सरकार सत्ताको झिनाझपटमै अल्झियो, कोरोना नियन्त्रणमा असक्षम - रुपान्तरण
 २०८१ जेठ ६, आईतबार    

सरकार सत्ताको झिनाझपटमै अल्झियो, कोरोना नियन्त्रणमा असक्षम


काठमाडौं । नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (एमाले)नेतृत्वको सरकार कोरोना महामारीको दोस्रो लहरसंगै मानवीय जीवनको रक्षा गर्न असक्षम रहेको आरोप लगाएको छ ।

संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले विहीबार विज्ञप्ति जारी गर्दै सरकार महामारी विरुद्धको लडाइलाई प्रभावकारी वनाउनुको साटो सत्ताको झिनाझपटमै अलमलिएको आरोप लगाएका हुन् ।

कोभिड १९ महामारीका नियन्त्रण गर्न लगाइएको लकडाउनको कारण सम्पूर्ण व्यापार ,व्यवसाय वन्दको अवस्थामा रहेको उल्लेख गर्दै लकडाउनका कारण रोजगार गुमाएको आम नागरिक, श्रमिक र साना व्यवसायीहरुले भोग्नुपरेको पिडालाई मध्यनजर गर्दै आवश्यक राहतको प्याकेज यथाशीघ्र ल्याउन पनि कांग्रेसले माग गरेको छ ।

साथै संकटको यसवेला महामारी विरुद्ध एकवद्ध भै लड्न कांग्रेसका सबै तह र तप्काका कार्यकर्ताहरुलाई संक्रमितहरुको पहिचान, उपचार र व्यवस्थापनमा खटिन पनि कांग्रेसले आब्हान गरेको छ ।

पीसीआर परिक्षण गरिएका करिव ४७ प्रतिशतमा कोरोनाको सक्रमण पुष्टि भएको पाइएबाट महामारीको असर व्यापक र सघन हुने भन्दै कांग्रेसले
यसको रोकथाम र नियन्त्रण गर्न आवश्यक कदम चाल्नुको साटो विद्यमान स्वास्थ्य प्रणालीले कोराना नियन्त्रण गर्न नसक्ने औपचारिक घोषणा गरि जनतामा ढाडस होइन सन्त्रास फैलाउन र आफ्नो जिम्मेवारीबाट सरकार भाग्ने प्रयास गरेको कांग्रेसको भनाइ छ ।

वढदो संक्रमण नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरि आईसोलेसन केन्द्र, क्वारेन्टाइन र होल्डिङ्ग सेन्टरको निर्माण गर्न सरकार असफल भएको, आवश्यक अस्पताल वेड, आइसीयू वेड, भेन्टिलेटर लगायतका स्वास्थ्य पुर्वाधार, अक्सिजन र अत्यावश्यक स्वास्थ्य सामाग्रीको जोहो गर्न समेत सरकार असफल भएको कांग्रेसले गम्भीर आरोप लगाएको छ । महामारीको मौका छोपेर वजारमा आवश्यक बस्तुहरूको अभाव शृजना गरि मूल्य बृद्धि र कालाबजारी गर्ने कार्यलाई रोक्न सरकारले आवश्यक पहल कदमी लिन नसकेको पनि कांग्रेसको निष्कर्ष छ ।

सरकारले भारतसँग सीमा जोडिएका नाकामा हेल्थ डेस्क स्थापना गरि कोरोनाको एन्टीजेन परीक्षण गर्ने गरेको दावी गरेपनि नेपाल प्रवेश गर्नेहरुमध्ये शंकास्पद व्यक्तिको मात्र एन्टीजेन परिक्षण गर्ने, होडिङ सेन्टरमा राख्दै नराखी सम्बन्धित ठाउँमा पुर्याउने कार्यवाट देशको कुनाकुना कोरानाको संक्रमण फैलिएको कांग्रेसको भनाइ छ ।

२०७६ सालको पुस महिनामा नै शुरू भएको महामारीले व्यापक रूपमा जनधनमा पुर्याएको क्षति र मुलुकको अर्थतन्त्रमा पारेको नकारात्मक असरलाई सरकार नजरअन्दाज गरेको, पार्टीको आन्तरिक द्धन्द्धलाई मात्र महत्व दिएर विभिन्न स्थानहरूमा आमसभा, भेला गर्ने , शिलान्यास र उद्घाटनको नाममा प्रधानमन्त्री आफैं भीड जम्मा गर्न उद्धत रहेको कारण पनि कोराना संक्रमण वढाउन सरकार आफै जिम्मेवार रहेको कांग्रेसको ठहर छ ।

यस्तो अवस्थामा स्वास्थ्य पुर्वाधार र स्वास्थ्य सामग्रीको अभावमा भोग्नुपरेको कठिनाइलाई ख्याल गर्दै सबै प्रकारका सार्वजनिक र सामूदायिक स्थल, सभाहल, रंगशालालाई क्वारेन्टाइन, आइसोलेसन केन्द्र र होडिङ्ग सेन्टरको रुपमा उपयोग गर्ने कार्यमा अगुवाइ गर्न तथा आवश्यकता अनुसार पार्टीकै संरचनालाई समेत सो कार्यको प्रयोजनका लागि उपयोग गर्न आवश्यक पहलकदमी गर्न कांग्रेसले आग्रह गरेको छ ।