संकटको भुमरीमा लोकतन्त्र - रुपान्तरण
 २०८३ असार ४, बिहीबार    

संकटको भुमरीमा लोकतन्त्र


- रुचि श्रेष्ठ

जेनजीले गत भदौ २३ मा सडक बिद्रोह गरेकै हो । नेपालमा मात्र होइन । यो बिद्रोहको लहर दक्षिण अमेरिका, अफ्रिका र एशियाका बिभिन्न शहरहरु हुदै काठमाडौं सम्म आइपुगेको थियो । भदौ २३ को प्रतिक्रियामा भदौ २४ मा देशै भरी दन्केको बिध्वंश “कोल्याटरल ड्यामेज” थियो कि “टारगेट एट्याक” थियो, त्यसको टुंगो अझै लागेको छैन । जेनजी कै नाममा सत्ता ढालियो । छ महिने सरकार बन्यो । जेनजीको ‘प्रतिनिधित्व’ गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा बहुमत ल्याएर सरकार बनाएको तीन महिना बितिसक्यो । भदौ २३ र २४ को अंशबण्डाको टुंगो अझै लागेको छैन । बिगतका नौ महिनामा परिवर्तनका नाममा जे जति ‘हर्कत’ भएका छन, त्यसमा सरकार र सरकारका भजन मण्डलीहरु सबैको एउटै स्पष्टिकरण छ : सुशासन, भ्रष्टाचार उन्मुलन र “डेलिभरी” । परिवर्तनको चाहनामा व्यग्र जनताले पनि अहिले सम्म पत्याइरहेकै छन ।

नेपाली राजनीतिमा अचेल “पैंतिस वर्ष तिनीहरुले लुटे, पाँच वर्ष यिनीहरुलाई गर्न दिउँ न त” भन्ने ‘भाष्य निर्माण’ भएको छ । नेपाली बजारमा बिचार होइन, भाष्य निर्माण हुने गर्दछ । भाष्यले पृष्ठभूमि निर्माण गर्दछ । र, त्यही पृष्ठभूमिले त्यसपछिका घटनाको औचित्य स्थापित गर्दछ । तर, भदौ २३ ले भदौ २४ को औचित्य अझै स्थापित गर्न सकेको छैन ।

लोकतान्त्रिक राज्य व्यवस्थामा पाँच वर्ष भनेको एउटा सरकारले एक पटकमा शासन गर्नपाउने पुरा अवधि हो । इतिहासमा पाँच वर्ष भनेको सरकारले लिएका महत्वपूर्ण निर्णयको दस्तावेज मात्र हो । तर, नेपालको जस्तो अस्थिर राजनीति र संस्थागत हुन नसकेको लोकतान्त्रिक राज्य व्यवस्थामा पाँच वर्ष भनेको शक्ति र सत्ताका खेलाडीहरुको लागि निकै उर्वर समय हुन्छ ।

भदौ २३ मा जुन अबोध र स्वच्छ नियत लिएर जेनजीहरु सडकमा बिद्रोहको नारा लगाउदै उत्रिएका थिए, उनीहरुले त्यो नारा लगाउदा लगाउदै संग्राम बेग्लै शक्तिबाट प्रभावित भइसकेको थियो । प्रविधिको प्रयोगले गर्दा जेनजीहरुले आफ्नो अभिव्यक्तिहरु तुरुन्तै प्रचार, प्रसार गर्न थालीहाले । हो, ज्ञान र विज्ञान आफैमा दोषपूर्ण हुदैन । त्यसलाई प्रविधि र प्रयोग कर्ताको नियतले गुण र दोषपूर्ण बनाएको हुन्छ । सोसल मिडियाबाट संगठित भएको जेनजी बिद्रोहमा गुण कति थियो, दोष कति थियो ?

जेनजी बिद्रोहले सबै देशहरुमा उठाएको आवाजको मूल विषय लगभग एउटै छ : बेरोजगारी र भ्रष्टाचार । भ्रष्टाचारलाई कानुन र नैतिकताको दायराले घेर्न सकिन्छ । त्यसैले जेनजी सरकार भ्रष्टाचार खोतल्न बढी इच्छुक देखिएकोछ । तर, बेरोजगारीलाई के ले घेर्ने ? यो त हेर्न मनै नलाग्ने अमूर्त “एब्स्ट्रयाक्ट” चित्र हो । जेनजीको लागि यो ट्रेलरमा नै समाप्त हुने सिनेमा हो ।

