कोरोना संक्रमितहरुका लागि सन्दीप लामिछानेको अभियान - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

कोरोना संक्रमितहरुका लागि सन्दीप लामिछानेको अभियान


काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले सोमबारदेखि एउटा अभियानको थालनी गरेको घोषणा गरेका छन् । सोमबार राति आफ्नो आधिकारिक ट्वीटर हेण्डलबाट सन्दीपले उक्त अभियानको थालनी गरेको घोषणा गरेका छन् ।

अक्सिजन, आइसियु बेड, भेन्टिलेटर, अक्सिजन सिलिण्डरको अभाव भइरहेका बेला यस्ता अत्यावश्यक कुराहरूको सहयोगका लागि आर्थिक अभियान चालेका हुन् । सेन्चुरी कमर्सियल बैंकमा खाता खोलेर रकम सङ्कलन गर्ने र सो रकम आवश्यक परेकाहरूको लागि खर्च गर्ने उनले बताएका छन् ।

महामारीको सङ्कट रोकिने बित्तिकै खाता बन्द गर्ने र सङ्कलित सम्पूर्ण रकमको हिसाब सार्वजनिक गर्ने र सबै लेखाजोखा पारदर्शी राख्ने समेत उनले बताएका छन् ।

‘सधैं झैं यसपटक पनि हामी सबै जना परिचालित हुने बेला आएको छ, सबै जना जुटेर यो महामारीको अवस्थाबाट देशलाई फिर्ता ल्याउन सकिनेछ, लामिछानले थ्रेडट्वीटमार्फत भनेका छन्–‘म नेपाल भित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सधैं यसपटक पनि नेपाललाई माया र सहयोग गर्न आग्रह गर्दछु ।’

लामिछानेले त्यसका लागि स्वदेश तथा विदेशमा रहेका आफ्ना शुभचिन्तकहरुसंग यो अभियानका लागि एक भएर सहयोग गर्न आग्रह गरेका छन् । बैंक खातामा टिम सन्दीपको तर्फबाट सोमबार नै नगद तीन लाख रुपैयाँ जम्मा गरेको समेत उनले उल्लेख गरेका छन् ।