प्रधानमन्त्री वालेन्द्रको ‘कालो’ रंगमा मोह - रुपान्तरण
 २०८३ जेठ ५, मंगलबार    

प्रधानमन्त्री वालेन्द्रको ‘कालो’ रंगमा मोह


- ओम आचार्य

प्रधानमन्त्री वालेन्द्र शाहको कालो रंगमा मोह देखिएको छ । उनले लगाउने कालो पोशाक र कालो चश्मा उनको पहिचान बनी सकेकोछ । वालेन्द्र शाहलाई काठमाडौ महानगरका जनताले मेयरका रुपमा निर्वाचित गरिसकेका हुन । उनले मेयरका रुपमा आफनो कार्यकाल पूरा गरेनन । गएको संसदीय चुनाव जितेर उनी प्रधानमन्त्री बनेका हुन ।

नेपाली जनताले उनलाई कालो पोशाक र कालै चश्मामा देख्दै आएका छन । प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा बनेको नेपाल कम्युनिष्ट पार्टी(एमाले) र नेपाली कांग्रेसको गठवन्धन सरकारको विरुद्ध भएको जेनजी आन्दोलनका प्रतिनिधि–पात्रका रुपमा चिनिने प्रधानमन्त्री वालेनको कालो कपडा र कालो चश्माप्रतिको मोह जग–जाहेर नै छ ।

सरकारको विरोध गर्नुपर्दा विरोधीहरुले कालो झन्डा देखाउने गरेका छन । गणतान्त्रिक संविधान घोषणा भएको दिनलाई कालो दिन भन्ने केही समुह पनि छन । नेपालमा कालो रंगलाई विरोधको रुपमा लिने गरिएकोछ । उज्यालोको विरोधी भनिन्छ कालो रंगलाई । २०१७ साल पौष १ गते लाई लोकतान्त्रिक इतिहासको कालो दिन भनिन्छ । दरबार हत्याकण्ड भएको दिनलाई पनि कालो दिन भन्ने गरिएकोछ । २०७२ सालमा गएको महाभूकम्पलाई पनि कालो दिनको रुपमा सम्झना गरिन्छ । हिन्दू सभ्यतामा कालो रंगलाई नकारात्मक शक्तिको प्रतीकका रुपमा चिनिन्छ । प्रकाशको पूर्ण अनुपस्थिति भनेकै अँध्यारोको उपस्थिति हो ।

सामान्यतया कालो रंगले हिंसा, द्वेष, विद्रोह, रहस्य र दु:खको संकेत गर्छ । कालो रंगलाई कतै पनि राम्रो मानिदैन । सपनामा कालो रंग देखियोभने त्यो शुभ मानिदैन । सपनामा कालो काग र कालो भैंसी देख्नु अशुभ मानिन्छ ।

तर, हिन्दू समाजमा महाकाली र शनि साधनागर्ने चलन पनि ब्यापक छ । यी साधकहरु कालै पोशाकमा हुन्छ्न । तन्त्र–साधनामा कालो रंगलाई सिद्धि कारक मानिन्छ । तन्त्रमा कालो कपडाको प्रयोग अनिवार्य हुन्छ ।

शक्ति आर्जनका लागि गरिने तन्त्र साधनाका लागि कालो कपडा अनिवार्य भएपनि राजनीतिमा कालो रंगको अत्यन्त न्यून प्रयोग हुने गरेको छ । राजनीतिमा कालो रंग नकारात्मक मानिन्छ । विधि विपरितहुने प्रकृया कालो रंगमा हुन्छ । कालो रंग लोकतन्त्र र स्वतन्त्रताका पक्षमा राम्रो मानिदैन ।

वालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ ग्रहणगर्दा हिन्दु सनातन धर्मका केही वटुकहरु र बौद्ध धर्मावलम्वीहरुले शान्ति र स्वस्ति वाचन गरेका थिए । प्रधानमन्त्री शाह शपथ ग्रहणगर्दा समेत औपचारिक पोशाकमा उपस्थित नभएर कालो रंगकै पोशाक र कालो चश्मामा देखिएका थिए । काठमाडौं महानगरको मेयरबाट प्रधानमन्त्रीको आसनसम्म आइपुग्दा कालो रंगप्रतिको उनको मोह झन बढेको देखिएको छ ।

कालो रंगप्रति हाम्रा प्रधानमन्त्रीको मोहले सरल र सोझा नेपाली जनतामा भय पैदा गराउने हो कि भन्ने आशंका उत्पन्न हुन थालेकोछ । वर्गीय संगठनहरु, ट्रेड युनियन र बिद्यार्थी युनियन खारेजगर्ने, संबैधानिक परिषदको नियमावली आफ्नो अनुकुल हुनेगरी संशोधन गर्नेजस्ता कामले देशमा प्रतिकूल परिस्थिति सिर्जना गर्नेछ । राष्ट्रपतिबाट संसदमा सरकारको नीति तथा कार्यक्रम वाचन हुदैगर्दा उठेर हिडेका प्रधानमन्त्री बालेन कालो रंगको गहिरो प्रभावमा परेको देखिन्छ ।

प्रधानमन्त्री बालेनको कार्य शैलि र कालो रंगप्रतिको उनको ‘मोह’का कारण जनताको मनमा संशय उठ्न थालेकोछ : के उनी वर्तमान राजनीतिक व्यवस्था विरुद्ध त छैनन ? यस्तो भयो भनेपनि कुनै आश्चर्य हुनेछैन । कालो रंग भनेकै विद्रोह हो । सुकुमवासी वस्तीमा डोजर आतंक पनि यसैको परिणाम हो ।