अध्यक्षको हैसियतमा कसैलाई काखा पाखा नगर्ने - रुपान्तरण
 २०८१ बैशाख २४, सोमबार    

अध्यक्षको हैसियतमा कसैलाई काखा पाखा नगर्ने


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुने पूर्व सन्ध्यामा पार्टी एकताको पक्षमा उभिन आह्वान गरेका छन् ।

आइतबार प्रेस वक्तव्य जारी गर्दै ओलीले पार्टी अध्यक्षको हैसियतमा आफूले कसैलाई काखा पाखा नगर्ने भन्दै मजबुत पार्टी बनाउने महाअभियानमा सरिक हुन आह्वान गरेका हुन् ।

वक्तव्यमा ओलीले कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्या रहेको भन्दै पार्टीलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम र त्यसको शिकार बनाउन नहुने बताए ।

पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी÷गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्ने जस्ता हानिकारक प्रयास भईरहेको ओलीको वक्तब्यमा उल्लेख छ ।

पार्टीका सरकारहरुलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउने जस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि देखा परेको भन्दै उनले यस्ता क्रियाकलाप गर्नेलाई इतिहासले माफ नगर्ने भएकाले त्यस्ता कर्ममा जानी नजानी संलग्न नहुन आग्रह गरेका छन् ।

यता, एमालेले आफ्ना सांसदहरुलाई सोमबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा लिन लाग्नुभएको विश्वासको मतका पक्षमा मतदान गर्न निर्देश जारी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आइतबार एक पत्रमार्फत् प्रधानमन्त्रीलाई मत दिनका लागि आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेका हुन् ।