निर्वाचन साधन, शक्ति र सम्पतिबाट प्रभावित हुँदैन - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

निर्वाचन साधन, शक्ति र सम्पतिबाट प्रभावित हुँदैन


-दिनेश कुमार थपलिया

फागुन ७ गते अर्थात निर्वाचन दिवसको दिन । नेपालमा सर्वप्रथम वि.सं. २०१५ साल फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई वालिग नेपालीहरूले मताधिकारको उपयोग गर्न पाएको गौरवमय दिनलाई स्मरण गर्दै निर्वाचन आयोगले वि.सं. २०७३ साल देखि प्रत्येक बर्ष फागुन ७ गते निर्वाचन दिवस मनाउन प्रारम्भ गरे बमोजिम आज हामी “निर्वाचनमा सबै, सँधै, सँगै” भन्ने मुल नाराका साथ पाँचौ निर्वाचन दिवस, २०७७ मनाउन गइरहेका छौ । यस महत्वपूर्ण अवसरमा म सम्पूर्ण नेपाली मतदाता आदरणीय दिदीबहिनी तथा दाजुभाईहरू प्रति हार्दिक शुभकामना व्यक्त गर्दै आगामी २०७८ बैशाख १७ र २७ गते दुई चरणमा हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सक्रियता पूर्वक सहभागी हुन आव्ह्वान गर्दछु ।

निर्वाचन दिवसको यस महत्वपूर्ण घडीमा विगतलाई नियाल्दा मुलुकको स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, जनतामा निहित सार्वभौमसत्ता, वालिग मताधिकार, आवधिक निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको संवैधानिक जिम्मेवारी पाएको निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनको साढे छ दशक लामो अनुभव र संवैधानिक निकायको हैसीयतमा आफ्नो स्थापनाका चौवन्न बर्ष पुरा गरी सकेको छ ।

यो अविरल यात्रामा संवैधानिक गतिशिलता अनुरूप आयोगलाई निरन्तर अगाडि बढन योगदान, प्रेरणा, सहयोग र हौसला प्रदान गर्नु हुने अग्रजहरूको मेहनत, परिश्रम, साहस र दृढताको सम्मान एवम् प्रशंसा गर्न चाहन्छु । स्थापनाकाल देखि नै संविधान प्रदत्त अधिकार अनुसार कुशलतापूर्वक निर्वाचनको व्यवस्थापन गर्दै आएको निर्वाचन आयोग निष्पक्षता, व्यवसायिकता र विश्वसनीयताको पूर्ण प्रत्याभुती सहित निर्वाचन सरोकारवालाहरूको सक्रिय सहभागिता र सहमतिमा सर्वस्वीकार्य निर्वाचन सम्पन्न गर्ने गुरूत्तर दायित्व पुरा गर्न दृढ संकल्पित रहेको छ । आजको दिनले आयोगलाई आफ्नो संवैधानिक भूमिका अझ शसक्त र प्रभावकारी रूपमा निर्वाह गर्न थप उर्जा, हौसला तथा प्रेरणा प्राप्त भएको कुरा निवेदन गर्दछु ।

स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी निर्वाचनको दीर्घकालिन सोंचसहित आयोगले हाँसिल गरेको उपलब्धि एवम् प्रारम्भ गरेको निर्वाचन व्यवस्थापन तथा संचालन सुधारको यात्रालाई अझ व्यवस्थित र परिस्कृत बनाउँदै आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्ने अठोटका साथ आयोगले निर्वाचनको तयारीलाई व्यापक बनाउँदै लगेको विदितै छ । यसै सिलसिलामा निर्वाचन प्रक्रियाको प्रस्थान बिन्दु मतदाता नामावलीलाई त्रुटि रहित, गुणस्तरीय र अद्यावधिक बनाउने कार्य तथा निर्वाचनमा मतदाताको सहभागिता र सहज पहुँचको निम्ति मतदान स्थल एवम् मतदान केन्द्रहरू सुरक्षित, व्यवस्थित र पूर्वाधार सुविधायुक्त बनाउने गरी पुनरावलोकन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन कार्यक्रमको तयारी, निर्वाचन आचार संहिता तर्जुमा, खरिद योजना तयारी, निर्वाचन सामग्री व्यवस्थापनको खरिद प्रक्रिया आरम्भ, बजेट अनुमान र आर्थिक कार्यविधि तर्जुमा, निर्वाचन सुरक्षा योजनाको तयारी, मतदाता शिक्षा तथा तालिम सम्बन्धी स्रोत सामग्रीको तयारी, निर्वाचन अनुगमन तथा पर्यवेक्षण सम्बन्धी कार्यविधिको तर्जुमा, मतदान कार्यमा खटिने कर्मचारी अभिमुखिकरण तथा तालिम सामग्रीको व्यवस्था, निर्वाचनको लागि अन्तर्राष्ट्रिय सहयोग लगायतका कार्यहरू व्यवस्थित एवम् योजनाबद्ध रूपमा भइरहेका छन् । आयोगले पहिलो पटक निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति स्वीकृत गरेको छ । यसबाट निर्वाचनमा विद्युत्तीय सञ्चार एवम् सामाजिक सञ्जालको व्यापक उपयोग हुनुका साथै यस्ता माध्यमबाट हुन सक्ने गैरकानूनी, अमर्यादित तथा भ्रामक सूचना र सन्देशलाई निरूत्साहित गरी निर्वाचनको स्वच्छता कायम गर्न सकिने विश्वास आयोगले लिएको छ ।

