१०अर्ब लगानी भित्र्याउने गरी एनआरएन डेभलपमेन्ट फण्ड प्रक्रिया अघि बढ्यो - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

१०अर्ब लगानी भित्र्याउने गरी एनआरएन डेभलपमेन्ट फण्ड प्रक्रिया अघि बढ्यो


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा स्थापना हुन लागेको एनआरएन डेभलपमेन्ट फण्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ । काठमाडौंमा उपलब्ध संस्थापकहरुका तर्फबाट बिहीबार हस्ताक्षर भएको हो ।

सो अवसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा।उपेन्द्र महतो, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्षद्वय डा. बद्री केसी र सोनाम लामा, कोषाध्यक्ष महेश कुमार श्रेष्ठ, सल्लाहकार हरिबोल भण्डारी लगायत डा. खगेन्द्र जीसी, चिरञ्जिीवी थापाले प्रबन्ध पत्रमा हस्ताक्षर गरे ।

यो कम्पनीमार्फत नै नेपालमा कम्तिमा १० अर्ब लगानी भित्र्याउने तयारी छ । १० अर्ब लगानीका लागि हालसम्म डेढ अर्ब भन्दा बढी रकमको प्रतिबद्धता आइसकेको छ । हस्ताक्षर समारोहमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले गैरआवासीय नेपालीले देखेको सपना छिट्टै पूरा हुन लागेको बताए ।

कम्पनी दर्ताका लागि औपचारिक रुपमा मिलेको सहमतिहरुले गैरआवासीय नेपालीहरुलाई उत्साहित बनाएको उनको भनाई थियो । नेपालमा लगानी गर्नका लागि यसले बाटो खुला गरेको उनले बताए ।

१० अर्बको कोषमा सरकारले पाँच प्रतिशत अर्थात ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता जनाइसकेको छ । यस्तै संस्थापकहरूको तर्फबाट १० प्रतिशत जुटिसकेको अध्यक्ष कुमार पन्तले बताए । यस अभियानको ८५ प्रतिशत लगानीमा संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दा माथि लगानी गर्न पाउनेछन् ।

नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न उत्सुक संसारभरका गैरआवासीय नेपालीको प्रतिक्षाको घडी अब समाप्त हुँदै गएको भन्दै उहाँले दर्ता प्रक्रिया सकिएपछि चाँडै नै आईपीओ जारी गरिने छ ।

हस्ताक्षर समारोहमा क्षेत्रीय उपसंयोजक मनोज कुमार श्रेष्ठ, एनआरएनए स्र्पोस् एकेडेमीका उप संयोजक धर्मराज गिरी, एनआरएनए सांस्कृतिक तथा सम्पदा समितिका संयोजक, गोविन्द प्रसाद गौतम, एनसीसी चीनका अध्यक्ष प्रदिप न्यौपाने तथा महासचिव यम बहादुर क्षेत्री, तान्जानियाका अध्यक्ष पुष्पराज भट्टराई, परामर्शदाता अनल मट्राई, कानूनी परार्मशदाताका प्रतिनिधि र संघका कार्यकारी निर्देशक राजेश राणा लगायतको उपस्थिति थियो ।