२०७७ फाल्गुन १७, सोमबार    

वीपी कोइराला धरानबाट पैदल काठमाडौं


-हर्ष सुब्बा

धरान । नेपालमा राणा शासनको जगजगी भएको बेला आज भन्दा सात दशक वर्षअघि राणा शासन विरुद्ध संघर्षमा उत्रिएको नेपाली कांग्रेसका नेता वीपी कोइरालालाई राणा शासकले विराटनगरमा पक्राउ गरी अड्डासार गर्दै पैदल हिंडाएर काठमाडौं सुन्दरीजल जेल पुर्‍याएका थिए । २००३ सालको त्यो इतिहासको साक्षी धरान बनेको थियो । त्यही इतिहासलाई धरानमा पछिल्ला पुस्ताले वीपी पथको रुपमा स्थापित गरेको छ ।

विराटनगर जुटमिल्समा भएको नेपालको पहिलो मजदुर आन्दोलनमा राणा शासनले पक्राउ गरेका वीपीलाई धरानबाट पैदल हिंडाएर लैजान विराटनगरबाट गाडिमा ल्याएर धरान–१३ फुस्रेमा रहेको सैनिक व्यारेकमा एक रात राखेका थिए । त्यसबेला वीपीलाई भारतको गोरखपुर हुँदै रेल तथा यातायातको साधनबाटै काठमाडौ पुर्‍याउन सकिन्थ्यो । तर राणा शासनले उनलाई पैदल हिंडाएर यातना दिएको हो । फुस्रे व्यारेकबाट विहान धनकुटा तर्फ हिंडाउनु अघि सर्दुको किनारमा वीपीलाई खाजा खुवाइएको थियो ।

उक्त इतिहास आठौं दशकमा लाग्दा वीपीको राजनीतिक संघर्षका पदचिन्ह धरानबाट शुरु भएको उद्घोष गर्दै नेपाली कांग्रेस धरान नगर समितिले सर्दुखोला किनारलाई वीपी पार्कको रुपमा विकास गरेको छ । सोही पार्कमा ७१औं प्रजातन्त्र दिवस मनाउँदै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वीपी कोइरालाको पूर्णकदका शालिक अनावरण गरेका छन् ।

वरिष्ठ नेता पौडेलले भने ‘वीपीको नेतृत्वमा भएको सातसालको क्रान्ति नै नेपाललाई प्रजातन्त्रको नयाँ युगमा प्रवेश गराउने मुख्य क्रान्ति हो ।’ त्यसपछि पटक पटक प्रजातन्त्रका लागि भएका आन्दोलन र संघर्षहरु फागुन ७ गतेको परिवर्तनलाई निरन्तरता दिनका लागि भएको र हुँदै आएको उनले बताए । यसअघि २०७२ मा वीपी विचार यात्रा कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलले वृक्षारोपण गर्दै वीपी पार्कको संयुक्त शिलान्यास गरेका थिए ।

वीपीको पैदल यात्रा शुरु भएको विन्दुमा स्थापित वीपी पार्कको विकास र विस्तारको रुपमा वीपी कोइरालाको शालिक स्थापना गरिएको धरानका मेयर तथा कांग्रेस नगर सभापति तिलक राईले बताए । उनले भने ‘वीपीको पदमार्ग त्यस बेला पनि निरंकुश राणा शासन विरुद्ध अघि बढेको थियो, अहिले पनि कांग्रेसले त्यसैलाई पछ्याउँदै अधिनायकवादी प्रवृत्तिको विरोध गरिरहेको छ ।’ पार्कको भौतिक संरचना विकासका लागि दाताहरुसंग सहकार्य जारी रहने उनको भनाई छ । पार्कमा वीपीको शालिक परिवर्तनशील समाज नामक संस्थाले स्थापना गरेको हो । अनावरण समारोहका निर्माण तथा स्थापना समितिका संयोजक पूर्ण राईले दाताहरुको आर्थिक सहयोगबाट शालिक निर्माण र स्थापना गरिएको बताए ।

उनको आम्दामी खर्चको विवरण अनुसार कुल अर्थ संकलन १६ लाख ७३ हजार ६०५ रुपया भएकोमा कुल खर्च १५ लाख, ५२ हजार, ५९३ रुपया भएको छ । फाइबरको उक्त शालिक निर्माण धरानका कलाकार महेन्द्र राईले गरेका हुन् । धरान वडा १३ र २० को संगमस्थल रहेको सर्दुखोलाको पैदल बाटो वीपीको राजनीतिक संघर्ष इतिहासको मात्र साक्षी नभई नेपालमा राणा शासन विरुद्ध प्रजान्त्र प्राप्तिको संघर्षको पनि साक्षी भएको समाजका अध्यक्ष विश्वराज शर्माले बताए ।

