बिपत्तिको चौथो दिन - रुपान्तरण
 २०८३ भाद्र १४, आईतबार    

बिपत्तिको चौथो दिन


– रुपान्तरण विशेष

त्यसो त, संसारभरि नै सामाजिक संजालले मूलधारका भनिने समाचारपत्र, रेडियो र टेलिभिजनलाई असान्दर्भिक बनाइ सकेकाछन । तर, सामाजिक सन्जालको आधिकारिकता र बिश्वसनीयता प्रमाणित भै सकेको छैन । निश्चय पनि, यो पटक सामाजिक संजालका प्रयोगकर्ताहरु भोटेकोशी नदीको विनास लीलाले केरुंगदेखि चितवनसम्म पारेको डरलाग्दो असरको चित्रणगर्न सफल भएका छन । सामाजिक संजालका प्रयोगकर्ताले सरकारको सूचना प्रविधिलाई एकहदसम्म चुनौति दिएका छन । सरकारले यो भीषण प्राकृतिक प्रकोपको सग्लो विवरण दिन सकेको छैन ।

कति जन र कति धनको क्षति भयो ? अनुमान हुन सकेको छैन ।

हाम्रा स्वनामधन्य प्रधानमन्त्री वालेन्द्र साह विपद्को खवरलिन नुवाकोटको सदरमुकाम विदूरसम्म पुग्नुभयो । यसका लागि उहाँलाई धन्यवाद दिनै पर्दछ । त्यहाँबाट फर्किएपछि भदौ १२ गते शुक्रवार उहाँले आफनो प्रिय सामाजिक संजाल फेसबुक मार्फत ‘देश कठिन घडीमा रहेको’ उल्लेखगर्दै ‘वाढी प्रभावित प्रत्येक नागरिकमा सरकारपुग्ने’ प्रतिवद्धता ब्यक्त गर्नुभयो । उहाँको भनाइ थियो : यस कठिन घडीमा विपदबाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य छ, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ ।

प्रधानमन्त्री तथा उहाँका मन्त्रीहरुको बैठकमा सबैले आफनो एक महिनाको तलव ‘उद्धार कोष’मा जम्मागर्ने निर्णय गरे । प्रभावित क्षेत्रमा ‘सहुलियत’ र ‘पुनस्र्थापना’ प्याकेज घोषणा गरिने भयो । प्रधानमन्त्री वालेनले पाकिस्तानी प्रधानमन्त्री शहवाज शरीफलाई टेलिफोन गर्नु भयो । पाकिस्तान बाढी पीडितलाई मद्दतगर्न तयार हुनेभयो । अष्ट्रेलियाका विदेशमन्त्रीले नेपाललाई मद्दतगर्ने प्रतिवद्धता जनाए । राज्यका तीनवटै सुरक्षा निकायका तेह्रहजार भन्दा बढी सुरक्षाकर्मी बाढी प्रभावित क्षेत्रमा निरन्तर खोजी, उद्धार र राहत कार्यमा सक्रिय हुने भए ।

सरकारका अनुसार : अवरुद्ध अवस्थामा रहेको रसुवा सडक सन्जालमा जोडियो । पृथ्वी राजमार्ग सन्चालनमा आयो ।

तर, वालेन सरकारको मित्र शक्तिका रुपमा देखिदै आएको एउटा समाचारपत्रले मुख्य समाचारको शीर्षकमा लेख्यो : तेस्रो दिन पनि उद्धारकै पर्खाइ ।
उसले विवरण दियो – शुक्रवार रातिसम्म ५७९ जनाको शव फेला पर्यो । १९२४ सम्पर्कमा आउन सकेनन । तीनदिनमा ४४५१ जनाको उद्धार गरियो ।