नेपालमा अबको चार हप्तामा कोरोना संक्रमण कम हुने - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

नेपालमा अबको चार हप्तामा कोरोना संक्रमण कम हुने


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा चार हप्तामा कोरोना संक्रमण कम हुने दाबी गरेका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले सरकारले संक्रमण घटाउन लकडाउन गरेको भए पनि आवतजावत पूर्ण रुपमा बन्द नभएको र केही सेवाहरु अहिले पनि सञ्चालनमा रहेकाले संक्रमण हट्न केही समय लाग्ने बताए ।

उनले भने, ‘संक्रमण हट्न अझै चार हप्ता लाग्ने देखिएको छ ।’ उनले काठमाडौं उपत्यकामा संक्रमण केही घटेको देखिए पनि देशभरि औषत दैनिक ८ हजार ३०० जना नयाँ संक्रमित थपिने गरेको जानकारी दिए ।

सरकारी र निजी गरि १५७ वटा अस्पतालमा कोरोना संक्रमितहरुको निशुल्क उपचार भइरहेको बताउदै मन्त्री त्रिपाठीले गत बैसाखमा मात्र ती अस्पतालहरुले उपचार गराए वाफत ४५ करोड रुपैया सोधभर्ना गरिएको जानकारी दिए ।

सरकारले पछिल्ला दिनमा आइसियूको संख्या थपेर तीन हजार पुर्याएको, भेन्टिलेटरको संख्या ९०४ पुर्याएको र १९ वटा अक्सिजन प्लान्ट जडानको क्रममा रहेको मन्त्री त्रिपाठीले बताए । २६ लाख ६५ हजारले कोरोना विरुद्धको खोप लगाइसकेको जानकारी गराउदै उनले अरुका लागि खोप ल्याउन विभिन्न दातृ निकायसँग पहल भइरहेको बताए । अहिले नेपालमा १ लाख १५ हजार सक्रिय संक्रमित रहेको र ती मध्ये १७२१ को आइसियू र ४८४ जनाको आइसियूमा राखेर उपचार भइरहेको त्रिपाठीले जानकारी दिए ।