विपक्षीमाथि ओलीको प्रहार : सबै पक्षको हूर्मत - रुपान्तरण
 २०८१ जेठ ६, आईतबार    

विपक्षीमाथि ओलीको प्रहार : सबै पक्षको हूर्मत


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको सहभागितामा चुनावी सरकार गठन गर्न सकिने बताएका छन् । विपक्षी दलले अमर्यादित, अस्वस्थ, अलोकतान्त्रिक र कीर्ते रुपमा हस्ताक्षर गराएर प्रधानमन्त्रीका लागि दावी गरेको जनाउँदै उनले यस कारण पनि मुलुक मध्यावधि निर्वाचनमा गएको बताए ।

प्रेस चौतारी नेपालले आइतवार आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलमा उनले निर्वाचनमा भाग लिन सबै पक्षलाई आग्रह गर्दै संविधानबमोजिम आफ्नो नेतृत्वको राष्ट्रिय सरकार बनाएर निर्वाचनमा जान आफू तयार रहेको बताए । संसदीय राजनीतिक प्रणालीका आधारमा आफूले प्रधानमन्त्रीमा गरेको दावी उपयुक्त भए पनि विश्वासको मत पाउने सक्ने आधार नदेखेपछि राष्ट्रपतिले दुवै पक्षको दावी अस्वीकार गरेको धारणा उनले राखे ।

ओलीले आफ्ना आलोचना गर्नेहरुमाथि कटू प्रहार पनि गरे । ओलीले आफ्ना पक्षमा नलेखेको भन्दै संचारमाध्यमहरुमाथि टिप्पणी गर्दै भने, ‘केही त मिसन पत्रकारितावाला छन् । उपलब्धि देख्दै नदेख्ने । कमजोरी छैन भने बनावटी कुरा बनाउने । मार्मिक कथा बनाउने । मार्मिक स्थितिलाई आफ्नो पक्षमा प्रयोग गर्ने । सञ्चारमाध्यम त सही, सकारात्मक भूमिका लागि हुनुपर्दछ ।’

आफ्ना कदमको आलोचना गर्ने बुद्धिजिवीहरुप्रति उसैगरी हूर्मत लिँदै भने ‘केही बुद्धिजिवी भन्नेहरु छन्, जसले कहिल्यै सरकारले गरेको राम्रो काम देख्दैन । एकोहोरो आलोचना गर्नमै व्यस्त छ ।’

आफ्नै दलका नेता माधव नेपाललाई ईग्गित गर्दै भने, ‘आफ्नो प्रधानमन्त्री हटाएर अर्को दलकालाई प्रधानमन्त्री बनाउन हिडेको पवित्र काम हो र ? त्यो त सबै दृष्टिले अपराध होइन ? आफ्नै दलका नेतालाई हटाएर अर्कालाई प्रधानमन्त्री बनाउन हिंड्नेहरु कार्वाहीका भागिदार बन्नुपर्छ ।’

ओलीले केही लोकतान्त्रिक शक्तिहरु ‘प्रचण्डपथ’को अंगिकार गर्न अग्रसर भएको पनि बताए । ओलीले नेपाली कांग्रेसतर्फ इङ्गित गर्दै कांग्रेस प्रचण्डलाई गुरु थापेर उत्तेजना र आवेशमा अगाडी बढेको आरोप लगाए ।

उनले संविधान अनुसार अगाडि बढ्दा ‘कू’ नहुने जिकिर गरेका छन् । ‘कू’ भनेको के हो ? संविधान अनुसार अगाडि बढ्दा कसरी ‘कू’ हुन्छ ? ओलीको प्रश्न थियो । आफूहरुले भनेजस्तो नभए प्रतिगमन भयो र कू भयो भन्ने प्रवृत्ति देखिएको बताउँदै ओलीले भने, ‘यहाँ साथीहरुले बुझ्नु भएको छ, के यहाँ बर्मा जस्तै भएको छ ?’ संविधान र लोकतान्त्रिक पद्धति अनुसार अगाडि बढ्दा कू नहुने उनको दाबी थियो ।

"