आन्तरिक लोकतन्त्रलाई ‘कल्ट अफ लिडरशीप’मा लगेर विसर्जनगर्ने खतरा हुन्छ ।
नेपाली कांग्रेसको दोस्रो चुनौती भनेको असहमति राख्ने नेता र कार्यकर्ताहरूलाई “पार्टी भँडुवा” वा “ल्याङ्ल्याङे” भन्दै पन्छाउने संस्कृति हो । जब स्वतन्त्र रूपमा आफनो आत्माको आवाज बोल्नेहरूको नम्बर बोलेकै आधारमा काटिन्छ, यसले गर्दा बिस्तारै नेतृत्वसँग प्रश्न गर्नेहरू हराउँदै जान्छन् । नेतृत्वको स्तुतिगान गाउने र छाप्नेहरू पार्टीभित्र स्थापित हुँदै जान्छन् । कांग्रेसमा आलोचनाको अभ्यास मरेको छैन र कांग्रेस रास्वपा वा अन्य पार्टीभन्दा फरक छ भनेर कसरी बुझाउने ?
अहिले राष्ट्रिय स्वतन्त्र पार्टी चतुरतापूर्वक पपुलिष्ट(लोकप्रियतावादी) नारादिएर शासन सत्तामा उदाएको छ । संसारभरि नै पपुलिस्टहरूको उदय यसरी नै भएकोछ । उनीहरू पुराना र सम्भ्रान्त सबै एलिटहरूलाई एउटै डालोमा हालेर, “ती फटाह हुन्, ती गन्हाइसके, हामी सफा छौँ, हामी सबै ठीक गर्छौँ” भनेर आउँछन् । पपुलिस्टहरूले नै ‘क्लासिक ह्यान्डबुक अफ पोलिटिक्स’ प्रयोगगर्दै, आफ्नो पक्षमा उभिएका सबै “प्रष्ट” र आफूभन्दा फरक धारमा उभिएका सबै “भ्रष्ट” भन्दै आएको नेतृत्वले अर्को पार्टीसँग वैचारिक लडाइँ लड्ने नैतिक आधार राख्छ ? कांग्रेसले रास्वपाको जुन चरित्रविरुद्ध आफूलाई विकल्पका रूपमा उभ्याउनुपर्ने हो, आफैँले त्यसैको अभ्यास गरेर रास्वपालाई प्रश्नगर्नु भन्दा ठूलो विरोधाभास अरु के हुनसक्छ ?
अहिले रास्वपाको उदयसँगै नेपाली राजनीतिमा देखिएको राजनीतिक परिघटना भनेको ‘एलिट ड्रिभन न्यारेटिभ्स’ हो । साधन–स्रोतमा पहुँच हुनेहरूले समाजका हरेक विषयमा भाष्य निर्माण गरिरहेका छन् । जो शहरमा बस्छ, जो अंग्रेजी बोल्न जान्दछ, जो नेताको नजीक हुन्छ, उनीहरूले नै एजेन्डा तय गरिरहेका छन् र एजेन्डाको नाममा राजनीतिलाई आफू अनुकूल तल्लो तहसम्म ‘शेप’ गरिरहेका छन् ।
यदि सम्भ्रान्तहरूले तय गरेको भाष्यको पारायण गर्ने, पार्टीको मूल अवधारणा लोकतान्त्रिक समाजवादी समाज निर्माणका कुरै नगर्ने, पहुँचवालाहरूलाई मात्र टिकट दिने, तिनैको प्रवद्र्धन गर्ने र वर्गको कुरै नगर्ने हो भने कांग्रेसको औचित्य के त ?
बीपीको पालामा ल्याइएको क्रान्तिकारी भूमिसुधारमा गर्वगर्ने कांग्रेस अब भूमिहीन किसान र सुकुम्बासीको समस्यामा खरो रूपमा प्रस्तुत नहुने हो भने नेपाली कांग्रेस भन्ने पार्टीको औचित्य नै रहँदैन ।
यी गम्भीर मुद्दामा नबोली–नबोली गरिबहरूको छातीमा डोजर हान्ने पार्टी त रास्वपा छँदैछ नि ! कांग्रेस सामयिक परिवर्तनको मार्गमा अघि नबढने हो भने त्यसको औचित्य र प्रयोजन नै रहँदैन । आपसी कलहमा फँसेर भिन्न भिन्न समूहमा विभाजित अहिलेको कांग्रेसले देशमा आर्थिक र सामाजिक सुधारको लहर ल्याउन सक्दैन ।