देउवाको आगमन - रुपान्तरण
 २०८३ श्रावण ३०, शनिबार    

देउवाको आगमन


– रुचि श्रेष्ठ

शेरबहादुर देउवाको आगमन सँगै नेपालको राजनीतिक वृत्तमा एक पटक फेरी तरंग आएको छ ।

साउन २८ गते त्रिभुवन बिमानस्थल देखि चुनदेवी सम्म पूर्व प्रधानमन्त्री देउवाको स्वागत यात्रा, चुनदेवीको बार्दलीबाट उनले गरेको भाषण र हिजो, साउन २९ गते डा.शशांक कोइरालाको सभापतित्वमा सुरु भएको नेपाली कांग्रेसको तीन दिने राष्ट्रिय भेलाले नेपाली संचार माध्यम र सामाजिक संजालहरुलाई ध्रुविक्रित गरिदिएकोछ । युवा र पाका, पुराना र नयाँको दोहोरी एक पटक फेरी सतहमा देखापरेकोछ । यो बहस जति पटक सतहमा आउछ त्यति नै यो कति सतही कुरो हो भन्ने विषयमा नेपालीहरु प्रष्ट हुदै गएकाछन ।

देउवाले : राजा ज्ञानेन्द्रलाई मैले फालेको पनि होइन, मैलै फिर्ता ल्याउछु भनेर राजा फर्कने पनि होइनन । गणतन्त्र नेपाली जनताको उपलब्धि हो, भने जस्तै परिवर्तन ल्याउने त सधै नयाँले नै हो । तर, परिवर्तन र रुपान्तरणको नाममा सत्ताको हस्तान्तरण गरेर शक्ति अक्षुण राख्न चाहने वर्गको स्वर्थमा मौलाएको नयाँ र पुरानाको वर्ग विभाजनको मूल्य राजनीतिक दलहरुले मात्र नभएर सम्पुर्ण नेपाली समाजले नै चुकाउने क्रम सुरु भएको छ ।

देउवा राजनीतिक विचारक र सिद्धान्तकार होइनन । उनले त्यसको दावा पनि कहिल्यै गरेका छैनन । तर, उनी शक्तिको संतुलन बुझ्न सक्ने, बनाउन सक्ने र विपरित परिस्थितिमा पनि नेतृत्व र निकास दिनसक्ने कुशल राजनीतिज्ञ हुन । त्यसैले उनको आगमन रणनीतिक होइन भन्न सकिदैन ।

एकातिर, स्थानीय र प्रदेश निर्वाचनको तयारी सुरु हुनथालेकोछ । अर्कोतिर, नेपाली कांग्रेस पार्टी कै वैधानिकताको मुद्धा अदालतले पुनरावलोकन गर्ने निर्णय लिएको छ । नेपाली कांग्रेसको आन्तरिक व्दन्व्द कै कारण संघीय निर्वाचनमा पार्टीले बेहोर्नु परेको अप्रत्याशित हारको मार त छदैछ । यो जटील परिस्थितिमा देउवाको आगमनले देशमा सकारात्मक परिवर्तनको लागि लोकतन्त्र र संघियता, लोकतन्त्र र संघियताको स्थायित्वको लागि नेपाली कांग्रेसको अपरिहार्यतामा विश्वस्त नेपालीहरुको मनमा आशा पलाउनु स्वाभविक हो ।

नेपाली कांग्रेसमा शेरबहादुर देउवा बाहेक अरु प्रभावशाली नेतृत्व नै नभएको पक्कै होइन । लोकतन्त्र, पार्टी र राष्ट्रप्रति उनीहरुको क्षमता, निष्ठा र नेतृत्व नेपाली जनताका बीच प्रमाणित नभएको पनि होइन । तर, २०८२ भदौ २४ गते देउवा माथि भएको सांघातिक आक्रमण एक व्यक्ति र उनको पत्नीमाथि भएको भौतिक आक्रमण मात्र थिएन । त्यो नेपाली कांग्रेसको सभापतिको आत्मसम्मान माथि भएको आक्रमण थियो । लोकतन्त्रमा आत्मसम्मान र मर्यादा सर्वोपरी हुन्छ, र एउटा व्यक्तिको आत्मसम्मान उसको राष्ट्रको सम्मान सँग जोडिएको हुन्छ । आत्मसम्मान र मर्यादा माथि आउने अक्रमणको बिरुद्ध लड्नु लोकतन्त्रका योद्धहरुको जीवनमूल्य हो ।

शेरबहादुर देउवाको आगमन यही जीवनमूल्यको पुर्नस्थापन हो ।