कांग्रेस महाधिवेशन भदौमै, कार्यतालिका पुनः हेरफेर - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

कांग्रेस महाधिवेशन भदौमै, कार्यतालिका पुनः हेरफेर


काठमाडौं । भदौमा गर्ने कार्यतालिका रहेको कांग्रेसको १४ औं महाधिवेशन कार्यतालिका पुनः हेरफेर हुने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शनिबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले भदौको १६, १७, १८ र १९ गते केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी महाधिवेशनको कार्यतालिका फेरबदल गर्ने प्रस्ताव गरेको छ ।

बैठकपश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सह–महामन्त्री डा. प्रकाशशरण महतले केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले सदस्यता छानविनका लागि २० असारसम्मको समय पाएको जानकारी दिए । समितिले सभापतिलाई क्रियाशीलको सूची बुझाइसकेपछि २४ असारमा सूची सार्वजनिक गरिनेछ । र, ६ साउनबाट तल्ला तहको अधिवेशन सुरु गर्ने प्रस्ताव पारित भएको छ ।

डा.महतका अनुसार यो निर्णय केही दिनभित्र बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट अन्तिम निर्णय गरिने भएको छ । यसअघि कांग्रेसले भदौ ७ देखि १० गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको थियो ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार असार ५ बाट तल्ला तहको अधिवेशन सुरु हुनुपर्ने थियो । यस्तै बैठकले सरकारले कोरोना भाइरसको महामारीलाई सत्ता जोगाउने रक्षाकवजको रूपमा प्रयोग गरेको विषयमा पनि आपत्ति जनाएको छ ।

बैठकले नेपाल गरिब राष्ट्र भएकाले सम्पूर्ण कुटनीतिक शक्तिको प्रयोग गरेर यथासिघ्र सबै नेपालीलाई भ्याक्सिन लगाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।