– किशोर नेपाल
जेनजी आन्दोलनको पृष्ठभूमिमा आयोजित नेपाली कांग्रेसको ‘बिशेष’ अधिवेशनले महामन्त्री गगन थापालाई कांग्रेस सभापतिमा ‘निर्वाचित’ गरेपछि कार्यकर्ताहरुले नारा लगाएका थिए : बदल्यौं कांग्रेस, बदल्छौ देश । गगनलाई सभापति बनाउन रचिएको यो खेलमा आर्थिक र औद्योगिक क्षेत्रका धुरन्धर खेलाडीहरुको प्रभावशाली सक्रियता थियो ।
राष्ट्रपति, नेपाली सेनाका सेनापति, निर्वाचन गराउन गठित अन्तरीम सरकारका प्रधानमन्त्री तथा अन्य राजनीतिका देशी–विदेशी गुमास्ताहरु गगन थापा कांग्रेस सभापति ‘चुनिएको’मा अत्यन्त प्रसन्न थिए ।
कांग्रेस सभापतिको आकर्षक र शक्तिशाली पदमा आसीनहुन कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले निर्दलीय पन्चायतकालमा पार्टीमाथि प्रतिवन्ध लागेको कष्टकर समयमा निरन्तरको संघर्ष र सूझबुझका साथ पार्टी संगठनको निर्माणमा आफनो शक्ति लगाउनु भएको थियो ।
२०३३ सालमा निर्वासित राजनीतिक जीवन त्यागेर राष्ट्रिय एकता र मेलमिलापको आव्हानगर्दै स्वदेश फर्किने निर्णयगर्नु भएका बीपी कोइरालाले नेपाली कांग्रेसका सभापतिका हैसियतले कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति बनाउनु भएको थियो । भट्टराई बीपी कोइरालाका बिश्वासपात्र हुनुहुन्थ्यो । वहाँले २०४८ सम्म कार्यवाहक सभापतिका रुपमा पार्टीको नेतृत्व सम्हाल्नु भयो । २०४८ देखि २०५२ सम्म निर्वाचित सभापतिका रुपमा कांग्रेसको नेतृत्व सम्हाल्नु भएको थियो । भट्टराईपछि गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा कांग्रेस सभापति हुनु भएको हो ।
गत भदौ २३ र २४ को बिध्वंशकारी आन्दोलनको पृष्ठभूमिमा पहिलो महामन्त्री गगन थापा र दोस्रो महामन्त्री बिश्वप्रकाश शर्माको आयोजनामा भएको ‘विशेष अधिवेशन’ले कांग्रेस सभापतिमा गगन थापाको ‘चयन’ गरेपछि उनका ‘पक्ष’मा रहेका कार्यकर्ता निकै उत्साहित भएका थिए । गगनको जीतको खुशीमा रमाएका थिए उनीहरु । त्यो बिशेष अधिवेशनले आन्दोलनकारीका नाममा आतंक मच्चाउने समूहले सभापति देउवामाथि गरेको आक्रमणप्रति कुनै चासो राखेन । बिशेष अधिवेशनको एकमात्र उद्देश्य कांग्रेसको संगठनात्मक सत्ता खलबल्याउनु थियो ।
यो षडयन्त्रकारी खेलमा निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्म सबैको साथ र सहयोग गगनले पाएका थिए । निर्वाचन आयोगका एकजना सदस्यलाई छाडेर सबैले गगनको नेतृत्वलाई मान्यता दिए । सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाश राउतले बिशेष अधिवेशनका सन्दर्भमा परेको कार्यबाहक सभापति पूर्णबहादुर खडकाको निवेदनकोे सुनुवाइ नै गरेनन । राज्य र राजनीति सेनाको नियन्त्रणमा रहेको यो पूरै खेल नियोजित रुपमा कांग्रेसको स्थापित नेतृत्वका बिरुद्ध लक्षित देखियो ।
