– रुपान्तरण विशेष
भदौको अन्तिम साता भएको जेनजी विद्रोहले देश क्षत–विक्षत बनाएपछि सेनाको दवावमा नेपाली कांग्रेस र एमालेको संयुक्त सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिनु परेको थियो । त्यही प्रसंगमा संसद विघटन भएको थियो । सुरक्षा सल्लाहका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पदमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्त गर्नुभयो । कार्कीलाई संसदीय चुनाव गराउने दायित्व दिइएको थियो ।
प्रधानमन्त्रीका रुपमा सुशीला कार्कीले जेनजी आन्दोलनका सबै मतियारहरुलाई समेटेर सेनाले चाहे जस्तो ‘सुरक्षा मैत्री’ प्रशासकीय निर्णयहरु लिइन । उनले जेनजी आन्दोलनका सूत्रधारहरुसंग ‘छोरा’को सम्बन्ध राखिन र अत्यन्त ‘कौशल र चातुर्य’का साथ देशको शासन–प्रशासन चलाइन । प्रधानमन्त्री कार्कीले सुरक्षा र नागरिक प्रशासनमा संलग्न प्रमुख ब्यक्तिहरुसंग सल्लाह गरेर फागुन २१ गते संसदीय निर्वाचनको मिति तय गरिन । निर्वाचन आयोग र अन्य सम्बद्ध संस्थाहरुले उनलाई भरपूर सहयोग गरे ।
चुनावका लागि राष्ट्रिय स्वतन्त्र पार्टी बालेन साहको काँधमा नेतृत्व सुम्पिन तयार भयो । बालेनको बीन बजाएर रास्वपाले झण्डै दुईतिहाइको संसदीय वहुमत प्राप्त गर्यो । कांग्रेस, एमाले र अन्य दलहरु किनारा लागे । रास्वपाको यो दिग्विजयका नेता थिए बालेन्द्र साह । रास्वपा संसदीय दलको नेताका रुपमा बालेन्द्र देशका नौजवान प्रधानमन्त्री बने ।
शिक्षा र पेशाले इन्जिनियर भएपनि बालेन ‘र्यापर’ हुन । उनमा देश बनाउने हुटहुटी पक्कै छ होला । उनी संवेदनशील पनि होलान । तर, उनमा राजनीतिक संस्कार छैन । राजनीतिक संस्कार भएको भए वैशाख २८ गते आफनै नेतृत्वमा बनेको सरकारको ‘नीति र कार्यक्रम’ वाचन गरिरहनु भएका राष्ट्रपति रामचन्द्र पौडेलको बक्तब्य नटुंगिदै उनी आफनै नेतृत्वको सरकारको नीति र कार्यक्रम ‘वहिष्कार’ गरेर संसदबाट निस्किने थिएनन । उनले चैत्र १३ गते प्रधानमन्त्रीको सपथग्रहण गरे देखि आजसम्म संसदलाई सम्बोधन गरेका छैनन ।
बालेन संसदीय पद्धतिमा बिश्वासगर्ने ब्यक्ति होइनन । उनका लागि संसदको कुनै महत्व छैन ।