भारत र चीनबाट खोप ल्याउन राष्ट्रपति भण्डारी सक्रिय - रुपान्तरण
 २०८१ बैशाख ११, मंगलबार    

भारत र चीनबाट खोप ल्याउन राष्ट्रपति भण्डारी सक्रिय


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको खोप नेपाल ल्याउनका लागि क्रियाशिल भएकी छन् । अनियमितता र कमिशनका कारण सरकारले खोप किन्न नसकिरहेको अवस्थामा राष्ट्रपति स्वयम सक्रिय बनेकी हुन् ।

बुधबार मात्र भण्डारीले सबै नेपाली जनतालाई पुग्नेगरी खोप उपलब्ध गराइदिन चिनियाँ समकक्षीसँग अनुरोध गरिन्। राष्ट्रपति भण्डारीले बुधबार दिउँसो चिनियाँ समकक्षी सी चिनफिङसँग टेलिफोन वार्ता गरेकी थिइन ।

टेलिफोन वार्ताका क्रममा राष्ट्रपति भण्डारीले सबै नेपालीलाई पुग्ने खोप चीनबाट किन्न नेपाल इच्छुक रहेकाले त्यसका लागि पहल गरिदिन अनुरोध गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । जवाफमा चिनियाँ राष्ट्रपति चिनफिङले यसमा आफू सकारात्मक रहेको बताएका थिए । नेपाल जस्तो मित्र राष्ट्रलाई सहयोग गर्न चीन तयार रहेको उनको भनाइ थियो ।

चीनले नेपाललाई कोभिड विरूद्धको ८ लाख डोज भेरोसेल खोप अनुदान स्वरुप उपलब्ध गराएको छ । सो खोपको दोस्रो डोज लगाउने कार्यक्रम अहिले चलिरहेको छ । बुधबार नै चिनियाँ राष्ट्रपतिले १० लाख डोज खोप दिने घोषणा गरेका छन् ।

यसअघि बुधबार नै राष्ट्रपति भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई खोप उपलब्ध गराइदिनुहुन पत्र पठाएकी थिइन । भारतले १० लाख डोज कोभिशिल्ड खोप अनुदानमा दिएको थियो । २० लाख डोज नेपालले किनेको थियो । त्यसमध्ये पैसा तिरिसकेको १० लाख डोज खोप आउन बाँकी छ । भारतमा दोस्रो लहर आएर भारत आफैं संकटमा परिरहेको बेलामा राष्ट्रपति भण्डारीले खोपको लागि अनुरोध गरेकी हुन् ।