खोप ल्याउन सकियो भने कोभिडविरुद्धको लडाई जितिन्छ - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

खोप ल्याउन सकियो भने कोभिडविरुद्धको लडाई जितिन्छ


काठमाडौं । प्रधानमन्त्री एवं कोभिड १९ निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको लडाई जित्न उपलब्ध स्वास्थ्य सेवालाई चुस्त दुरुस्त बनाउँदै खोपको समुचित व्यवस्था गर्नेतर्फ ध्यान केन्द्रित गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पन्न समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले उपचारमा कुनै किसिमको ढिलाई गर्ने छुट कसैलाई नभएको समेत बताए । यसका जुनसुकै देशबाट भएपनि प्रमाणित, प्रभावकारी र ढुवानी सहज गर्न सकिने खोपहरुका लागि पहलगर्न परराष्ट्र तथा स्वास्थ्य मन्त्रालय र केन्द्रका प्रमुखलाई विशेष निर्देशन दिए । ‘खोप ल्याउन सकियो भने कोभिडविरुद्धको लडाई जितिन्छ । अन्यथा लडाई गरिरहनु पर्नेभयो ’उनले भने ।

सरकारले हालै ल्याएको कोभिड १९ सम्बन्धी अध्यादेश बमोजिम गठित कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई आवश्यक जनशक्ति र संसाधन सरकारले तत्कालै उपलब्ध गराउने समेत बताए । यसका साथै प्रधानमन्त्रीले केन्द्रबाट संक्रमणको सम्पूर्ण तथ्य तथ्यांक हासिल गरी उपचार सेवाको अवस्था चिकित्साकर्मी र स्वास्थ्य उपकरणको उपलब्धता बारे अध्यावधिक जानकारी लिने र कमी भएका स्थानमा आपूर्ति गर्नका लागि संयोजन हुनुपर्ने समेत बताए ।

‘पालिका पालिकासम्म समन्वयगरी कति संक्रमित छन्, होम आइसोलेशनमा कति बसेका छन् ?कति जँचाउन आएका छन् कति आएका छैनन् तिनको अवस्था के छ भन्ने सम्मको पूर्ण जानकारी देखि हामीसँग सुुईसम्म कति छ भन्ने कुराको जानकारी लिएर कुनै कुराको पनि अभाव हुन नपाओस् भन्नेतर्फ ध्यानदिनुपर्छ‘, उनले भने ।