दीप बस्न्यातलाई रिहा गर्न आदेश, शोभाकान्तको बारेमा राय बाझियो - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

दीप बस्न्यातलाई रिहा गर्न आदेश, शोभाकान्तको बारेमा राय बाझियो


काठमाडौं । सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यातलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

शुक्रबार न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्नेतलाई पाँच लाख धरौटी लिएर छाड्न आदेश दिएको हो । सर्वोच्चमा बस्न्यातले बैशाख १७ गते हालेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई गर्दै अदालतले रिहा गर्न आदेश दिएको हो ।

तत्कालीन भौतिक पूर्वाधार सचिव भएका बेला बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजान फाइल उठाएको भन्दै अख्तियारले आफ्नै पूर्वप्रमुख आयुक्तविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले २०७७ मंसिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो । अख्तियारले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा चार मन्त्री र तीन पूर्वसचिवसहित ११० जनाविरुद्ध २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

यता, अर्का आरोपी शोभाकान्त ढकालको बारेमा भने राय बाझिएको छ। खतिवडाले धरौटीमा छोड्न दिएको राय विपरीत भट्टराईले पुर्पक्षका लागि जेलमै राख्ने राय दिएका थिए। दुई सदस्यीय बेन्चमा राय बाझिएकोले पूर्ण इजलासमा ढकालको विषयमा सुनुवाइ हुने भएको हो ।