ओलीविरुद्ध नेपालको दौडधुप - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

ओलीविरुद्ध नेपालको दौडधुप


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यही बैशाख २७ गतेका लागि प्रतिनिधि सभाको विशेष अधिवेशन आब्हान गरेपछि नेपाली राजनीति थप गर्माएको छ ।
विश्वासको मत माग्दै प्रधानमन्त्री केपी शर्मा ओली नेताहरुको घरदैलो पुगिरहेका बेला पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलपछि सिधै राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।

विहीबार साँझ देउवासँग उनको निवासमा एक घण्टाको छलफलपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेपाल शीतल निवास गए । नेपाल पक्षले सांसदको सामुहिक राजीनामाको तयारी भइरहेको बेला उनी राष्ट्रपति भेट्न जानुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीसँग भेट गरेका थिए । बुधबार मात्र ओलीले आफ्ना विश्वासपात्रहरूसँग शेरबहादुर देउवालाई भेटेका थिए ।

नेता नेपाल जसरी पनि ओलीलाई असफल बनाउने अभिप्रायमा रहेकाले दौडधुप र छलफलको क्रमलाई तीब्र बनाएका हुन् । एमालेभित्रको आन्तरिक विवादका कारण प्रधानमन्त्री ओली अप्ठ्यारोमा छन् । यही मौकामा ३० जनाभन्दा बढि सांसद आफ्नो पक्षमा राखेका नेपाल जसरी पनि ओलीलाई असफल बनाउने प्रयासमा छन् । बैशाख २७ गतेभन्दा अघि नै सामूहिक राजीनामा दिए वा फ्लोर क्रस गर्ने भन्नेमा नेपाल पक्ष छलफलमा छ ।

ओली विश्वासको मत लिएर वा नलिएर भएपनि पुनः आफैं प्रधानमन्त्री बन्ने रेसमा रहेका बेला नेपाल पक्ष ओलीको त्यो रणनीति विफल बनाउने प्रयासमा छन् । नेपाल ‘गर या मर’ को लडाईंमा प्रस्तुत भइसकेका छन् । कर्णाली र लुम्बिनी प्रदेशमा नेपाल पक्षले त्यसको छनक दिइसकेको छ । तर यता बैशाख २७ अघि ओली नेपालसँग निर्णायक वार्ता गर्ने मुडमा रहेको बुझिएको छ । ओलीले पार्टी एकता कायम राख्नको लागि अधिकतम नाटकीय प्रयास गरिरहेका छन् । तर नेपाल पक्षले पार्टी एकता कायम राख्नको लागि २०७५ जेठ २ गते फर्किनुपर्ने बटमलाइन अघि सारेको छ ।