कांग्रेसले ओलीलाई विश्वासको मत नदिने - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

कांग्रेसले ओलीलाई विश्वासको मत नदिने


काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । त्यस्तै अन्य दललाई पनि विश्वासको प्रस्तावको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको संसदीय दलको बैठकले ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने र अरु दललाई पनि मत नदिन आग्रह गर्ने निर्णय गरेका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

ओली सरकार संवैधानिक, राजनीतिक, नैतिक सम्पूर्ण हिसाबले असफल भएको हुनाले सरकारलाई विश्वासको मत नदिने अन्य दलहरूलाई पनि विश्वासको मतको विपक्षमा खडा हुन आग्रह गरेको उनले बताए । प्रधानमन्त्री ओलीको विश्वासको मत लिन प्रयास असफल हुने भएकाले अविश्वासको प्रस्ताव ल्याउनुको औचित्य नभएको खाणको भनाइ थियो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सरकार गम्भीर नभएको, खोप आयातमा कमिशन र भ्रष्टाचारमा संलग्न भएको पनि संसदीय दलले निष्कर्ष निकालेको छ । सरकारलाई जनताको स्वास्थ्यप्रति गम्भीर बन्न र अक्सिजन, भेन्टिलेटरलगायतका स्वास्थ्य उपकरण व्यवस्था गर्न ध्यानाकर्षण गराउने कांग्रेसले निर्णय गरेको छ ।

बैठकले पार्टी केन्द्रीय कार्यसमितिको चैत २१ गतेको निर्णय पनि अनुमोदन गरेको छ । २१ चैतमा काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो ।

"