गिरिजाप्रसाद कोइराला फाउन्डेसनको अध्यक्षमा डा. सुनील शर्मा - रुपान्तरण
 २०८३ आश्विन ८, बिहीबार    

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको अध्यक्षमा डा. सुनील शर्मा


काठमाडौं — गिरिजाप्रसाद कोइराला फाउन्डेशनको अध्यक्षको जिम्मेवारी नेपाली कांग्रेसका नेता तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा.सुनीलकुमार शर्माले सम्हालेका छन् । नेतृत्व सम्हाल्दै डा.शर्माले गिरिजाप्रसाद कोइरालासँग आफ्नो राजनीतिक र व्यवसायिक जीवनको गहिरो सम्बन्ध रहेको बताउनु भयो । उहाँले राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि सुजाता कोइरालालाई भारत हुँदै अमेरिका र अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याएर नेपालको प्रजातन्त्र पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने अभियानमा आफू जोडिएको सुनाए । त्यतिबेला नजरबन्दमा रहेका गिरिजाप्रसाद कोइरालालाई कसरी बाहिर निकाल्ने भन्ने विषयमा समेत अन्तर्राष्ट्रिय तहमा पहल भएको उनले स्मरण गरे ।

‘गिरिजाप्रसाद कोइराला नभएको भए डा.सुनील शर्माको मेडिकल विरासत खडा हुने थिएन,’ शर्माले भने, ‘गिरिजाबाबुले निःस्वार्थ रूपमा नोबेल मेडिकल कलेजको सम्बन्धन दिलाइ दिनुभएको हो । त्यसकै आधारमा काठमाडौं मेडिकल कलेजसम्म आइपुगियो ।’

डा.शर्माले गिरिजाप्रसाद आफ्नो ‘अर्को बुवा’ भएको उल्लेख गरे । ‘आज बुवाको मुख हेर्ने दिन भएकाले बिहानै जैविक बुवाको हातबाट टीका लगाएर आएको हुँ । मेरा बायोलोजिकल बुबा–आमाले मलाई यहाँसम्म ल्याउनुभयो । तर, व्यावसायिक संस्थालाई कर्पोरेट हाउसका रूपमा विकास गर्न गिरिजाबाबुले दिनुभएको आशीर्वादले मलाई यहाँसम्म ल्यायो ।’

डा.शर्माले भने, ‘सुजाता दिदीले आज मलाई यो जिम्मेवारी हस्तान्तरण गर्नुभएकोछ । यसरी हेर्दा म पनि गिरिजाबाबुको अंशियार भएँ । उहाँको विरासत छोरीले मलाई हस्तान्तरण गर्नुभएको छ ।’
अध्यक्षको जिम्मेवारी सम्हालेपछि डा.शर्माले फाउन्डेशनमार्फत सामाजिक सेवाका कार्यक्रम अघि बढाउने घोषणा गरे ।

डा.शर्माले पार्टी र सत्तामा अन्याय बढे नयाँ पुस्ताले त्यसविरुद्ध विद्रोह गर्नुपर्ने गिरिजाप्रसादको विचारलाई आत्मसातगर्दै कांग्रेसलाई नयाँ र उज्यालो दिशामा अघि बढाउनुपर्ने बताए । साथै उनले गिरिजाप्रसादको लोकतान्त्रिक विरासतलाई फाउन्डेसनका गतिविधिमार्फत निरन्तरता दिने प्रतिबद्धता जनाए ।

फाउन्डेसनको नेतृत्व हस्तान्तरणगर्दै सुजाता कोइरालाले १६ वर्ष फाउन्डेसनको नेतृत्व गरेपछि अब आफू जिम्मेवारीबाट अलग हुन लागेको बताइन । ‘१६ वर्ष फाउन्डेसन चलाएँ । यस अवधिमा धेरै राम्रा कार्यक्रम भए । संस्थालाई जोगाउन र अघि बढाउन सहयोगगर्ने सबै साथीभाइलाई धन्यवाद,’ उनले भनिन् ।

शर्मालाई नै नेतृत्व सुम्पिनुको कारणबारे सुजाताले गिरिजाप्रसादसँग उनको निकट सम्बन्ध र शान्ति प्रक्रियामा उनले पु¥याएको योगदान मुख्य आधारका रूपमा रहेको बताइन । ‘सुनील भाइ गिरिजाबाबुका अत्यन्त नजिक हुनुहुन्थ्यो । शान्ति प्रक्रिया अघि बढाउन उहाँले ठूलो मद्दत गर्नुभएको थियो । त्यतिबेला पत्रकार कृष्ण सेनमार्फत सुनीलजीले गिरिजा बाबु र प्रचण्डजीको भेट गराउनु भएको थियो’ उनले भनिन । राजा ज्ञानेन्द्रले सत्ता लिएपछिका आफ्ना र डा.शर्माका अनुभव पनि उनले कार्यक्रममा सुनाएकी थिइन् । ‘सुनील शर्मालाई फाउन्डेसन हस्तान्तरणगर्दा मलाई एकदमै गौरव लागेको छ । उहाँका सामाजिक कामले पार्टीलाई पनि धेरै सहयोग पुगेको छ,’ उनले भनिन् ।

कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाले गिरिजाप्रसाद कोइरालालाई आफ्नो पुस्तासहित अहिले कांग्रेसको नेतृत्वमा रहेका धेरै नेताको राजनीतिक गुरुका रूपमा स्मरण गरे । २०४६ सालको पुस्ताका आफूहरू गिरिजाप्रसादकै राजनीतिक संस्कारबाट हुर्किएको उल्लेख गर्दै उनले भने, ‘हामी सबै गिरिजाप्रसादका कार्यकर्ता हौं । जीवनका महत्वपूर्ण राजनीतिक पात्रका बारेमा चर्चा गर्दा गिरिजाप्रसादकै नाम आउँछ ।’