शशांकको कमाण्डमा कांग्रेस - रुपान्तरण
 २०८३ श्रावण २८, बिहीबार    

शशांकको कमाण्डमा कांग्रेस

हङकङबाट देउवाको प्रस्थान


- रुपान्तरण बिशेष

कांग्रेसमा ‘किचलो’ छ । सन्त नेता कृष्णप्रसाद भट्टराई भन्ने गर्नु हुन्थ्यो : कांग्र्रेसमा ‘झगडा’ होइन, ‘रगडा’ हुन्छ । उहाँको यो वचन सत्य ठहरिएकोछ । झगडा सकिन्छ । त्यो सकिन बेर लाग्दैन । ‘रगडा’ जति रगडे पनि सकिदैन । रगडामा के हुन्छ ? एकले अर्कोलाई सँधै रगडेको रगेडै गर्दछ ।

शेरबहादुर देउवा साउन २८ गते काठमाडौं फर्किंदै हुनुहुन्छ । यता, ‘मूल कांग्रेस’ वीपी कोइरालाका कान्छा सुपुत्र शशांक कोइरालाको कमाण्डमा छ । पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दिनुभएको निवेदनमाथि सर्वोच्चले पुनरावलोकन गर्ने निर्णयले कांग्रेसलाई थप उत्साहित बनाएकोछ । अहिलेको स्थितिमा कांग्रेस कसरी अगाडि बढनेछ ? विशेष अधिवेशनको छड्के बाटो समातेर नेता बनेका ब्यक्तिहरु कांग्रेसको भविष्यका बारेमा कति संवेदनशील रहेका छन ? छिनोफानो छिटै हुने आशा राखौं ।

कांग्रेसका नेता पूर्ण खडका लगातार लागेका छन एकताका लागि । कांग्रेसको चारतारे झण्डा र चुनाव चिन्ह रुखको आफनै महत्व छ । यी दुबै ‘प्रतीक’ को महत्व यतिबेला झनै बढेकोछ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनको लक्ष र गन्तब्य निर्धारणगर्दै आएको राजनीतिक दल नेपाली कांग्रेस अहिले संकटमा होइन, सकसमा छ । २००७ सालमा राणातन्त्रको अन्त्य र प्रजातन्त्रको प्रारम्भगर्ने नेपाली कांग्रेस २०१५ सालको चुनावमा वहुमत प्राप्त गरेर सत्तामा आएको थियो । बीपी कोइरालाको प्रधानमन्त्रीत्वमा सरकार गठन गरेको थियो ।

तर, राजा महेन्द्रले सरकार बनेको डेढ बर्ष पूरा हुँदा नहुँदै प्रधानमन्त्री बीपी कोइराला र उहाँका मन्त्रीहरुलाई जेलमा कोचेर सत्ता आफनो हातमा लिए । त्यसपछि शुरु भएको निरंकुश राजतन्त्र २०४६ सालसम्म निरन्तर चल्यो ।

२०४६ सालमा गणेशमान सिंहको नेतृत्वमा भएको राष्ट्रिय जन–आन्दोलनको सफलतापछि पहिले कांग्रेसले र त्यसपछि कम्युनिष्ट पार्टीले केन्द्रीय सत्ताको वागडोर सम्हालेको हो । तर, कांग्रेस र कम्युनिष्ट पार्टी पटक–पटक सरकारमा पुगेपनि राजनीतिक विवादको छिनोफानो हुन सकेन । कांग्रेस र कम्युनिष्ट दुबै दलमा शक्ति र सत्ताका लागि नेताहरुका बीचमा ‘रगडा’ चलि नै रह्यो । अहिले पनि त्यही स्थिति छ । एमाले अध्यक्ष खड्गप्रसाद ओलीका बिरुद्ध पार्टी पंक्ति सक्रिय रहेकोछ ।

माओवादी जनयुद्धपछि देश गणतान्त्रिक युगमा प्रवेश गर्यो । तर, परिवर्तनका संवाहक बनेका ठूला दलहरु आपसी रगडाबाट मुक्त हुन सकेनन । देशलाई गणतान्त्रिक युगमा प्रवेश गराउने माओवादी नेतृत्व गणतन्त्र स्थापनापछिको पहिलो सरकार स्थापनागर्न सफल भयो । नेपालको राजनीतिमा यो परिवर्तन युगान्तकारी थियो । तर, माओवादी नेतृत्वले विभिन्न विचारले प्रभावित जनताको बिश्वास अनुरुप शासन चलाउन सकेन । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) पनि राजनीतिक सत्ता स्थीर बनाउन सफल भएनन ।

