तपाईहरुले बिद्रोहगर्न पाउनुभयो, यही हो पैतिस वर्षको उपलब्धि - रुपान्तरण
 २०८३ भाद्र १५, सोमबार    

तपाईहरुले बिद्रोहगर्न पाउनुभयो, यही हो पैतिस वर्षको उपलब्धि


हृदयेश त्रिपाठीसंग रुचि श्रेष्ठको वार्ता

तपाईसंग निर्दलीय पंचायती राजनीतिको पनि अनुभव छ । संसदीय राजनीतिमा पनि तपाईं निकै सक्रिय हुनुहुन्थ्यो । संसदीय राजनीतिका विरुद्ध परिवर्तनको खोजीगर्दै आएका माओवादी राजनीतिको पनि राम्रो अनुभव छ । अहिले युवाहरुले सडक बिद्रोह गरेपछि प्रारम्भ भएको राजनीति पनि हेरिरहनु भएको छ । यी परिवर्तनहरुलाई तपाईले कसरी हेरिरहनु भएको छ ? देशको राजनीति कुन दिशामा गइरहेकोछ ?

पंचायतकालको अन्त्यपछि आएको संवैधानिक राजतन्त्र तथा बहुदलीय प्रजातान्त्रिक ब्यवस्था र माओवादी संसदमा आएपछिको गणतान्त्रिक ब्यबस्था राजनीतिक संक्रमणकालको अवधि थियो । यसले संक्रमणकालीन समयमा पनि राजनीतिक समस्याको समाधान हुने रहेछ भन्ने देखियो । गएको केही वर्षदेखि मलाई लाग्न थालेको छ : हाम्रो नेपाली समाज नै संक्रमणकालबाट गुज्रिरहेको छ । यो यात्रा लामो र पीडादायक हुन्छ । राजनीतिको संक्रमणले समाजका समस्याहरुको समाधान दिन्छ भनेर बुझ्नु नै गलत रहेछ । हाम्रो देशका जनताको मनोदशा हेर्नुस । पुराना मूल्य र मान्यताहरु विस्थापित भएका छैनन र नयाँ स्थापित हुन पाएको छैन । यस्तो संक्रमणकाल भयावह र पीडादायी हुने रहेछ ।

हामीकहाँ संक्रमणकालबाट पार लगाउने राजनीतिक शक्तिहरु शिथिल र सत्ताकेन्द्रीत भए । अचेल म देख्छु, विशेषगरी मधेशका युवाहरुमा लागुपदार्थ दुव्र्यसन बढ्दै गइरहेको छ । “इजी–मनी”को नाममा विद्यालयजाने उमेरका युवाहरुले तस्करी गरिरहेका देखिन्छन । आमाबुवा र छोराछोरी बीचको अन्तरविरोध हिंस्रक बन्दै गइरहेको छ । तन्नेरी युवाहरु सानोतिनो झगडा मै आत्महत्यागर्छु भन्ने र घर छोडेर हिडिदिने गर्न थालेका छन । यस्तो पहिले थिएन । अहिले सामाजिक मूल्य पद्धतिमा नै संकट आएकोछ । पुस्तान्तरण विकृतरुपले भइरहेको छ ।

परिवर्तनको नेतृत्वगर्ने ठाउँमा तपाईहरु नै हुनुहुन्थ्यो । परिवर्तन प्रभावकारी हुन नसक्नु र यस्तो मानसिकताको निर्माण हुनुमा तपाईहरुको पनि भूमिका छ नि । होइन र ?

हामीले संसदीय व्यवस्था त बनायौ । तर, २०४८ सालदेखि संसदमा मैले दखेको छु ः नेपाली कांग्रेस र केही मधेशवादी दलहरु बाहेक, नेपालका कम्युनिष्टहरुले संसदीय प्रणालीलाई राजनीतिक रणनीतिका रुपमा प्रयोग गरे । जुन व्यवस्थामा कम्युनिष्ट साथीहरु समाहित भए, त्यसबाट उनीहरुले प्रसस्त लाभ लिए । उनीहरुमा व्यवस्थाप्रति ममत्व देखिएन । यो प्रवृत्ति संसदीय व्यवस्थाको प्रभावकारी अभ्यासको लागि बाधक बन्यो ।

२०४६ को जनआन्दोलन अघि गणेशमान सिंह, मनमोहन अधिकारी र मदन भण्डारीका बीचमा भएको सहमतिले जनआन्दोलन सफल बनाएको थियो । जन–आन्दोलनले संवैधानिक ब्यबस्थाको पुनस्र्थापना गर्यो । कुरा कसरी र कहाँ बिग्रियो त ?

