यतिबेला नेपाली कांग्रेस पार्टीका नेता–कार्यकर्ताहरु पारस्परिक विरोध र प्रतिस्पर्द्धामा लागेका छन । देशको राजनीतिक अवस्था सन्तुलित छैन । नेपाली कांग्रेसभित्रको आपसी असहमतिले यसको शक्ति क्षीणहुँदै गएकोछ । आज चौवालिशौं बीपी स्मृति दिवसका सन्दर्भमा हामीले बीपीले कांग्रेसका नेता र कार्यकर्तालाई लेख्नु भएको यो पत्र प्रकाशित गरेका छौं । यतिवेला, विभाजनको निकट पुगेको पार्टीलाई एकतावद्ध तुल्याउन अठसठ्ठी बर्षअघि बीपीले देशभरका नेपाली कांग्रेसका नेता र कार्यकर्तालाई पठाउनु भएको यो सन्देश आजको समयमा झन बढी सान्दर्भिक भएकोछ ।
प्रिय साथी,
तपाई साथीहरुलाई धेरै दिनपछि यस्तो किसिमको पत्र पठाउँदै छु । मलाई लाग्दछ, आज यसको आवश्यकता पनि पर्न गएको छ । आज हाम्रो प्यारो देश जसरी नै नेपाली कांग्रेस पनि एउटा ठूलो संकटबाट गुज्रदैछ । यसको पूर्ण निराकरण गर्नमा हामी हाल त्यति समर्थ नभए पनि यसका ठीक–ठीक कारणहरुको ठेगान लगाउनु आवश्यक छ । तसर्थ, हाम्रो पार्टीभित्रका रोगहरु ठेगान लगाउनु आज आवश्यक हुन गएको छ । पार्टीहरु देशको सामाजिक, राजनीतिक र आर्थिक अवस्थाका प्रतिविम्बमात्र हुन्छन । हाम्रो पार्टी पनि त्यस्तै नै हो । नेपाली कांग्रेस नेपाली जनताको वास्तविक प्रतिनिधि हो भने यो निरोगी र स्वस्थ रहेमा हाम्रो देशको एक–एक रोग र व्याधि आफै त्रमशः हट्दै जानेछ । र, यो देश कालान्तरमा विश्वका अरु देश सरह व्यवस्थित र उन्नतिशील भएर जानेछ ।
तपाई साथीहरुले प्रारम्भदेखि नै मप्रति ठूलो विश्वास र प्रेम देखाउनु भएको छ । मैले पनि आफूलाई यसको उपयुक्त बनाउने सकेसम्म प्रयत्न बराबर गरेको छु । तर, मलाई आफ्नो काममा नै न संतोष छ, न त तपाई साथीहरुको कामबाट नै संतोष छ । यसो नभएको भए यस्तो किसिमको पत्र लेख्ने आवश्यक नै पर्ने थिएन । त्यस हुनाले तपाईहरुको सोही मैत्री र सद्भावनाका आधारमा म यो स्पष्ट कुरा लेख्दै छु । र, मलाई आशा छ, यसमाथि तपाईहरुले अवश्य पनि गम्भीर विचारका साथ मनन गर्नुहुनेछ ।
नेपाली कांग्रेसमाथिको ऐतिहासिक उत्तरदायित्वको कुरा म पार्टीका साथीहरुले जहाँसुकै गरेको सुन्दछु । यो ऐतिहासिक उत्तरदायित्व के हो ? हामीले के गर्नु छ ? हामी सबैलाई यसको स्पष्ट बोध नभएको जस्तो छ । यसबारे मैले केही विचार गरेँ । मलाई लाग्दछ, नेपालमा क्रान्तिको नेतृत्व गरेर सफलताका साथ कठिन ज्वालामुखीको दुर्गम पहाड चढेर त्यसको अखण्ड ज्वालामा हाम्फालेर पनि अक्षत र सफल भएर निस्केका नेपाली कांग्रेसका क्रान्तिकारी साथीहरु अझै त्यही बितेका सपनाका कथाहरुमा अल्झेर बसिरहेका छन । अतीत सबैका लागि सुखद र प्यारो हुन्छ । झन बितेका दिन इतिहासका सुनौला पृष्ठ हुन गएका त्यस व्यक्ति वा संस्थाको के कुरा । तर, यसैले हामीमा आफ्नो साध्य र साधनप्रति नै भ्रम पारेको जस्तो छ । क्रान्ति प्रजातन्त्र प्राप्तिको एउटा साधन मात्र थियो र