आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न नसकिने भन्दै अर्थमन्त्रीले ‘हात उठाए’ - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न नसकिने भन्दै अर्थमन्त्रीले ‘हात उठाए’


काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले राखेको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न नसक्ने बताएका छन् ।

सरकारले करिब ४ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण हुने बताए । चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरुको प्रगति विवरण सार्वजनिक गर्न अर्थमन्त्रालयले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

सरकारले चालु वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो । केन्द्रीय तथ्याङ्क विभागले भने ४.०१ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो । तर, यो अनुमान पनि पुग्न चुनौतीपूर्ण रहेको अर्थमन्त्री पौडेलको भनाई छ ।

कोरोनाको दोस्रो लहरले अर्थतन्त्र खुम्चिएका कारण आर्थिक वृद्धिको लक्ष्य पुरा नहुने निष्कर्षमा अर्थमन्त्री पौडेल पुगेका छन् । उनले भने, ‘निषेधाज्ञाले ४.०१ प्रतिशत पुग्न पनि चुनौतीपूर्ण छ ।’

अर्थमन्त्री बन्नासाथ पौडेलले सामान्य खर्च १० र पुँजीगत खर्च झन्डै २० प्रतिशतले घटाएका थिए । उनले अघिल्ला अर्थमन्त्री युवराज खतिवडाले राखेका खर्च सीमा घटाएका थिए । आर्थिक वर्षको अन्तिम एक महिना बाँकी हुँदा समेत पुँजीगत खर्च जम्मा ३७ प्रतिशत भएको छ भने राजश्व र ऋणको अवस्था पनि डामाडोल छ ।

अर्थ सचिव शिशिर ढुंगानाले आर्थिक वृद्धिदरको लक्ष्य फागुनसम्म ४.४ प्रतिशतमा आउन सक्छौं भनिए पनि अहिले चुनातीपूर्ण रहेको बताए । उनले ५ प्रतिशतसम्म आर्थिक वृद्धि हुने अवस्था रहेको भए पनि पछिल्लो समयमा आएको कोभिडका कारण अवस्था चुनौतीपूर्ण भएको बताए ।