त्यसपछि माओवादीहरु आए । उनीहरुले भने, “यो संसदीय व्यवस्थाले समाधान दिदैन, हामी समाजवाद र साम्यवादका लागि लड्दैछौ ।” एकातिर उनीहरु संसदीय व्यवस्थामा समाहित भएर रमाए पनि । उनीहरुले व्यवस्थालाई आधा मनले स्वीकार गरेका थिए । यसले गर्दा पहिलेको संसदीय र पछिल्लो संघीय व्यवस्थाप्रति एक किसिमको व्दैध ‘न्यारेटिभ’ तयार भयो ।

त्यो समयमा लोकतन्त्र, संसदीय र संघीय व्यवस्थाकोे विकास नै नभएको होइन । तर, राजनीतिक नेतृत्वमा एकले अर्काको आलोचना गर्दागर्दै व्दैध ‘न्यारेटिभ’ बन्दो रहेछ । अध्ययनले देखाएको छ, लोकतन्त्रमा राजनीतिक दलहरुकै कारण दलको लोकप्रियता ह्रास हुने रहेछ । आफु सत्तामा नरहदा सामयिक बिषयहरुमा गरेको ब्याख्या र आलोचना मानिसको मस्तिष्कमा रहिरहन्छ । गत बर्ष भदौ २३ मा भएको जेनजी आन्दोलनले जनताको मनमा त्यस्तै विकर्षणहरुको भाष्य फैलाएकोछ । त्यो भाष्य बलियो छ । राम्रा कामहरु केही नहेरी ‘३५ वर्ष राज्य दोहन गरे’ भन्ने भाष्य तयार गरियो । त्यो अहिले तुरुन्तै हट्नेवाला छैन । राजनीतिक नेतृत्वले पार्टीमा नयाँ पुस्तालाई नेतृत्वमा आउने अवसर नदिने विसंगति यथावत छ । त्यसले यो भाष्यलाई झन घनिभूत बनाएको छ ।

जेनजी बिद्रोह जसरी अप्रत्याशितरुपले सडकमा आयो, त्यसमा तपाईहरुजस्ता जिम्मेवार नेताहरु कोही पनि सचेत भएको देखिएन नि ?

बिद्रोह यो स्केलमा हुन्छ भन्ने त थाह थिएन । तर, समाजमा, विशेष गरी युवाहरुमा, एक प्रकारको असन्तुष्टि बढ्दैछ भन्ने त थाहा थियो । केपी ओली पटक्कै सुन्न तयार हुनुहुन्थेन । मैले भदौ २२ गते आफनो गाउँबाट वहाँसँग फोनमा भनेको थिए, “युवामा वितृष्णा बढ्दै गइरहेको छ । राजनीतिक नेतृत्व प्रति घृणा बढ्दैछ । सोसल मिडियामाथिको प्रतिबन्ध तपाइले तुरुन्त खोल्नुपर्छ ।”

जवाफमा उहाँले भन्नुभयो, “तपाई चुनाव हारे देखि यस्तै–यस्तै उट्पट्यागं  र नकारात्मक कुरागर्न थाल्नु भएकोछ हृदयेशजी ।”

मैले शेरबहादुरजीलाई पनि सरकारबाट समर्थन फिर्ता लिनुस् र ओलीजीलाई सम्झाउनुस भनेको थिएँ । वहाँले म बालुवाटार नै जादैछु भन्नुभएको थियो । मलाई लाग्छ, ओलीजीले भन्दा शेरबहादुरजीले स्थितिको संवेदनशीलता बढी बुझ्नु भएको थियो । गृहमन्त्री रमेश लेखकले राजिनामा त दिए । तर त्यतिबेला सम्म स्थिति नियन्त्रणबाट बाहिर गइसकेको थियो । कांग्रेसले समयमा सरकारबाट सर्मथन फिर्ता लिइदिएको भए परिस्थिति यो हद सम्म बिग्रिन पाउने थिएन ।

केपी ओलीको त्यसबेलाको मानसिकताको व्याख्या कसरी गर्नु हुन्छ ?

