लकडाउनका बेला उपभोग्य वस्तुको मूल्य वृद्धि - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

लकडाउनका बेला उपभोग्य वस्तुको मूल्य वृद्धि


धरान । कोरोना महामारीको कारण जारी निषेधाज्ञाका बेला उपभोग्य वस्तुको मूल्यमा २० देखी ३० प्रतिशत तरकारीमा मनोमानी मुल्य वृद्धि भएको पाइएको छ । थोक व्यापारीहरुले भने कतिपय वस्तुको मुल्य अन्तर्राष्ट्रिय बजार र आपूर्तिमा कमीका कारण भएको दाबी गरेका छन् ।

लकडाउनको बेला बजारका पसलहरु बन्द रहने भएकाले त्यस्को फाइदा उठाई खुद्रा पसलेहरुले मनोमानी मुल्य बृद्धि गरेको आरोप उपभोक्ताहरुले लगाएका छन् । धरानमा विहान ८ बजेसम्म दुध, तरकारी किनबेच गर्न छुट दिइएको छ । त्यसै बेला हतारमा खाद्यवस्तु किन्नुपर्ने बाध्यताको फाइदा उठाउँदै बढीमुल्य लिने गरेको उपभोक्ताहरुको भनाई छ । खुद्रा तरकारीमा पचास प्रतिशत भन्दा बढी मुल्य वृद्धि भएको उनीहरुको गुनासो छ ।

मुल्य वृद्धि नियन्त्रण गर्न स्थानिय सरकार उपमहानगरपालिकालाई राजनीतिक दलहरुले ध्यानाकर्षण पत्र मार्फत दबाब दिएपछि विहीवार मूल्य वृद्धिबारे उद्योग वाणिज्य संघमा छलफल भएको हो । छलफलमा निषेधाज्ञा शुरु भएपछि चामल, चिनी र तेलमा भएको अत्याधिक मूल्यबृद्धि भएको पाइएको छ । व्यापारीहरुले भने मूल्यवृद्धि कालोबजारीका कारण नभई अन्तर्राष्ट्रिय बजार र आपूर्तिको कमीका कारण भएको बताएका छन् ।

सहभागीहरुले उपभोग्य वस्तुको खुद्रा बजारमा यसअघि प्रतिकेजी ८० रुपैंयाँमा विक्री भइरहेको चिनी लकडाउन लगत्तै ९० देखी ९५ रुपैयाँ विक्री भैइरहेको बताए । सोयाबिन तेल प्रतिलिटर १९०/२०० बाट २७० रुपैंयाँसम्ममा विक्री भइरहेको छ । विपन्न वर्गले दैनिक उपभोग गर्ने मन्सुली चामल लकडाउन अघि प्रतिकेजी ५२/५३ रुपयामा विकी भैरहेकामा ६० देखी ६५ रुपैंयाँ पुगेको छ ।

उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाले तेलको मूल्य वृद्धि स्थानीय व्यापारीहरुबाट नभई अन्तर्राष्ट्रिय क्षेत्रबाटै भएको बताए । उनका अनुसार युक्रेन, रसिया र अर्जेन्टिनाबाट आयात हुने सनफ्लावर तेल हाल ६० प्रतिशत उत्पादनमा कमी आएको छ । यस्ले पर्याप्त परिमाणमा तेल आयात घटेकाले मूल्यवृद्धि भएको हो ।

रिफाइन तेलको कच्चा पदार्थ ब्राजिल, दक्षिण अमेरिकाबाट आयात हुन्छ । त्यहाँको उत्पादनको ७३ प्रतिशत कच्चा पदार्थ चीनले खरिद गरेपछि अन्य बजारमा अभाव भई मूल्यवृद्धि भएको उनको भनाई छ । हाल थोक बिक्रेताले चिनी खरिद गर्दा हाल उद्योगमै प्रतिकेजी ८५ रुपैंयाँ पर्ने चिनीमा भ्याट, ढुवानी लगायतको खर्चका कारण सामान्य मुल्य वृघि भएको हो । उनले भने ‘यदि नियतवश कुनै पनि व्यापारीले अनैतिक रुपमा मूल्यवृद्धि गरेको पाएमा कारवाही गरिने छ ।’

खुद्रा व्यपारीले अधिकतम मूल्य अंकित नहुने खाद्यवस्तु न्युनतम नाफा राखेर विकी वितरण गर्दापनि मुल्यवृद्धि नियन्त्रण हुनसक्ने संघका उपाध्यक्ष बजार अनुगमन समिति संयोजक शिवराज श्रेष्ठको भनाई थियो । उनले एमआरपी भन्दा बढी मूल्य लिने पसले लाई कारवाही गर्न जरुरी भएको बताए । वाणिज्य सचिव सिताराम आचार्यले चामल, दाल, नून, चिनी लगायतका सामाग्री होम डेलिभरी गरिए मूल्य नियन्त्रणमा सघाउ पुग्ने सुझाव दिए ।

उपमहानगरपालिका अनुगमन समिति संयोजक उपप्रमुख मन्जु भण्डारीले बजार अनुगमन गर्दा खुद्रा व्यापारीले मनोमानी मूल्य असुल्ने, गुणस्तर, स्वास्थ्य मापदण्ड उल्लंघन गरिएका धेरै पाइएको बताउँदै उद्योग वाणिज्य संघले यस्मा गम्भिर हुनुपर्ने आग्रह गरिन । भनिन, ‘अनुगमन गरेर व्यापारीहरुलाई आतंकित बनाइएको होइन् तर मूल्य र मापदण्डहरुका बारेमा व्यापारी इमान्दार हुनुपर्‍यो ।’

नगरपालिकाका अनुगमन अधिकृत वेदराज सापकोटाका अनुसार लकडाउनको बेला ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि मनोमानी भइरहेको बताए । बेकरीका उत्पादनहरुमा उत्पादन मिति उल्लेख गर्न छोडेको पाइएको छ । तरकारी सब्जीको आपूर्ति सहज गर्न कृषि थोक बजार दुई घण्टा खुला गरिएको छ ।

दैनिक थोक मूल्यसूची सार्वजनिक गरिएपनि बजारमा तरकारीको मुल्य ५० प्रतिशतसम्म बृद्धि भएको छ । छलफलमा इलाका प्रशासन प्रमुख सुवासकुमार लामिछानेले गुणस्तर, परिमाण र मूल्य बढी लिनेहरुलाई संघले सहयोग गरेमा कडा कारवाही गर्न सकिने बताए ।
लकडाउनमा धरानको सुनसान तरकारी बजार । तस्विरः तिर्थ कार्की