लचक हुन नेता नेपाल तयार तर बटमलाइन पुरानै - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

लचक हुन नेता नेपाल तयार तर बटमलाइन पुरानै


काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षसँग अहिलेसम्म कुनै सहमति नभएको प्रष्ट पारेका छन् । नेता नेपालले शुक्रबार विहान सामाजिक संजालमार्फत सुदृढ र एकतावद्ध एमाले बनाउन वार्ता र लचकता दुवै अपनाउने पनि जनाएका छन् ।

उनले लेखेका छन्, ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन ।’

त्यस्तै नेता नेपालले २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्ने अडान कायम राखेका छन् । उनले अगाडि लेखेका छन्–‘ २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।’

विहीबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग भेटेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका नेता नेपालले एकताका लागि ओलीसँग सहमति नजिक पुगेको समाचारहरु बाहिरिएपछि सामाजिक संजालमार्फत स्पष्ट पार्न खोजेको बुझिएको छ । एमालेको आन्तरिक विवाद व्यवस्थापनमा राष्ट्रपति भण्डारीले बिहीबार मध्यरातिसम्म प्रधानमन्त्री ओली र नेपालबीच छलफल गराएर पार्टी विवादलाई सहमति उन्मुख गराएको खबर बाहिरिएको थियो ।