बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ निवासी गोपालबहादुर बुढाका दश महिना अघि जन्मेका छोरा एक महिनाभन्दा बढी समयदेखि गम्भीर बिरामी थिए । उनी आफ्नो छोराको उपचारका लागि धनगढी गए । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ती शिशुको १२ दिन उपचार गरेर घर पठाइयो । तर, केही दिन बित्न नपाउँदै रोग बल्झियो र फेरी अस्पताल दौडाउनुप¥यो । त्यसपछि निशर्ग अस्पतालको आईसीयूमा राखेर तीन दिन उपचार गरियो ।
धनगढीका विभिन्न अस्पतालमा छोराको उपचार खर्चका लागि गोपाल बुढाले तीन लाखभन्दा बढी ऋण काढेका थिए । ऋण काढेको पैसा सकियो र पनि छोराको अवस्था झन् झन् खराब हुँदै गयो । उनलाई त्यहाँका डाक्टरहरूले काठमाडौं लगेर उपचार गराउने सुझाव दिए । काठमाडौंमा उनले छोराको उपचारका लागि कान्ति बाल अस्पताल लगे । तर त्यहाँ आईसीयूमा बेड खाली नभएका कारण दुई दिन त्यत्तिकै तड्पेर बस्नुप¥यो । केही दिन कुरेपछि बेड पाएपनि आर्थिक अवस्था कमजोर भएकाले त्यहाँ उपचार गराउन नसक्ने अवस्थाको सिर्जना भयो ।
त्यसपछि, गोपालबहादुरले बाजुराका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य जनकराज गिरीलाई आफ्नो पीडा सुनाए । त्यो पीडा सुनेपछि गिरीले काठमाडौं मेडिकल कलेजका सञ्चालक तथा नेपाली कांग्रेसका नेता डा.सुनील शर्मालाई गोपालबहादुरका छोराको उपचारमा सहयोग गरिदिन आग्रह गरे ।
गरीब तथा असहायको निरन्तर सेवागर्दै आएका डा.शर्माले गोपालका छोराको निःशुल्क उपचार गराउने भए । उनले भक्तपुरको दुवाकोटमा रहेको केएमसी युनिट–२ मा ती बालकको उपचार सुरु गराए । अस्पताल पुग्दा बालकको अवस्था नाजुक थियो । बच्चालाई निकै गाह्रो भइरहेको थियो । गोपाल भन्छन्, ‘अस्पताल पु¥याउँदासम्म छोराको उपचार नै हुँदैन जस्तो लागेको थियो । डाक्टरहरूले बच्चालाई एकदमै गाह्रो भइरहेकोले आईसीयूमा राखेर उपचार सुरु गर्नुभयो । उपचार सुरु भएको केही समयपछि बच्चाको स्वास्थ्यमा क्रमिक सुधार हुन थाल्यो ।’
बुढाको आर्थिक अवस्था अत्यन्त कमजोर देखेपछि डा.सुनील शर्माले उपचारका क्रममा लाग्ने सम्पूर्ण खर्च मिनाहगर्दै कुरुवाका लागि पनि खानेबस्ने निःशुल्क व्यवस्था गरिदिए । गोपाल भन्छन्, ‘सुनील डाक्टर साहेवले मेरो छोराको उपचारमा दिल खोलेर निस्वार्थ सहयोग गरेकोमा एकदमै खुसी लागेको छ । आर्थिक अवस्था कमजोर भएका मजस्ता व्यक्तिहरूको निःशुल्क उपचार गरेर सुनील सरले एकदमै ठूलो गुन लगाउनुभएको छ । उहाँहरूको यो सहयोग म आजीवन भुल्ने छैन । उहाँहरूले मेरो छोराको ज्यान मात्रै बचाइदिनुभएको छैन, हाम्रो सम्पूर्ण परिवारको भविष्य नै बचाइदिनुभएको छ ।’
ऋण गरेको पैसा पनि सकिएको र छोरा पनि बचाउन नसक्ने अवस्थामा पुगेका गोपालबहादुर अहिले स्वस्थ छोरा लिएर घर फर्कन पाएकोमा एकदमै हर्षित छन् ।