- अजय पाण्डे
२०६२–६३ को जन–आन्दोलनको रापतापमा मिडियामा निर्धक्क बोल्न र प्रश्न गर्नसक्ने क्षमताका आधारमा उदाएका गणतन्त्रका ‘युवराज’ श्री गगन थापाको विषयमा यसरी लेख्ने मन त थिएन । तर, सबैको सम्झनाका लागि पनि, अलिकति इतिहासको र अलिकति आदर्शको उल्लेख त गर्नै प¥यो । नेपाली कांग्रेस जस्तो ऐतिहासिक विरासत बोकेको राजनीतिक पार्टीको नेतृत्व वीपी, गणेशमान र कृष्णप्रसाद भट्टराईजस्ता लोकतन्त्रका अथक योद्धा, त्यागी र राष्ट्रवादी चिन्तन भएका नेताहरूले गरेका थिए । त्यो पार्टीमा अहिले कपासभन्दा हलुका, लोकप्रियतावादको हावा जता बग्यो त्यतैबग्ने चतुर गगन, र गगनभन्दा पनि चतुर विश्वप्रकाश शर्मा पार्टी विभाजनको कारण बनेको देखेपछि, जनता जनार्दनले थाह नपाएको गगनको एउटा पक्ष यस लेखमार्फत बाहिर ल्याउनुपर्छ भन्ने लागेर यो लेख लेखिएको हो ।
अहिलेसम्म गगनको राजनीति अरुलाई दोषारोपण गरेरै टिकेको छ । उनी ३० वर्षदेखि राजनीतिमा छन्, तर आजसम्म कुनै ठोस उपलब्धि हासिलगर्न सकेका छैनन । कुनै परिवर्तन ल्याउन सकेका छैनन् । नेपाल बिद्यार्थी संघमा हुँदा आफ्नो ‘कार्यकर्ता’ केटाहरूलाई प्रयोग गरेर आफ्नै पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई घेरेर, धम्क्याएर समानुपातिक सांसद बनेदेखि आजसम्म उनी चारपटक सांसद, एकपटक मन्त्री, लामो समय पार्टीको केन्द्रीय सदस्य, एकपटक महामन्त्री र जेनजी विद्रोहका कारण निर्माण परिस्थितिमा संविधानले पनि नचिन्ने 'सल्लाहकार' हुँदै अहिले नेपाली कांग्रेस कब्जा गरेर पार्टी सभापति भइसकेका छन् । तर पनि उनी अझै उत्तर दिदैनन् । अझै पनि उनी अरुलाई प्रश्न गर्छन्, मिडियाले उनलाई प्रश्न गर्दैन ।
गणतन्त्रको ’युवराज’ अझै भन्छन—१० वर्ष पार्टी अँध्यारोमा हिँड्यो । तर, त्यो अँध्यारोमा उनले मच्चाएको ब्रह्मलुटबारे कसैले उनलाई प्रश्न सोद्धैन । ३/४ वटा सचिवालय, हरेक कार्यक्रममा दक्षिण भारतीय फिल्ममा लाइनलागे जस्तै गाडीहरूको लावालश्कर, चीनदेखि अमेरिकासम्म लगानी र असुलीको धन्दा नचलाइ यति छिट्टै राजनीतिक छलाङ्गमार्नु अन्यथा कसरी सम्भव हुन्थ्यो ?
कुरा २०५७ सालतिरको हो । नेबि संघमा हुँदा ‘दरबारबाट दुई लाख रुपैयाँ बुझेको’ भनेर चर्चित गगनले पछि सबैभन्दा चर्को स्वरमा गणतन्त्रको नारा लगाएको सुनेपछि गिरिजाप्रसाद कोइरालाले उनलाई ‘दरबारिया केटो’ भनेका थिए । पछि गगन भूमिगतहुँदा काठमाडौं भित्रको कुनै दूतावासमा शरणलिई लुकेको कुरा कांग्रेसको वृत्तमा चर्चा हुने गथ्र्यो । पश्चिमी देशका प्रतिनिधिहरूसँगको उनको हिमचिमपछि गिरिजाबाबुले उनलाई कतैबाट परिचालित छन् भनेर नेविसंघको चुनाव नै सारिदिएका थिए, ताकि गगन सभापति नबनून् । तर मिडिया, विदेशी शक्ति र युवाहरूको व्याकअप पाएर गगनले आफ्नै पार्टीका बयोवृद्ध गिरिजाप्रसाद कोइरालालाई केटाहरू पठाएर घेराहाली धम्क्याउँदै समानुपातिक सांसद बनेका थिए ।
गगन राजनीतिमा कदम राखेदेखि नै अत्यन्त महत्वाकांक्षी थिए । उनले त्रिचन्द्रमा विद्यार्थी राजनीतिगर्दा सुजाता कोइरालासँग नजिक हुन एक महिलासँग प्रेमको नाटक गरेको कुरा उनका समकक्षीहरूलाई थाहा छ । आफ्नो राजनीतिक अभिष्ट पूरागर्न उनले ती महिलालाई विवाहगर्ने झूटो आश्वासनसम्म दिएका थिए । तर, अर्जुन नरसिंह केसीकी छोरीसँग विवाहगर्दा राजनीतिक फाइदा हुने देखेपछि उनले ती महिलालाई नराम्रोसँग धोका दिए । त्यसपछि उनी रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग पनि नजिक भए । सिटौलाले त उनलाई आफ्नै टिमबाट महामन्त्रीको उम्मेदवार मात्र बनाएनन्, आफ्नै कोटाबाट स्वास्थ्य मन्त्रीसमेत बनाए । तर, पछि त्यही गगनले कृष्ण सिटौलालाई राष्ट्रिय सभाबाट गलहत्याएर निकाल्दै बैगुनी पारा देखाए ।