“निर्वाचन साधन, शक्ति र सम्पतिबाट प्रभावित हुन हुँदैन, निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनु पर्दछ” भन्ने सर्वमान्य सिद्धान्तलाई व्यवहारमा रूपान्तरण गर्नु हामी सबैको दायित्व हो । खर्चिलो र भड्किलो हुँदै गएको निर्वाचनलाई पद्धतिगत नियन्त्रण र नियमनद्वारा मितव्ययी, मुल्य र मान्यतामा आधारित बनाई अनपेक्षित आर्थिक क्रियाकलापबाट निर्वाचन प्रभावित गर्ने विषयलाई दण्डनीय बनाउनै पर्दछ भन्ने कुरामा कसैको विमति हुनुहुँदैन ।

यसको लागि निर्वाचन व्यवस्थापन गर्ने निकाय, राजनीतिक दल, उम्मेदवार, मतदाता, निजी क्षेत्र, नागरिक समाज लगायत निर्वाचन सरोकारवालाहरूको साझा संकल्प र इमान्दार प्रयत्न आवश्यक पर्दछ भन्ने तथ्यलाई महशुस गरी आयोगले एकिकृत निर्वाचन आचार संहिता तयार गरी कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । निर्वाचन आचार संहिता नैतिक एवम् कानूनी बन्धनको रूपमा रहने र सबै सरोकारवालाहरूको निम्ति बाध्यकारी हुने भएकोले यसको पूर्ण परिपालनाको लागि सबै सरोकारवालाहरूसँग आयोग आव्ह्वान गर्दछ ।

आयोगको व्यवस्थापनमा सफलता पूर्वक सम्पन्न भएका विभिन्न तहका निर्वाचनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा आयोगको साख र प्रतिष्ठा अभिबृद्धि हुनुका साथै आयोगको स्वतन्त्रता, निष्पक्षता, विश्वसनीयता, व्यवसायिकता र सक्षमता प्रमाणित हुँदै आएको छ । जनताले लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन भएको र निर्वाचन गराउने संवैधानिक जिम्मेवारीमा निर्वाचन आयोगको रहेको भएता पनि यस कार्यमा राजनीतिक दल लगायत सबै निर्वाचन सरोकारवालाहरूको सहभागिता आवश्यक रहेको कुरामा दुई मत हुनै सक्दैन ।

त्यसैले निर्वाचन व्यवस्थापनको समग्र पक्षलाई निश्चित विधि र पद्धतिमा संस्थागत गर्दै निर्वाचन संस्कृति तथा राजनीतिक संस्कार विकास गर्ने कार्यमा सबैको उत्तिकै दायित्व र जिम्मेवारी रहेको हुन्छ । विगतका निर्वाचनहरूमा भैm आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई आम सहभागितामा सफलतापूर्वक सम्पन्न गर्न आवश्यक राजनीतिक वातारण तयार गर्ने कार्यमा नेपाल सरकार, राजनीतिक दल, सार्वजनिक क्षेत्र, निजी क्षेत्र, सञ्चार जगत, नागरिक समाज, मतदाता लगायत निर्वाचनका सबै सरोकारवालाहरूको संलग्नता, सहयोग, समन्वय, सहकार्य र सहभागिता रहने कुरामा आयोग विश्वस्त रहेको छ ।

अन्तमा २०७८ बैशाख १७ गते पहिलो चरणमा प्रदेश नं. २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा सुदुरपश्चिम प्रदेशका ४० जिल्ला र २०७८ बैशाख २७ गते दोस्रो चरणमा प्रदेश नं. १, बागमती प्रदेश तथा कर्णाली प्रदेशका ३७ जिल्लामा हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको कुरा स्पष्ट गर्दै पाँचौ निर्वाचन दिवस २०७७ लाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण निकाय, संघ संस्था तथा महानुभावहरू प्रति हार्दिक आभार प्रकट गर्दछु । (निर्वाचन दिवसका अवसरमा प्रमुख निर्वाचन आयुक्तको सन्देश)

"

"