केपी ओली नेतृत्वको मन्त्रिपरिषद् २५ सदस्यीय - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

केपी ओली नेतृत्वको मन्त्रिपरिषद् २५ सदस्यीय


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् अब २५ सदस्यीय बनेको छ । प्रधानमन्त्री ओलीले बिहीबार राज्यमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जसमा रक्षा मन्त्रालय भने ओली आफैंले राखेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको गत वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषद्मै नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन मन्त्रिपरिषद् विस्तार गरेको कुरा राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत जनाइएको छ ।

आफ्नै पार्टीभित्र विद्रोह गर्दै सरकारमा गएको जनता समाजवादी पार्टीको महन्त ठाकुर समूहले महत्वपूर्ण स्थान ओगट्न सफल भएको छ । विहीबारको मन्त्रिपरिषद विस्तारका क्रममा जसपाबाट उद्योग मन्त्रालयसहित राजकिशोर यादवले प्रवेश पाएका छन् ।

यसअघि राजेन्द्र महतोको नेतृत्वमा जसपाबाट ८ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरिएका थिए । अब राजकिशोरको प्रवेशसँगै जसपाबाट मन्त्री हुनेको संख्या ११ पुगेको छ ।

यस हिसाबले जसपाले एमालेको ओली समूहकै हाराहारीमा मन्त्रिपरिषदमा हिस्सा जमाएको छ । २५ सदस्यीय मन्त्रिपरिषदमा एमालेका १४ र जसपाका ११ जना रहनेछन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा समूह भने यसपटक सरकारमा सहभागी नभइ आफ्नै पार्टीभित्र र सरकारविरुद्ध संघर्षमा छ । ओली नेतृत्वकै सरकारमा यादवको २०७५ सालमा सरकारमा सहभागी भएका थिए । त्यसबेला जसपाबाट दुई जनामात्र मन्त्री बनेका थिए ।

नवनियुक्त मन्त्रीहरुको शपथ आज(विहीबार अपरान्ह ४ बजे शीतल निवासमा हुने कार्यक्रम तय भएको छ । यसअघि प्रधानमन्त्री ओलीले जेठ २१ गते पनि मन्त्रिपरिषद विस्तार गरेका थिए ।

विहीबार शपथ लिने मन्त्रीहरुमा गृहमा खगराज अधिकारी, उद्योग बाणिज्य तथा आपूर्तिमा राजकिशोर यादव, नैनकला थापा सञ्चार सूचना तथा प्रविधि, ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी विकास, नारदमुनी राना वन तथा वातावरण, गणेशकुमार पहाडी संघीय मामिला तथा सामान्य प्रशासन, मोहन बानियाँ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र आशाकुमारी विक राज्यमन्त्री वन तथा वातावरण रहेका छन् ।