बिशेष अधिवेशनका सहभागीहरुकोे सोचाइ थियो – जेनजीले तताएको माहोलमा गगनको ‘सक्रिय’ नेतृत्वमा लडिने आगामी चुनावमा कांग्रेसको भारी विजय निश्चित छ । पराजितहुने त कुरै भएन । तर, अवस्था उनीहरुले सोचेको जस्तो थिएन । देश–बिदेशका विव्दानहरुले जसरी परिभाषित गरेपनि कुनैपनि ऐतिहासिक राजनीतिक संगठन ‘नयाँ’ नाराका भरमा मात्र बिभाजित हुनसक्दैन । ‘बदल्यौं कांग्रेस, बदल्छौ देश’ को नारा लगाउँदैमा देश बदल्न सकिदैन । त्यसका लागि दूरदर्शी नेतृत्व आवश्यक हुन्छ ।
बिशेष अधिवेशनको नाममा ‘छड्के’ हानेर कांग्रेसको सभापति बनेपनि बेमौसमी चुनावमा कांग्रेसलाई विजयी बनाउन असफल भए गगन थापा । गगन थापाका निकटवर्तीहरुका अनुसार, उनले राजनीति शास्त्रका थुप्रै किताव पढेका छन : ह्यारोल्ड लास्कीदेखि बर्नी स्याण्डर्ससम्म । उनले युरोप, अमेरिका लगायत संसारका धेरै देशमा पुगेर राजनीति सिकेका छन र बुझेका छन । बुद्धिका मामिलामा आपूmलाई सघाउन बिशेषज्ञहरुको भीड खडा गरेका छन । तर, जनतालाई प्रभावितगर्न यतिमात्र पर्याप्त हुँदैन । उनले देशको माटो बुझेका छैनन । त्यसैले उनको हस्ताक्षर भएको ‘टिकट’ बोकेर चुनाव लडन पुगेका कांग्रेसका उम्मेदवारहरु पराजित भएका हुन ।
गगन कांग्रेस सभापतिका रुपमा आफनो बृहत्त राष्ट्रिय छवि स्थापितगर्ने लक्षका साथ साविकको निर्वाचन क्षेत्र छाडेर चुनाव लडन सर्लाही पुगेका थिए । त्यहाँ उनको लज्जाजनक पराजय भयो । सर्लाही–४ बाट आफनो उम्मेदवारी दाखिल गरेका गगनलाई सर्लाहीका रैथाने नेता अमरेशकुमार सिंहले बलियो मतान्तरका साथ पराजित गरे । गगनका समर्थकहरुले बनाएको भाष्य ‘देशको कुनैपनि निर्वाचन क्षेत्रबाट लडेपनि जित्ने’ उम्मेदवारको छवि भत्कियो । चुनावमा हारजीत सामान्य हुन्छ । तर, ब्यक्तिगत हिसावले गगनका लागि यो पराजय पीडादायक बन्यो । उनी न रुन सक्थे, न हाँस्न ।
त्यसपछि बिशेष अधिवेशन पक्षको एउटा सभामा गगनले कांग्रेस सभापति पदबाट आफनो राजिनामा महामन्त्री बिश्वप्रकाश शर्मालाई बुझाए । उनले तत्काल त्यो राजिनामा अस्वीकार गरे । त्यो नाटक त्यहीं टुंगियो ।
यतिबेला नेपाली कांग्रेस सिद्धान्त र संगठन दुबै हिसावले कमजोर देखिएकोछ । गिरिजाप्रसाद कोइराला पछिका नेताहरुमा स्व.सुशील कोइराला र शेरबहादुर देउवाले आफनो क्षमता प्रदर्शनको मौका पाइसकेका छन । पूर्णबहादुर खडका, विमलेन्द्र निधि, प्रकाशमान सिंह, एनपी साउद लगायतका थुप्रै नेताहरुले कांग्रेस पार्टीको संगठनात्मक विकासमा महत्वपूर्ण योगदान दिएका छन । कांग्रेसमा त्यस्ता धेरै नेता र कार्यकर्ताको सक्रिय उपस्थिति छ जसले पार्टीको संगठनात्मक बिकासमा ठूलो योगदान दिएका छन । राजनीतिगर्ने मानिसको उमेर जे भएपनि उसमा उर्जा रहेसम्म उसलाई उमेरको हदमा राख्न मिल्दैन ।
