भुक्तानी रोक्ने पनि सरकार, सेवा नरोक भन्ने पनि सरकार, अनि दोष चाहिँ अस्पताललाई - रुपान्तरण
 २०८३ बैशाख २९, मंगलबार    

भुक्तानी रोक्ने पनि सरकार, सेवा नरोक भन्ने पनि सरकार, अनि दोष चाहिँ अस्पताललाई

सरकारलाई के एम सी अध्यक्ष सोईना शर्माको प्रश्न


काठमाडौं मेडिकल कलेजकी अध्यक्ष सोईना शर्माले सरकारबाट समयमै भुक्तानी नआउँदा निजी अस्पतालहरू गम्भीर आर्थिक दबाबमा परेको बताएकी छिन् । नेपाल सरकार अन्तर्गत सञ्चालित बीमा तथा विपन्न कार्यक्रमबाट नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजले मात्रै झण्डै एकसय करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको जानकारी दिएकी हुन ।

शर्माका अनुसार, बिराटनगरको नोबेल एकेडमी र काठमाडौ मेडिकल कलेजले बीमा कार्यक्रम अन्तर्गत दैनिक करिब ८०० ओपीडी तथा २०० भन्दा बढी आईपीडी बिरामीलाई सेवा प्रदान गर्दै आएका छन । सरकारबाट भुक्तानी नआउँदा अस्पतालको सेवा प्रवाह नै प्रभावित हुने जोखिम बढेको छ ।

शर्माले अस्पतालमा प्रयोग हुने औषधि, कन्जुमेबल तथा अन्य सामग्री सरकारको गोदामबाट उपलब्ध नहुने र बजारबाट खरिद गर्नुपर्ने भएकाले समयमै भुक्तानी नहुँदा आर्थिक व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न हुने बताइन् ।

यस्तो दोहोरो चरित्रले स्वास्थ्य सेवा मात्रै होइन, सिंगो स्वास्थ्य सेवा प्रणाली नै प्रभावित हुन्छ, शर्माले सामाजिक सञ्जालमा लेखेकी छन् ।

सम्झौताअनुसार सेवा प्रदायक संस्थाले सेवा दिने र सरकार तथा बीमा बोर्डले समयमै भुक्तानी गर्ने दायित्व स्पष्ट रूपमा उल्लेख रहेको स्मरण गराउँदै उनले भुक्तानी प्रक्रिया तत्काल व्यवस्थितगर्न सरकारसँग आग्रह गरेकी छन् ।

निजी अस्पतालहरूले सरकारको कार्यक्रम सफल बनाउन निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै उनले अब सरकारले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने समय आएको बताएकी छिन् ।