जेनजीले बिद्रोह गरेर सरकार ढालेको नेपाल लगायतका सबै देशहरुमा अर्को एउटा समानता पनि छ । यी देशहरुमा लोकतन्त्र स्थापना त भएको छ तर, त्यसलाई संस्थागत गर्न संघर्षरत रहनु परेको छ । जेनजी त संसारभरी नै छन । बलियो सरकार, प्रशासन र लोकतन्त्र संस्थागत भएको देशहरुमा पनि समस्याहरु छन । तर, ती देशहरुमा जेनजीले किन सरकार ढाल्न सकेको छैन ? यो रिसर्च गर्ने बुद्धिजीविको लागि रुचिको विषय हुन सक्छ ।

हाम्रो चासो र आवश्यकताको विषय, नेपालमा लोकतन्त्र किन संस्थागत हुन सकेको छैन भन्ने हो । लोकतान्त्रिक राज्य व्यवस्थाले नागरिकमा आत्मसम्मानको प्रत्याभूति गराउछ । तर, त्यसको निरन्तरता आत्मनिर्भरता र लोकतन्त्रको निरन्तर अभ्यास बगैर सम्भव छैन ।

निरंकुश पँचायत व्यवस्थामा नेपालीलाई ‘अनेकतामा एकता’को नारा लगाउन लगाइयो । तर, २०४६ साल पछि प्रजातन्त्र पुनस्र्थापना सँगै नेपालीले त्यही अनेकतामा आत्मसम्मानको अनुभूति गर्न पाए । आफनो अस्तित्व स्थापित गर्ने स्वतन्त्रता पाए । चेतना र ज्ञानको ज्योति जगाउन जति कठीन हुन्छ, त्यसको निरन्तरता कायम राख्न त्यो भन्दा कम मुश्किल हुदैन । कांग्रेस र कम्युनिष्टले गाउँ–गाउँमा बाटो त पुर्याए । तर, उनीहरुले जनता आत्मनिर्भर हुने बाटो खोल्न सकेनन । कुना, कन्दरामा बिजुली बाले । तर, आत्मसम्मानको चेत र तेज कायम राख्ने उपाय देखाउन सकेनन ।

प्रभावकारी नेता हुनको लागि गहिरो बिचारक हुनु आवश्यक छैन । तर, उसले विचारको गहिराई र दूरदर्शितालाई अवश्य बुझेको हुनु पर्दछ । राजनीतिमा नेता र विचारक दुई फरक किसिमका प्राणी हुन । तर, दुवै एकअर्काका संवाहक हुन्छन ।

२०४६ साल पछि लोकतन्त्र र समाजवादको एजेण्डामा सहमत भएको कांग्रेस, कम्युनिष्ट र पछिल्लो समयमा माओवादी पार्टीले आफनै राजनीतिक नीति र अर्थ नीतिमा तालमेल मिलाउन सकेनन ।

राजनीतिक धार स्थापित गर्न विचार र नेतृत्व समानान्तर गतिमा हिड्नु आवश्यक भए जस्तै त्यो धारको निरन्तरताको लागि विचारको सैद्धान्तिक र व्यवहारिक अभ्यास पनि समानान्तर गतिमा हिड्नु आवश्यक हुन्छ । सधै रोजगारी कै समस्या रहदै आएको नेपाली समाजमा जनताले लोकतन्त्र, स्वतन्त्रता र समाजवादको व्यवहारिक अभ्यास गर्ने मौका नै पाएका छैनन ।

नेपालमा राजनीतिक धार कहाँ अल्झियो ? अझ भनौं कहाँ–कहाँ अल्झियो ? सैद्धान्तिक विचार र व्यवहार कसरी गुजुल्टिएर गाँठो पर्दै गयो ? नेतृत्वको नूर किन हराउदै गयो ? यी प्रश्नहरु केलाएर बस्ने फुर्सद आज कसैलाई छैन ? अहिले नेपालीलाई मात्र “डेलिभरी” चाहिएको छ ।

अधिनायकवादी चरित्रको राज्यसत्ताले त्यतिमात्र “डेलिभरी” गर्दछ जति सत्ता र शक्तिमा आफनो पकड कायम राख्न आवश्यक पर्दछ । यो लोकतन्त्र जस्तो होइन । लोकतन्त्रमा डेलिभरीको स्वरुप, ऐन र कानुन जनताका प्रतिनिधिले निर्धारित गर्दछ । जेनजी बिद्रोहले बनाएको सरकारको “डेलिभरी”को स्वरुप कस्तो हो ?

