किसानलाई बाँड्न ल्याएका बाख्रा किसानद्धारा अस्विकार - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

किसानलाई बाँड्न ल्याएका बाख्रा किसानद्धारा अस्विकार


रुकुम पश्चिम । बाख्रा पालनका लागि किसानलाई वितरण गर्ने भनि ल्याएका बाख्रा किसानहरुले नै लिन अस्विकार गरेका छन् । वितरणको लागि ल्याएका बाख्रा मापदण्ड विपरितका भएपछि जिल्लाको मुसिकोट नगरपालिकाले फिर्ता गरिदिएको छ । आर्थिक वर्ष ०७७∕०७८ मा नगरपालिकाका किसानलाई वितरण गर्न ल्याइएका मध्य २६ ओटा बाख्रा फिर्ता गरिएको नगरपालिकाले जनाएको छ ।

बाख्रा खरिदका लागि गरिएको टेन्डर अनुसार सम्झौता गरेको ठेकेदार कम्पनीले ल्याएका बाख्रा पालनयोग्य तथा उत्पादनयोग्य नभएका र कृषकले समेत लिन अस्विकार गरेकोले फिर्ता पठाइएको मुसिकोट नगपालिकाका सामाजिक विकास समितिका संयोजक शुशील गौतमले बताए ।

उनका अनुसार ठेकेदारले ल्याएका पहिलो लटका ५६ ओटा बाख्रा मध्ये २६ ओटा बाख्रा फिर्ता पठाईएको हो । नगरपालिकाले यहाँका बिभिन्न योजना तथा कार्यक्रमहरुको प्रभावकारीता बारेमा अनुगमन गरिरहेको छ । कार्यक्रमको लक्ष्य तथा उद्धेश्य विपरित हुने हरेक खालका कार्यलाई अनुगमन गरेर निरुत्साहन गरिने सामाजिक विकास समितिका संयोजक गौतमले जनाए ।

संघीय सरकार र मुसिकोट नगरपालिकाको साझेदारीमा किसान किसानलाई व्यवसायीक बनाएर आर्थिक उत्पादनमा जोड्ने उद्धेश्यले बाख्रापालन कार्यक्रम राखिएको थियो । यस बर्ष १ सय ५० ओटा बाख्रा वितरणको कार्यक्रम रहेकोमा ठेकेदार कम्पनीले पहिलोपल्ट ५६ ओटा बाख्रा ल्याएको नगरपालिकाको पशु सेवा शाखा प्रमुख सरस्वती सापकोटाले बताइन ।

बाँकी बाख्रा अब तत्कालै ल्याएर वितरण हुने उनले जानकारी दिईन् । पहिलो लटमा ल्याएका मध्य २६ ओटा बाख्रा कोहि साना, कोहि बुढो भएका र मापदण्ड भित्रका नभएकोले पुनः किसानसँग सहकार्य गरेर ल्याउने गरी ठेकेदरलाई नै फिर्ता गरिएको उनले उल्लेख गरिन ।

बाख्रा खरिद र वितरणका लागि केयरफम नेपाल प्रा.लि., नेपालगञ्ज ले सम्झौता गरेको थियो । यसका लागि संघीय सरकार र मुसिकोट नगरपालिकाले सयुक्त बजेटबाट १८ लाख ४२ हजारको टेण्डर आह्वान गरिएको थियो । यसमा बाख्रा खरिद, घाँस, औषधि समेत व्यबस्थाको लागि बजेट बिनियोजन गरिएको थियो ।