ओली र नेपालबीच ‘वान टु वान’ वार्तापछि कार्यदल - रुपान्तरण
 २०८१ जेठ ६, आईतबार    

ओली र नेपालबीच ‘वान टु वान’ वार्तापछि कार्यदल


काठमाडौं । नेकपा एमालेले पार्टी भित्रको विवाद समाधानका लागि कार्यदल बनाएको छ । अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल बीच आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको ‘वान टु वान’ वार्तापछि विवाद समाधानका लागि कार्यदल बनाइएको हो ।

२०७५ जेठ २ मा नै पार्टीलाई फर्काएर अघि बढ्न नेपाल पक्षले राखेको प्रस्ताव अध्यक्ष ओलीले स्वीकार गरेपछि कार्यदल बनाएको नेता नेपालले जानकारी दिए ।
‘२०७५जेठ २ अघिको अवस्थामा फर्किने गरी कुराकानी भयो, सबै कुरा टुंगो लगाउनका लागि वार्ता टोली बनाइएको छ,’ नेता नेपालले संचारकर्मीहरुसँग भने ।

कार्यदलमा दुबै पक्षका ५/५ जना नेता तोकिएका छन् । जसअनुसार ओली पक्षको तर्फबाट कार्यदलमा सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

कार्यदलले तीनदेखि पाँच दिन भित्र सबै विषयलाई टुंगोमा पुर्याउने गरी छलफल भएको बताइएको छ । प्रधानमन्त्रीसमेत रहेका ओलीले यसअघि संसदमा विश्वासको मत गुमाएपछि व्यवसायी रामेश्वर थापाको घरमा नेता नेपालसँग विवाद समाधानबारे पहिलो पटक ‘वान टु वान’ वार्ता गरेका थिए ।

त्यसपछि प्रधानमन्त्रीमा पुर्ननियुक्तिपछि ओली र नेपाल समूहबीच सिंहदरबारमा वार्ता भएको थियो भने यो त्यसयताको तेस्रो भेट हो । पछिल्लो समय पार्टी भित्र देखिएको विवाद समाधानको विषयमा प्रधानमन्त्रीसमेत रहेका ओली सकरात्मक देखिएका छन् । यस्तै नेपाल पक्षले पनि वार्तालाई सकरात्मक रुपमा लिंदै अघि बढेको छ । वार्तामार्फत नेपाल पक्षले २०७५ जेठ २ अघिकै अवस्थामा पार्टीलाई लैजानु पर्ने शर्त राख्दै आइरहेको छ ।

"