राष्ट्रिय स्वतन्त्र पार्टीले “हाम्रो सैद्धान्तिक धार छैन । हामी भ्रष्टाचार अन्त्य गर्छौ । सुसासन स्थापित गर्छौ ।” भनेर भोट मागेकै भरमा निर्वाचनमा जितेर बहुमतको सरकार बनाएको छ । सैद्धान्तिक र वैचारिक धार बिनाको “डेलिभरी”को स्वरुप कस्तो हुन्छ ? आज जनतालाई त्यसको पनि चासो छैन ।

सूचनाको संजाल र जन्जालहरुमा आज नेपालीलाई सिद्धान्त र विचार होइन “डेलिभरी” चाहिएको छ । कांग्रेस र कम्युनिष्ट दलहरु बिचार र सिद्धान्तलाई छेउलगाउदै ‘बा’ र ‘दाई’को राजनीतिमा रमाउदै गर्दा पनि नेपाली जनतालाई चाहिएको त “डेलिभरी” नै थियो । २०४६ साल अघि पनि जनतालाई स्वतन्त्रता र अधिकारको सुनिश्चितता मार्फत त्यही “डेलिभरी” चाहिएको थियो । उत्पादन र रोजगारीको अभावमा हिजो डेलिभरी नपाएका नेपाली जनताले आज बेरोजगारी विश्वव्यापी समस्या भएको समयमा कसरी डेलिभरी पाउने छन ? गम्नै पर्ने विषय हो ।

आज नेपाली राजनीति जुनमोडमा आइपुगेकोछ, यसलाई न विचारका दृष्टिले, न नेतृत्वकै आधारमा व्याख्या गर्न सकिने अवस्था छ । मूल्यांकन त धेरै टाढाको कुरो हो । मुलभूतरुपले अहिले नेपाली समाज विचार शून्य अवस्थामा छ । सामाजिक संजालको चरित्र र प्रयोग असामाजिक भए जस्तै नेपालमा समाजवाद र लोकतन्त्रलाई निश्प्रभावी बनाइदैछ ।

जेनजी बिद्रोह थियो । आन्दोलन थिएन । किनभने त्यहाँ विचारको धार थिएन । अहिले पनि छैन । तर, भदौ २३ र २४ को बिध्वंश पछि कुनै पनि राजनीतिक दलहरुले यसलाई आन्दोलन होइन भन्ने नैतिक साहस देखाउन सकेनन । संसदीय लोकतान्त्रिक व्यवस्थाको बचावमा संसद बिघटन गर्नु गलत हो भनेर आवाज आउन सकेन । त्यसको बिपरित सबै प्रमुख दलहरु आ–आफनै पार्टीको आन्तरिक कलहमा हराए ।

केपी ओलीलाई पार्टीमा आफनो सार्वभौम सत्ता पुनः कायम गर्नु थियो । प्रचण्डले आफनो पोजिसन बलियो बनाउन माओवादी पार्टी नै पतन गरिदिए । शेर बहादुर देउवा यो खेलमा नराम्रो सँग चुके ।

लोकतन्त्रको लागि सबै भन्दा लामो संघर्ष गरेको सबैभन्दा बलियो पार्टी नेपाली कांग्रेस नयाँ पत्रिकाले निकाल्ने “झन नयाँ” अंक जस्तै “सबैभन्दा नयाँ दल”को नारा लगाउदै निर्वाचनमा गयो । र, नराम्रो सँग पराजित भयो । जेनजीको हावामा पार्टी ‘नयाँ’ बनाउन रचिएको विशेष महाधिवेशनबाट सभापति घोषित भएका गगन थापा आफै निर्वाचनमा नराम्ररी पराजित भए । थापाले विशेष महाधिवेशनको औचित्य स्थापित गर्ने मौकै पाएनन ।

कुनै अर्को दल कांग्रेस भन्दा बढी लोकतान्त्रिक भएर प्रकट भएको भए पनि नेपालीले चित्त बुझाउने ठाउँ हुने थियो । तर, अहिलेको यो लहर पार्टी प्रतिको बितृष्णा नभएर लोकतान्त्रिक बिचार प्रतिकै बितृष्णाको रुपमा फैलिन थालेकोछ । लोकतन्त्रको बिग्रिएको कोर्सलाई कांग्रेस पार्टीले कसरी करेक्सन गर्नेछ ? यसले कांग्रेस पार्टीको मात्र नभएर नेपालको लोकतान्त्रिक राज्य व्यवस्था कै भविष्य निधारित गर्नेछ ।