सवभन्दा पछिल्लो समयमा नेपाली कांग्रेस आन्तरीक दुर्घटनाका कारण क्षतविक्षत हुुन पुगेकोछ । गएको भदौ २३ र २४ गतेको जेनजी विद्रोहको परिणाम स्वरुप नेपाली सेनाका अधिकारीहरुले कांग्रेस–एमाले गठवन्धन सरकारका प्रधानमन्त्री केपी ओलीको टोपी उतारे । कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी पत्नीमाथि सांघातिक हमला भयो । उहाँ र उहाँकी पत्नीलाई उपचारका लागि सैनिक अस्पताल पुर्याउनु पर्यो । सैनिक अस्पतालमा उपचारपछि देउवा दम्पत्ती थप उपचारका लागि विदेश जानु पर्यो ।

यी घटनाक्रमहरुका बीचमा नेपाली कांग्रेसका महासचिव गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको बिशेष अधिवेशनको आयोजना गरेर नेपाली कांग्रेसमा विभाजनको बीउ रोपे । बिशेष अधिवेशनले गगन थापालाई पार्टीको सभापति बनायो । गगन र विश्वको यो राजनीतिक खेलले कांग्रेस विभाजित भयो । संकटको महामारीका बेलामा पार्टीलाई एकतावद्ध र सुदृढ गराउनु आवश्यक थियो । तर, यो विभाजनले पार्टीको हुर्मत लियो ।

चुनावी सरकारको नेतृत्वमा रहेकी प्रधानमन्त्री सुशीला कार्कीले गगन–विश्वको नेतृत्वमा विभाजित भएको कांग्रेसको पक्षमा सर्वोच्च अदालत र निर्वाचन आयोगलाई प्रभावित गरिदिइन । फागुन २१ को चुनावमा पार्टीलाई वहुमत दिलाउने सपना छरेर गगन–विश्वको जोडी चुनावमा उत्रियो । राष्ट्रिय स्वतन्त्र पार्टीलाई वहुमत दिलाउन गगन–विश्वको यो कदम निर्णायक रह्यो ।

चुनाव अघिको बिशेष अधिवेशनको सन्देश अत्यन्त घातक थियो । यो विशेष अधिवेशनले गगन थापाको देवत्वकरण गर्यो । यसले कांग्रेसमा जीवन विताएका पाका नेताहरुलाई पाखा लगाउने काम गर्यो । पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, एन.पी.साउद, प्रकाशशरण महत, रमेश लेखक लगायतका थुप्रै थुपै्र नेताहरुलाई ‘खलनायक’ का रुपमा प्रस्तुत गरियो । विमलेन्द्रकै कुरा गरौं – २०३६ सालमा वीपीले उनलाई नेपाल बिद्यार्थी संघको अध्यक्ष बनाउनु भएको थियो । त्यो पदमा पुग्न लालयित धेरै थिए । तर, बीपीले विमलेन्द्रलाई चुन्नुभयो । उहाँको यो चयनले त्यतिबेला धेरै नेता तथा कार्यकर्ता बीपीको राजनीतिक विवेकबाट उत्साहित तथा प्रभावित थिए ।

विभाजनको नाममा अहिले ज–जसलाई खलनायक बनाउन खोजिएकोछ ती नेतापुत्र मात्र होइनन । ‘कांग्रेस बाबुको छोरा’ भएकै कारण उनीहरु कांग्रेस भएका पनि होइनन । प्रजातान्त्रिक आन्दोलनमा उनीहरुको आफनै योगदान रहेकोछ । राजनीतिमा उनीहरुले सफलता पनि आफनै बलबूतामा पाएका हुन । उनीहरुले असफलताका लागि पनि कसैलाई दोष दिएको अहिलेसम्म सुनिएको छैन ।

जे भएपनि, कांग्रेसको चारतारे झण्डा र रुख कसैको राजनीतिक महत्वाकांक्षाको शिकार हुनुहुँदैन । यसो भयो भने देशका लागि त्यो घातक सावित हुनेछ ।