२०४६ को परिवर्तनपछि अहिलेसम्म पार्टीले आफूलाई ‘अपडेट’ गरेको छैन । पार्टीका नेताहरुमा तीक्ष्ण दृष्टिको अभाव देखिएको छ । सामान्य नेपाली जनताका बीचमा कांग्रेसको लिगेसी धानेर बसेका नेताहरुमा संघर्षप्रतिको दृढता र आत्मविश्वास नभएको होइन । तर, यतिबेला ती सुस्ताएका छन । योे उनीहरुको दोष होइन । नेपालमा एउटै पुस्ताले पटक–पटक लोकतन्त्रका लागि संघर्ष गरेकोछ । यतिबेला त्यो पुस्ताको संघर्षगर्ने शक्ति घटने क्रममा छ । गणनागर्ने हो भने अघिल्लो पुस्ताका तीन दर्जनभन्दा बढी प्रभावकारी नेताहरु राजनीतिक रुपले सक्रिय छैनन होला ।
पछिल्लो चरणको नेपाली राजनीतिमा नयाँ पुस्ताको आकर्षण बढेकोछ । तर, त्यो आकर्षणको मूल कारण इज्जत–प्रतिष्ठा, धन–दौलत र वर्गीय प्रभाव बनेकोछ । राजनीतिमा लाग्नेहरुको बढ्दो ठस्साले सामाजिक चेतना र भौतिक बिकासलाई नराम्रोसंग गाँजेकोछ । पछिल्लो समयमा राजनीति निकै साँघुरो बाटोतिर मोडिएकोछ । हामी कहाँ लोकतन्त्र छ पनि र छैन पनि ।
संवैधानिक राजतन्त्र र वहुदलीय प्रजातान्त्रिक ब्यबस्था स्थापनाको लगत्तै शुरु भएको थियो माओवादी जनयुद्ध । जनयुद्धको बिश्रामसँगै नेपाली समाजमा केही आधारभूत राजनीतिक परिवर्तन भए । राजतन्त्रको अन्त्य त्यो परिवर्तनको मुख्य बूँदा थियो । परिवर्तनपछि माओवादी, वामपन्थी र लोकतन्त्रवादीका बीच पानी बाराबारको स्थिति रहेन । तर, नेपाली समाजलाई समन्वयात्मक राजनीतिक बाटोतिर डोहोर्याउने भूमिकालाई प्रभावशाली बनाउन नेपाली कांग्रेस, एकीकृत माक्र्सवादी लेनिनवादी, माओवादीहरु असफल भए । अहिलेको पुस्ता त्यही असफलताको जन्जालमा फँसेको छ ।
यतिबेला नेपालका प्रमुख राजनीतिक पार्टीहरु विचलनको बाटोमा लागेका छन । जनयुद्धका नायक प्रचण्ड नेतृत्वको पार्टी माधव नेपालको नेपाली कम्युनिष्ट पार्टीमा विलय भएकोछ । अहिलेसम्म प्रमुख कम्युनिष्ट पार्टीका रुपमा रहेको एमालेमा नेतृत्व विवाद चरमोत्कर्षमा छ । नेपाली कांग्रेसमा फूटको सम्भावना निकै कम देखिएको छ । तर, पार्टीमा गुटगत सोचाइ सक्रियरुपले हावी हुन थालेको देखिन्छ । नेपाली कांग्रेसमा देखिएको यस्तो विचलनले अन्ततः पार्टीको भविष्यमा प्रश्न चिन्ह लगाउँछ । यसतर्फ पार्टीका महत्वपूर्ण नेताहरुले समय रहँदै ध्यान दिनु आवश्यक छ ।