शेखर कोइरालाको समूहबाट महामन्त्री जित्ने देखेपछि गगनले सिटौलाको साथ छाडे । शेखर समूहबाट महामन्त्री लडे । तर, महाधिवेशनमा शेखरको लागि नै भोट मागेनन । चर्को दबाब आएपछि मात्र उनले सभापतिमा शेखरलाई सहयोग गरेको जस्तो गरे । शेरबहादुर देउवा सभापति निर्वाचित भइसकेपछि भने उनी देउवासँग नजिक भए । विभिन्न पदहरूमा ‘भागबन्डा’ खोजे । २०७९ को प्रदेश र संघीय चुनावमा करिब ६०–७० जनालाई गगनले प्रदेश सभाको टिकट बाँडे । तर अहिले उनी आफैं सभापति भएपछि भन्छन - भागबन्डाको राजनीति अन्त्य गरौँ ।
२०७९ सालको निर्वाचनपछि कांग्रेसको संसदीय दलको चुनावमा गगन र शेखर दुवै जना चुनाव लड्न इच्छुक थिए । तर दुवैलाई मिलाएर एक जना मात्र उम्मेदवार बनाउनुपर्छ भनेर समूहका केही व्यक्तिहरू बैठक बसेका थिए । त्यही क्रममा गगनले अहिले आफूलाई सहयोग गरे अर्को महाधिवेशनमा शेखरलाई नै सभापति बनाउने आश्वासन दिएका थिए । यो आश्वासन भूmटो थियो । तर, शेखर कोइरालाले देउवासँग हार बेहोरेपछि गगनले शेखरलाई छाडेर देउवाको चाकडीगर्न शुरु गरे ।
देउवा र गगनको जोडी जम्दै गएको देखेर देउवाकै ‘भाइहरू’लाई चिडचिडाहट हुन थालेको थियो । देउवाका अत्यन्त प्रिय पात्रहरूभन्दा भित्रीया गगन भइसकेको कुरा देउवा समूहकै नेताहरूले बताउने गर्थे । जेनजी आन्दोलन हुनु भन्दा केही महिना अगाडि मात्र शेखर कोइरालाले संसदीय दलको नेतामा देउवा विरुद्ध लड्ने मनसाय बनाएका थिए । त्यतिबेला उनको साथमा करीब ५ जना सांसदको संख्या पुगेको थिएन । गगनले त्यतिबेला शेखरलाई साथ नदिएपछि उनले संसदीय दलमा देउवालाई चुनौती दिएनन् ।
देउवालाई रिझाएर उनको समूहबाट सभापति पदको उम्मेदवार बन्ने दिवास्वप्न बोकेका गगनले देउवालाई खुसी पार्न कुनै कसर बाँकी राखेनन् । एक ठाउँमा भाषणगर्ने क्रममा उनले नेपाली कांग्रेसको महाधिवेशन २०८३ सालमा मात्र हुन्छ भने । तर जब जेनजी आन्दोलन भयो, त्यसको भोलिपल्टै उनले आफ्नो बैगुनी चरित्र देखाए । मरणासन्न हुने गरी पिटाइ खाएका वृद्ध सभापति देउवालाई स्वास्थ्य लाभको कामना सम्म नगरी उनले पार्टीको अनलाइन छलफल चलाए । उनको अमानवीय व्यवहारको पार्टीभित्र व्यापक आलोचना भएपछि मात्र झारातिर्ने हिसावले विज्ञप्ति जारी गरे । पछिल्लो समयमा शेरबहादुरले प्रकाशशरणलाई भन्दा बढी माया गरेको गगनले शेरबहादुर देउवा उपचारको क्रममा रहँदा रहँदै विशेष महाधिवेशनको नाममा पार्टी कब्जा मात्र गरेनन्, लोकतान्त्रिक पार्टीमा देउवालाई चुनाव नै लड्न नदिने निरंकुशताको अभ्याससम्म गरे । वीपी, गणेशमानका पुत्रहरूलाई टिकट दिएनन् । तर डलरमा अरवपति भनेर विनोद चौधरीदेखि धेरै धनाढयलाई टिकट दिए । गगनले आफैंले टिका लगाएको केन्द्रीय समितिको मातहतबाट टिकट बाँडे र आफैंलाई प्रधानमन्त्रीको घोषणागरे ।
गगन थापाले आजसम्म आफूलाई गुण लगाउनेको गुण तिरेको इतिहास छैन । जताततै राजनीतिमा इमानको खडेरी भएको अवस्थामा अहिले नेपाली कांग्रेसमा इमान नै नभएको व्यक्ति सभापति बनेका छन् । यस्तो बैगुनी स्वभाव भएको व्यक्तिलाई बोकेकाले कांग्रेसको दुर्गति भएको हो । कमसेकम न्यूनतम इमान र मानवीय कर्तव्यलाई जोगाउनुपर्छ कांग्रेसले । त्यो जोगाएमात्र कांग्रेसको भविष्य सुनिश्चित होला ।