अति घमण्ड ।

दक्षिण एशियाली राजनीतिमा पछिल्लो समयका घटनाक्रमहरुमा देखिएको बिदेशी शक्तिहरुको संलग्नता र असंलग्नताका गतिविधिहरुबाट नेपालमा पनि लाक्षणिक प्रभाव पार्नसक्छ भन्ने विषयको बारेमा तपाईहरुको ध्यान गएको थिएन ?

श्रीलंकामा यस्तै किसिमको बिद्रोहबाट बामपन्थी नेतृत्व अगाडी आयो र स्थापित भयो । बंगलादेशमा परिस्थिति मात्र बिग्रियो । राजनीतिक शक्तिहरु शासनमा स्थापित हुन सकेनन । नेपालमा ‘जेनजी’ परिवर्तनपछि दक्षिणपन्थी र अनुदारवादी शक्तिहरुको फूर्ती निकै बढेको र उनीहरु सत्तामा हावी भइरहेको देखिन्छ ।

एक पटक भारतका प्रधानमन्त्री अटलबिहारी बाजपेयीसँगको भेटमा वहाँले भन्नुभएको थियो, “हामी दक्षिण एशियाली राजनीतिज्ञहरुको एउटा दोष छ । हामी आफ्नो कर्मको नभएर बिपक्षीको दुष्कर्मको लाभ उठाउन चाहन्छौं । बिपक्षीले कुनबेला गल्ती गर्छ भनेर हामी पर्खिरहन्छौं ।”

मलाई अहिले उहाँका ती कथनहरुको सम्झना भै रहेकोछ । पुराना दलहरुमा म त्यही प्रवृत्ति देखिरहेको छु । ‘दुई–चार महिना पर्खनुस् न । यिनीहरु ठेगान लागि हाल्छन् नि’ भन्ने मिथ्या भाष्य जपेर बसेका छन साथीहरु । तर, मलाई यो कुरा गलत लाग्दछ । अहिलेको समय पालो पर्खेर बस्ने होइन । अहिले त एजेण्डाहरु नै परिवर्तित भइसकेका छन । पुरानाहरु त “टेस्टेड” हुन । नयाँले सिक्दै गल्ती गर्छ र सुधार्छ । नयाँ पुस्ता आउनुपर्छ भन्छन जनताहरु । जब “परसेप्सन” यथार्थमा परिणत हुन्छ, त्यो बडो खतरनाक हुन्छ । अहिले हामी त्यही अवस्थामा छौं ।

मधेशको राजनीतिको कुरा गर्ने हो भने त्यहाँ संवेदनशील ‘अप्ठ्याराहरु’ छन । प्रदेश बनिसकेपछि यसको भूगोल पनि ५–६ टुक्रामा विभाजित भएकोछ । अर्को सबै भन्दा डरलाग्दो कुरा, राजनीतिक नेतृत्वले आफ्नो सुविधा अनुसार मधेशी समुदायलाई जात–जातमा विभाजित गरिदिएकाछन । भर्खरै मधेशमा धार्मिक व्दन्व्द हुन खोजेको त तपाईहरुलाई पनि थाहा नै छ ।

मधेशमा जातीय विभेद त पहिले देखि नै थियो । नेतृत्वले त्यसको राजनीतिकरण गरे । तर, मधेशमा धार्मिक व्दन्व्द तपाईलाई अप्राकृतिक लाग्दैन ?

सही हो । प्रहरीको गोलीले मानिस मरेका छन । तर, त्यसलाई हिन्दु–मुस्लिम व्दन्व्दको जामा पहिराइएकोछ ।

अहिले कै आइजीपीले केही समय अघि ‘अलार्मिगं’ किसिमले भन्नुभएको थियो ः नेपाली मुस्लिम–हिन्दूमा सौहाद्र्रता छ । तर, हामी कहाँ बंगलादेशी रोहिंग्या आउने क्रम बढेकोछ । अहिले मधेशमा धर्मको विषय अति संवेदनशील छ । यसलाई बेलैमा व्यवस्थित गर्नु पर्दछ । नत्र, यसले गलत दिशा लिन सक्दछ ।

यो ‘सामाजिक’ होइन, राज्यको समस्या हो । सुनसरीको घटनामा राज्यका निकायहरु निष्क्रिय भइदिए ।

नेपालको राजनीतिक इतिहासमा यति खुलारुपले षडयन्त्रकारी घटनाहरु भएको देखिदैन । अहिलेका गतिविधिहरुलाई कसरी हेर्नुभएको छ ?