वीपीलाई पक्राउ गरेको मजदुर आन्दोलन नै नेपालको प्रजातान्त्रिक आन्दोलको इतिहासमा राणा शासन विरुद्ध पहिलो जनविद्रोह बनेको पाइन्छ । सुनसरी कांग्रेसका संस्थापक सचिव गिरिराज आचार्य भन्छन् ‘धरान बाट वीपी लाई काठमाण्डौ सम्म पैदल हिडाएर लैजानुनै पूर्वदेखी काठमाण्डौसम्म नै राणा शासन विरुद्ध विद्रोहको सन्देश फैलने काम भएको थियो ।’

वीपीले राणाहरुको बन्दीका रुपमा हिँडेको बाटोको अनुभवबाटै देशमा परिवर्तन आएपछि पहाडी क्षेत्रबाटै सडक बनाएर राजधानी जोड्ने परिकल्पना गरेका मानिन्छ । विराटनगर जुटमिल हड्तालको निहुँमा २००३ मा तत्कालीन राणा शासनले वीपी कोइराला, तारिणिप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी र युवराज अधिकारीलाई पक्राउ गरेको थियो । तत्कालीन राणा प्रधानमन्त्री श्री ३ पद्म शमशेरको हुकुम बमोजिम पक्राउ परेकाहरुलाई मोरङ विराटनगर गोश्वाराले अड्डासार गर्दै काठमाडौं पुर्‍याउन फागुन १२ गते साँझ धरान ल्याइपुर्‍याएका थिए । त्यस बेला धनकुटामा राणा बडाहाकिम बस्थे । धरानको फुस्रेमा सेनाको गण बस्थ्यो ।

बडाहाकिमले सुनुवाइ गर्ने पूर्वका बन्दीहरु धनकुटा पुर्‍याउनुअघि धरान बास राखी बिहानै हिंडाउने चलन थियो । काठमाडौं पुर्‍याउनु पर्नेहरुलाई बडाहाकिमसमक्ष हाजिर गराई दोलालघाट हुँदै २० देखि २५ दिन पैदल हिंडाएर पुर्‍याइन्थ्यो ।

वीपीको यो बन्दी पैदलयात्रा उनलाई देशका पहाडी बाटोहरु अध्ययन गर्ने ऐतिहासिक अवसर प्रदान गरेको गिरिराज आचार्य बताउँछन् । उनी भन्छन् ‘यसै यात्रामा वीपीले धरान धनकुटा सडकको महत्व बुझे र प्रधानमन्त्री भएपछि योजना समेत कार्यान्वयन गरे ।’ त्यसबेला राजधानी उपत्यकालाई सर्वसाधारणले नेपाल भन्थे । धनकुटा बाहेक नेपाल पस्ने भीमफेदीबाट चित्लाङ हुँदै अर्को पैदल बाटो थियो ।

भीमफेदीबाट काठमाडौं पुग्न ३० दिन लाग्दथ्यो । उनका अनुसार वीपी धनकुटाबाट दोलालघाट हुँदै २० दिनमा काठमाडौँ पुगेका थिए । यो यात्राले वीपीमा तराईभन्दा पहाडी क्षेत्रबाट सडक बन्न सके काठमाडौं जोड्न नजिक हुने र त्यसले पहाडमा विकास पुर्‍याउन सक्ने धारणा बनाए । २०१७ मा प्रथम जननिर्वाचित प्रधानन्त्री बनेपछि उनले धरानलाई धनकुटासँग सडकले जोड्ने योजनालाई प्राथमिकता दिए ।

राणा शासनपछि लोकतान्त्रिक सरकारले तत्कालीन सोभियत संघबाट पहिलो वैदेशिक सहायता पाएको हो । राजनीतिक विश्लेषक भवानी बरालका अनुसार उक्त सहयोग वीपीेले धरान धनकुटा सडकका लागि उपयोग गरेका थिए । त्यसबेला सडकको योजना धराननजिक हालको विष्णुपादुका गाविस, धनकुटाको मुगा हुँदै बजार पुर्‍याइने थियो ।

सोभियत संघको विकास अनुदान एजेन्सी आरटीओ अन्तर्गत सहयोग आएकाले धरानमा निर्माण सुरु गरिएको धनकुटे सडकलाई आरटीओ रोड पनि भनिन्छ । धरान ७ भोटेपुलदेखि पश्चिम वडा १८ रत्नचोकसम्म बनेको २ कलिो मिटर सडकलाई अहिले पनि धनकुटे रोड भनिन्छ । वीपीको पहाडी क्षेत्रबाट सडकले राजधानी जोड्ने योजना धनकुटाबाट सुरु गर्ने थियो । त्यही अवधारणालाई वैकल्पिक सडकको रुपमा पछिल्लो समय सिन्धुलीबाट राजधानी जोड्ने वीपी राजमार्ग बनेको हो ।

 

"