पदभार सम्हालेलगत्तै खगराजको निर्देशनः ७७ वटै जिल्लामा १२ बुँदे परिपत्र - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

पदभार सम्हालेलगत्तै खगराजको निर्देशनः ७७ वटै जिल्लामा १२ बुँदे परिपत्र


काठमाडौं । गृह मन्त्रालयले कोरोना (कोभिड–१९) का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ ।

नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै उनकै निर्देशन बमोजिम मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन र निकायका अधिकारीलाई १२ बुँदे परिपत्र जारी गर्दै कोभिड–१९ नियन्त्रणमा सक्रियतापूर्वक लाग्न र आवश्यक योजना निर्माण गरी सुरक्षास्थितिलाई मजबुत बनाउन निर्देश गरेको हो ।

गृहप्रवक्ता जनकराज दाहालले मन्त्री अधिकारीबाट प्राप्त निर्देशनअनुसार परिपत्र जारी गरिएको जानकारी दिए । मन्त्रालयले सरकारले सञ्चालन गरेका विकास आयोजना तोकिएको समयमा सम्पन्न गर्न प्रभावकारी समन्वय, सहजिकरण एवं अनुगमन गरी विकास कार्यमा तीव्रता दिन पनि भनेको छ ।

यसरी काम गर्दा स्वास्थ्य सुरक्षा मापदण्डलाई भने पूर्ण कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । परिपत्रमा हालसम्मको निषेध आदेश कार्यान्वयनको समीक्षा गर्दै जनस्वास्थ्यमा नकारात्मक असर नपारी स्वास्थ्य मापदण्ड पालनाका साथ आर्थिक गतिविधि अगाडि बढाउने सम्बन्धमा पूर्वतयारीमा जुट्न भनेको छ ।

परिपत्रमा आगामी कात्तिक २६ र मंसिर ३ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचन भयरहित, निष्पक्ष र विश्वासिलो बनाउन सम्वद्ध पक्षबीच आवश्यक समन्वय गरी तत्काल निर्वाचन कार्ययोजना तयार गर्न पनि निर्देशन दिइएको छ ।

सीमा नाकासँग जोडिएका जिल्लाले नाकाबाट हुने आवागमनलाई व्यवस्थित गरी अभिलेख राख्न तथा यात्रुलाई अनिवार्य स्वास्थ्य परीक्षण गराएर मात्र नेपाल प्रवेश गर्न दिने व्यवस्था मिलाउन पनि गृहले भनेको छ ।