देउवाद्वारा संवैधानिक परिषद् बैठक वहिष्कार - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

देउवाद्वारा संवैधानिक परिषद् बैठक वहिष्कार


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा आफू सहभागी नहुने घोषणा गरेका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै संविधानको मुल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको भन्दै संवैधानिक परिषद्को बैठकमा भाग नलिने स्पष्ट पारेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘‘नेपाली कांग्रेस संविधानको मुल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छ ।’

‘संवैधानिक परिषद् सम्वन्धि ऐनमा अध्यादेश मार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरित, संसदीय मुल्य, मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको हुँदा उक्त बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यहरुलाई समेत आव्हान गर्दछु’ देउवाले विज्ञप्तिमा भनेका छन् ।

कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्ने सरकारको कामलाई सुरुदेखि नै अनुचित भन्दै आएको र विरोध गर्दै आएको पनि देउवाले बताएका छन् । देउवाले लोकतान्त्रिक पद्धतिमा संविधान बमोजिम संवैधानिक निकायहरुले सरकारको काम कारवाहीको समेत अनुगमन अनुसन्धान गर्ने भएको हुँदा यी निकाय अनिवार्य रुपले स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिएका छन् ।

सरकारले संविधानको विशिष्ट व्यवस्था मूल भावनाविपरीत भएको उल्लेख गर्दै भनेका छन्, ‘यो अध्यादेश संविधानको विशिष्ठ व्यवस्था र मूल भावनाका विपरित रहेकोछ । यसले संविधानको आधारलाई नै भत्काउने कार्य गरेको छ ।’ सरकारले संवैधानिक परिषद्सम्बन्धी सहित सातवटा अध्यादेश जारी गत मंगलबार जारी गरेको छ ।