सरकारी खोप ढिलो हुँदा धरान उपमहानगरले आफैं खरिद गर्ने - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

सरकारी खोप ढिलो हुँदा धरान उपमहानगरले आफैं खरिद गर्ने


धरान । कोरोना महामारीको दोस्रो लहरबाट बढी प्रभावित धरानमा तत्काल एकलाख नगरबासीलाई कोविड–१९ रोकथामको खोप लगाउने तयारी उपमहानगरपालिकाले गरेको छ । अहिलेसम्म धरानमा कोरोना संक्रमणबाट ३८ जनाको मृत्यु भइसकेको छ ।

मेयर तिलक राईले भने ‘कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप नै प्रभावकारी देखिएको छ, सरकारबाट प्राप्त गर्न ढिलाई भएकाले आफ्नै स्रोतबाट खोप खरिद गर्ने प्रकृया अघि बढाएका छौं ।’ धरानमा कोरोना संक्रमणको दर बढ्दै गएको छ । उपमहानगरमा संक्रमणलाई दिर्घकालिन रुपमा रोकथाम गर्न १८ वर्ष मााथीका एक लाख नगरबासीलाई तत्काल खोप लगाउने योजना बनाइएको उनले बताए ।

संक्रमण बढ्दै गएको अवस्थामा तत्काल खोप लगाउन शुरु गर्नुपर्ने तर प्रदेश तथा संघीय सरकारबाट खोप प्राप्त गर्न ढिलो भएको तथ्य खुलाउँदै उपमहानगरपालिको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग खोप खरिद गर्न स्विकृति माग गरिएको मेयर राईले बताए । एक लाख नगरबासीलाई दुई डोज खोप लगाउन कुल दुई लाख डोज खोप खरिदको स्विकृति मागिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र सामाजिक विकास मन्त्रालय १ नं. प्रदेश विराटनगरमा बोधार्थ प्रेषित गरिएको पत्रमा कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप नै प्रभावकारी देखिएकोले धरान उपमहानगरका १८ वर्ष माथिका एक लाख नागरिकलाई उपमहानगरपालिकाको आफ्नै श्रोतबाट खोप लगाउने योजना बनाएको उल्लेख गरिएको मेयर राईले बताए ।

‘नगरबासीको जीवन सुरक्षित रहेमा विकास निर्माण कार्यले गति लिने हुँदा खोप लाई प्राथमिकतामा राखिएको हो ।’ उनले स्वास्थ्य मन्त्रालयबाट खोप खरिदको स्विकृति जति चाँडो हुन्छ, उतिनै छिटो खोप अभियान शुरुगर्न उपमहानगरपालिका तयार रहेको बताए । धरानमा कोरोनाको दोस्रो भेरियन्टबाट एक हजार ६८६ जना संक्रमित भएका छन् । अहिले सक्रिय सक्रमितको संख्या ५७० रहेको छ ।

संक्रमणकहरुका लागि उपमहानगरापालिकाले धरान–१९ हरियाली सामुदायीक बनमा निःशुल्क खाना, आकस्मिक सेवाका लागि नर्स, अक्सिजन सहितको आइसोलेशन सञ्चालन गरेको छ । अधिकांश संक्रमित घरैमा बसेका छन् । घरमा परिवार लाई संक्रमण बाट असुरक्षित राख्न चाहनेहरु आइशोलेसनमा बसेका मेयर राईले बताए ।

सेना, प्रहरी, कर्मचारीलाई प्राथमिकता दिएर कोरोनाको पहिलो लहरपछि भारतीय सहयोगमा आएको सरकारी खोप धरानमा कुल १४ हजार जनाले लगाएको उपमहानगरपालिकाको तथ्यांकमा छ । खोपको पहिलो डोज लिएका अधिकांश सर्वसाधारण जेष्ठ नगरिकहरुले दुई महिनाको अवधि नाघेपनि दोस्रो डोज लिनबाट बञ्चित छन् ।