राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि तीन जनाको भिडन्त - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि तीन जनाको भिडन्त


काठमाडौं । आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादल, डा.खिमलाल देवकोटा र कृष्णबहादुर तामाङले राष्ट्रियसभा सदस्य उपनिर्वाचन निर्वाचन अधिकृतको कार्यालय, हेटौंडामा उम्मेदवारीपत्र मनोनयन दर्ता गराएका हुन् ।

गृहमन्त्री बादलले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट, देवकोटाले नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट र तामाङले नेपाल मजदूर किसान पार्टी (नेमकिपा) को तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

अग्नि खरेललाई साथ लिएर सिम्रिक एयरको हेलिकप्टर चढेर हेटौंडा उत्रिएका गृहमन्त्री बादलले पनि मनोनयन दर्ता गरेका थिए । बादलको प्रस्तावक वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल छन् भने समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत बसेकी छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले बैठकले बादललाई उम्मेदबार बनाउने निर्णय गरेको थियो । मनोनयन दर्तापछि बादलले राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आफूले जित्ने बताएका छन् ।

यता, देवकोटालाई नेकपा (एमाले) को माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षको समेत समर्थनसहित साझा उम्मेदवारका रुपमा अघि सारिएको छ । देवकोटाको मनोनयन गराउन बागमती प्रदेश सभाको प्रमुख विपक्षी दलका नेता शालिकराम जम्कट्टेल, नेपाली काँग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ र तामाङको उम्मेदवारी दर्ताका लागि बागमती प्रदेश सभाका प्रदेश सभा सदस्य सिर्जना सैजुलगायतका नेमकिपाका नेताहरुको पुगेका थिए ।

रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि ३४८ जना मतदाता छन् । बागमती प्रदेशको प्रदेश सभा सदस्य ११० जना र ११९ स्थानीय तहका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख सहित २३८ जना गरी ३४८ मतादाता रहने निर्वाचन कार्यालयले जनाएको छ ।