साध्य त प्रजातन्त्र थियो । साधनको उपलब्धिको उमगंमा हामीले यस महत्वपूर्ण कुरालाई बिस्र्यौं र अझै त्यही गल्ति गर्दैछौ । यसैले गर्दा हाम्रो देश प्रजातन्त्रको मार्गमा चाहिने जति अगाडि बढ्न सकेन । वास्तविक भन्ने हो भने, क्रान्तिजन्य प्रजातन्त्रका प्राप्तिहरु दिन दिनै घट्दै गए । यसले गर्दा क्रान्तिको महत्व पनि कम हुँदै गयो । यस कुरालाई आज हामीले राम्ररी बुझ्नु परेको छ ।
समयका साथ आज हाम्रो पार्टीभित्र अनेक खरावीहरु आएका छन । तिनीहरुमध्ये केही प्रमुख खरावीहरु बारे यहाँ म तपाईहरुलाई आफ्नो मनमा लागेको कुरा भन्न चाहन्छु । सर्वप्रथम क्रान्तिको सफलताले हामी सबैमा आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना गर्यो । अनवरत कार्यव्दारा यसको पुस्ट्याई भएको भए सम्भव थियो । यसबाट त्यति नोक्सान हुने थिएन । तर, अनेक कारणले त्यसो हुन सकेन । फलस्वरुप आजको हाम्रो निरर्थक आत्मविश्वास हाम्रो बाटोको तगारो हुन गएको छ । यसलाई हामीले हटाउनु परेको छ । हाम्रो दोस्रो अवगुण के हो भने हामी प्रत्येक प्रश्नमाथि आफ्नो व्यक्तिगत दृष्टिकोणले विचार गर्दछौ । हामी आफ्ना चाहना र बानीअनुसार राष्ट्रिय वा पार्टीका समस्याहरुको हल खोज्दछौ । तसर्थ, हाम्रा धेरैजसो निर्णयहरु आफ्ना व्यक्तिगत चाहना वा रुचि वा अरुचिका छाया मात्र हुन जान्छन । यसलाई हामीले हटाउनु परेको छ । हाम्रो तेस्रो खराबी के हो भने हामीमा आफ्नो जिम्मेवारीप्रतिको उत्तरदायित्वोध कम छ । यद्यपि, जिम्मेवारी उठाउने बारेको हाम्रो चाख भने कम छैन । यी कारणहरुले गर्दा हामी जनतामा बढ्ता भिज्दैनौ । र, जनता र हाम्राबीचको सीमा आज दिन–प्रतिदिन बढ्दै गएको छ । यो हाम्रो चौथो दुर्गुण हो । हाम्रा साथीहरुको पाँचौ खामी के छ भने हामी आफूलाई अर्कै तहको र पार्टीका साधारण र सोझा कार्यकर्ताहरुलाई अर्कै तहको भन्ठान्छौ । जनता र पार्टीकै कार्यकर्ताहरुबीचको यस किसिमको अन्तर पनि आज देखिन थालेको छ । हाम्रो छैठौ खराबी भनेको साथीहरुमा अध्ययनको ठूलो कमी हुनु हो । हामीले इतिहासक बितेका घटनाहरुका प्रकाशमा वर्तमान राजनीतिको बाटो पहिल्याउनुपर्दछ । हामी त्यसो गर्दैनौ । उदाहरणका लागि पार्टीको घोषणापत्रसम्मको उपयुक्त ज्ञान नभएका धेरै साथीहरुलाई मैले देखेको छु । यसलाई पनि हामीले हटाउनुपरेको छ ।
अब म तपाईहरुलाई मैले देखेको पार्टीको सातौं र अन्तिम खराबी लेख्छु । साथीहरुमा उत्कर्ष र संकट, दुवै कालमा नैतिकताको अभाव भयो भने त्यसको हस निश्चित छ । राजनीति र नैतिकता दुई भिन्न तत्व हुन र सफल राजनीतिका लागि नैतिकताको आश्रय लिनु आवश्यक छैन भन्ने एकथरी विचार तपाईहरुले पनि अवश्य नै सुन्नुभएको होला । यस विचारबाट अलि बढ्ता प्रभावित भएका कसै–कसैको भनाई त के पनि छ भने सफल राजनीतिका लागि नैतिकता बाधकमात्र हुन्छ । एउटा अर्को थरीको भनाइ के छ भने नैतिकताविनाको