डिपीआर बदलेर आफ्नो घर छेउबाट सडक बनाउन धम्की - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

डिपीआर बदलेर आफ्नो घर छेउबाट सडक बनाउन धम्की


रुकुम पूर्व । कर्तव्य ज्यान मुद्दाको आरोपमा फरार रहेका रुकुम पूर्वका एक युवाले गाउँमा आफ्नै घरछेउबाट सडक लिनुपर्ने भन्दै धम्की दिएर सडक निर्माण कार्य लामो समयसम्म अबरुद्ध गरेका छन् । पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ७ का उपेन्द्र घर्तीले फरक फरक नम्बरको मोबाइल नम्बरबाट ठेकेदार, जनप्रतिनिधि र स्थानीय अगुवाहरुलाई थर्काएर निर्माण कार्य अवरुद्ध पारेको बताइएको छ ।

गाउँपालिकाको वडा नम्वर ७ र ८ मा निर्माणाधिन कासतरा–खारखोला–चारगाउँ सडकलाई आफ्नो घर नजिकबाट लिनुपर्ने र नलिएमा राम्रो नहुने भन्दै उनले फोन मार्फत धम्की दिने गरेको स्रोतले जनाएको छ । २ हजार ८ सय मिटर लामो उक्त सडकको डीपीआर नै बदल्नुपर्ने उनको एकल माग रहेको जनाइएको छ ।

वडा नम्बर ७ मा रहेको उपेन्द्रको घरबारी छोएर गाउँतिर नलिने र त्यतैबाट ८ नम्बरमा सडक फर्काउने भन्दै उनले लामो समयसम्म बाटो खन्न नदिएको एक स्थानीयले बताए । गाउँपालिकाले अहिलेलाई जसरी भएपनि खन्नु भनेपछि सुरुवाती प्वाइन्ट मानिएको खारखोलाबाट खन्न डराएर अन्तिम बिन्दु जामाबगरबाट भर्खरै खन्न सुरुवात गरिएको छ । असार मसान्त सम्म सम्पन्न गरिसक्नुपर्ने काम दवावकै कारण समयमै सम्पन्न नहुने देखिएको स्थानीयले जनाएका छन् ।

लुम्बिनी प्रदेशको सरकारको १ करोड समपुरक बजेटबाट निर्माण थालिएको उक्त सडक उपेन्द्रको धम्कि र अवरोधका कारण निर्माणमा ढिलासुस्ति भैरहेको छ । पोखरा कन्ट्रक्सन प्रालिले ठेक्कामा लिएको उक्त सडक निर्माणमा उपेन्द्रले अवरोध गर्दा स्थानीय गाउँलेहरु हालै गाउँपालिकाको कार्यालयमा गएर गुनासो गरेपछि गाउँपालिकाले ‘एक जनाले थर्काएर केहि हुन्न, बाटो खन्नोस्’ भन्दै पठाएको स्थानीयले बताएका छन् । बाटो खन्ने काम पुनः सूचारु भएपछि उनले गाउँपालिकामा जनप्रतिनिधिलाई फोन गरेर ‘मैले भन्दाभन्दै पनि काम सुरु भएछ, यो राम्रो गर्नुभएन, म देखाइदिन्छु’ भन्दै थर्काएको स्रोतले जनाएको छ ।

उपेन्द्र उनकै गाउँ पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ७ खारखोला निवासी ७४ वर्षिय रणबहादुर घर्तीको हत्या आरोपमा फरार सुचिमा रहेका अभियुक्त भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । उनको खोजी कार्य भैरहको र जिल्ला बाहिरै लुकेर बस्ने गरेको भन्ने सूचना प्राप्त भएकोे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक मानबहादुर बिसीले जनाए ।

गत बर्षको मंसिर १५ गते राती उपचारको क्रममा घर्तीको काठमाण्डौमा मृत्यु भएको थियो । साबिक रुकुमको जाङ गाविसका पूर्वउप प्रधानपञ्च रहेका घर्तीलाई कार्तिक २९ गते घरमै बसेको समयमा ३ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले आक्रमण गरेका थिए ।

घरमै रहेको अवस्थामा फलामको घन, लाठी, हम्बरले हानेर घाइते बनाए पश्चात मृत्यु भएको भन्दै पीडित परिवारले उपेन्द्र सहित ३ जना व्यक्ति बिरुद्ध किटानी जाहेरी दिएका थिए । उपेन्द्र त्यसैबेला देखि प्रहरीको फरार सूचिमा रहेका छन् ।

फरार रहनु अघि मंगोल नेशनल अर्गनाईजेसनको नाममा चन्दा आतंक मच्चाएको, सरकारी कर्मचारी र शिर्षकहरुबाट मासिक लेबि उठाउने गरेको, सामुहिक खानेपानीको धारा घरमा जडान गरेको लगायतका आरोप उनलाई लागेका थिए । अर्गनाईजेशनले उनी संगठनको कुनैपनि सम्बन्धमा नहरेको भन्दै उक्त व्यक्तिलाई कारबाहिको माग राख्दै विज्ञप्ति जारी गरेको थियो ।