अहिले वैश्विक राजनीति र रणनीतिमा एक प्रकारको प्रतिस्पद्र्धा चलिरहेको छ । हामीले चाहेपनि, नचाहेपनि ती वैश्विक शक्तिहरुको प्रतिस्पद्र्धा चलि नै रहने देखिन्छ । नेपालमा १२ बुँदे सहमति नहुन्जेलसम्म हिन्दुस्तानको जुन सक्रियता थियो, त्यो अहिले निष्क्रिय देखिएको छ ।

मैले यहाँ एउटा भन्नैपर्ने कुरो छ : राष्ट्रियता र देशभक्ति अलग अलग विचार हुन । हामी कहाँ असंख्य राष्ट्रवादी छन । तर, देशभक्त कम छन । व्दितिय विश्वयुद्धमा हिटलरले राष्ट्रवादको नारा लगाएर युद्ध गर्यो भने सोभियत रुस देशप्रेमको नारा बोकेर युद्धमा होमियो । राष्ट्रवादमा एउटा अमुक शत्रुको आवश्यकता पर्छ । जसरी पनि त्यो शत्रु तयार पारिन्छ । देशभक्तिले त्याग र बलिदान खोज्छ । अहिले आएर सबै ‘एक्सपोज’ भइरहेको अवस्थाछ ।

नेपालको राजनीतिमा अहिले पुराना राजनीतिक दलहरु र नयाँ सत्ताधारीको बीचमा संवादहीनताको स्थितिछ । नयाँले पुरानालाई देखाएर आफ्नो औचित्य पुष्टि मात्र गरिरहेका छन । त्यसलाई ब्रेकगर्न एउटा “सेन्ट्रिस्ट फोर्स” अति आवश्यक छ । त्यो सेट्रिस्ट फोर्स कुनै राजनीतिक दल हुनुपर्छ भन्ने छैन । दमन ढुंगाना, डा.देवेन्द्रराज पाण्डे, पद्मरत्न तुलाधरहरु रहुन्जेल सम्म नागरिक समाजको भूमिका सशक्त र प्रभावकारी थियो । अहिले निष्पक्ष र तटस्थरुपले बोलिदिने पनि कोही भएनन । हामी अहिले त्यो सेन्ट्रिस्ट फोर्स बनाउने तयारीमा छौ ।

त्यसो भए तपाई राजनीति छोड्ने तयारीमा हुनुहुन्छ ?

पदीय राजनीति छोड्ने हो ।

बेलायत, अमेरिका अथवा भारतकै संसद हेर्नुस । सबैतिर युवाहरु छन । तर, राजनीतिक निर्णयहरुमा परिपक्व व्यक्तित्व ‘प्रधान’ हुन्छ ।

स्थिति बिग्रदै गयो भने मलाई लाग्छ, अन्तिम प्रहार अहिलेको हाम्रो संविधानमा हुनेछ ।

सत्तामा सेना सक्रिय हुने संभावना कति देख्नु भएको छ ?

त्यो संभव छैन । सेना सक्रिय भईहाले पनि छ महिना टिक्न पनि मुश्किल हुन्छ ।

अहिले कांग्रेसका नेता शेरबहादुर देउवासँग पनि तपाईको कुरा भइरहेको होला नि ?

मैले चिनेको शेरबहादुर देउवा कांग्रेस टुक्र्याएको कलंकको भारी बोक्न चाहनुहुन्न । मलाई पुरा विश्वास छ, वहाँले नेपाली काँग्रेसलाई एक जुट गराएरै छोड्नुहुन्छ ।

निष्कर्षमा के भन्नुहुन्छ ?

हामीसंग मानिसहरु सोध्ने गर्दछन : तिमीहरुले ३५ वर्षमा के गर्यौ । हाम्रो जवाफ छ : तपाईहरुले बिद्रोहगर्न पाउनुभयो, यही हो पैतिस वर्षको उपलब्धि । हामीले बिभिन्न चरणमा संघर्ष नगरेको भए आज हाम्रो देशमा लोकतन्त्र, संघीयता र गणतन्त्र हुदैन थियो । अवस्था त्यति सकारात्मक भइसकेको छैन । पुराना दलका नेताहरु विस्थापनको क्रममा छन । नयाँ नेताहरु स्थापित भइ सकेका छैनन ।