राजनीति सफल भए पनि ग्राह्य छैन र नैतिकताबिनाको राजनीति सर्वथा पापाचार मात्र हो । एउटा विचारमा नैतिकताको अभावलाई नै राजनीतिक सफलताको पूँजी भनिएको छ । त्यहाँ यसमाथि आवश्यकताभन्दा ज्यादै बढी ध्यान दिइएको छ । राजनीति भनेको मोक्षको मार्ग होइन । पार्टीहरु विभिन्न किसिमका राजनीतिका माध्यम मात्र हुन । तसर्थ, कुनै राजनीतिक पार्टी मुमुक्षुहरुको दलजस्तो निस्पृह र निर्विकल्प हुन सकेन भनेर कसैले गुनासो गर्दछ भने त्यो उसैको मूर्खता हो । मेरो भनाइको तात्पर्य के हो भने माथिका नैतिकताका बारेका दुवै दृष्टिकोण अतिवादका उदाहरण मात्र छन । राजनीति र नैतिकताको एउटा उपयुक्त समन्वय खोज्ने अवसर आज नेपाली राजनीतिमा आइसकेको छ । म चाहन्छु, देशको राजनीतिमा अग्रणी, हाम्रो पार्टीले नै यसबारे पनि एउटा नयाँ बाटो र सर्वथा अभिनव प्रयोग प्रारम्भ गर्नुपर्छ । र, कसले भन्न सक्छ, यसको प्रभाव कालान्तरमा हाम्रो देशको सीमा नाघेर बाहिर फैलिने छैन ?
साधारण जीवनमा नैतिकताको स्थान भएजस्तै राजनीति पनि जीवनकै एउटा भाग भएको हुनाले नैतिकता बिनाको राजनीति निरर्थक र अलिनो हुन्छ । र, त्यस हुनाले अग्राह्य हुन्छ । हामीले साथीहरुबीच नै असत्यको प्रचार गर्यौ, गैर–इमान्दार भएर काम गर्यौ र आपसमा अविश्वास गर्यौ भने हामी राजनीतिक कार्यकर्ताको संघर्षमय शुष्क जीवनको संवल नै के रहन्छ र ? नैतिकताका बारे ठूलो भाषण दिने मेरो इच्छा छैन । मनुष्य आफै एउटा अत्यन्त कमजोर र नीरिह प्राणी हो । तर, कस्तै संकटका अवसरमा पनि हामीले यी मानवोचित गुणहरुलाई भुलेनौं भने घोर अन्धकार र निराशाका अवसरमा पनि यसको क्षीण प्रकाशले हामीलाई जीवित र उल्लासमय बनाइराख्ने छ ।
माथि नै मैले तपाईहरुलाई भनेको छु, म माथिको तपाईको ठूलो विश्वास, मैत्री र सद्भावनाका कारणले मात्र मैले तपाईहरुलाई यस्तो किसिमको व्यक्तिगत पत्रलेख्ने धृष्टता गरेको हुँ । यस पत्रको आशय सारा कमजोरीहरुका कारण तपाईहरु नै हुनुहन्छ भन्ने होइन । साँच्चै भनौं भने यी कमजोरीहरुको सबैभन्दा बढी उत्तरदायित्व ममाथि छ । हाम्रो केन्द्रिय कार्यालय कमजोर भएको छ । कुन समयमा काम हुन्छन भन्ने कसैलाई थाहा छैन । यसको जिम्मेवारी पनि धेरै जसो ममाथि नै जान्छ । यसलाई हामी सबैले मिलेर हटाउनु छ ।
स्थिति अझै नसुध्रिने लायक भएको छैन । हामीहरुले अनेकपटक जीवन–मरणका संघर्षमा काँधमा काँध मिलाएर देशका दुश्मनहरुसँग जीवन मरणको युद्ध गर्यौ । भविष्य अत्यन्त अनिश्चित भए पनि त्यस समयको हाम्रो कर्तव्यपरायणता, मैत्री, एकता र उदारताको आज अभाव हुन गएको छ । यसलाई हामीले आज पुनः प्राप्त गर्नु परेको छ । त्यो अझै बढी त्याग र बलिदानले मात्र प्राप्त हुनसक्छ । अनि मात्र देशमा प्रजातन्त्रको विकास हुनेछ र समाजवादको मार्ग प्रशस्त हुनेछ । अनि मात्र हाम्रो ऐतिहासिक उत्तरदायित्व पूरा हुनेछ ।
प्रस्तुति : रुचि श्रेष्ठ