बीएन्डसीलाई सम्बन्धन दिंदा डा.गिरीमाथि सुरक्षा खतरा - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

बीएन्डसीलाई सम्बन्धन दिंदा डा.गिरीमाथि सुरक्षा खतरा


काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.कृष्ण गिरीमाथि विवादास्पद मेडिकल कलेज बीएन्डसीलाई सम्बन्ध दिलाउनका लागि दिएको दबाबका कारण सुरक्षा खतरा बढेको भन्दै केही संस्थाले आपत्ति जनाएका छन् ।

बृहत् नागरिक आन्दोलन र सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्सले प्रधानमन्त्री एवम् चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीले गिरीलाई दबाब दिएर सम्बन्धन दिलाएको भन्दै आपत्ति जनाएका छन्। उनीहरुले डा.गिरीमाथि सुरक्षा चुनौति पनि बढेको निष्कर्ष निकालेका छन् ।

दुई संस्थाले आइतबार जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ, ‘आज जेठ ३० गतेका दिन प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष डा.श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाई प्रक्रिया मिचेर बीएन्डसीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न नाजायज दबाब दिएका छन्।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसमेतले उपाध्यक्ष गिरीलाई हस्ताक्षर वा राजीनामा गर्न धम्कीसहित चरम दबाब दिएपछि अहिले डा.गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको छ।’

२८ जेठमा बसेका आयोगको बैठकमा प्रक्रिया पुर्‍याएर मात्र सम्बन्धन दिनुपर्ने सुझाव विज्ञहरुले दिएकोमा त्यसविपरीत प्रधानमन्त्री ओलीले सम्बन्धनका लागि उपाध्यक्षलाई दबाब दिएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा राज्यशक्तिको चरम दुरुपयोग गर्दै देशका प्रधानमन्त्री र मन्त्रीहरुले नै एउटा स्वायत्त निकायका कार्यकारी प्रमुखमाथि गरेको ज्यादतीलाई भत्सर्नायोग्य भनिएको छ। उनीहरुले भनेका छन्, ‘मेडिकल शिक्षालाई सीमित नाफाखोर आसेपासेको हातमा सुम्पेर देशको स्वास्थ्य प्रणाली नै धराशयी पार्ने चेष्टा आफैंमा भर्त्सना योग्य छँदै छ, एउटा लोकतान्त्रिक मुलुकको प्रधानमन्त्री निवासलाई नै गुण्डागर्दीको थलो बनाउनु झनै आपत्तिजनक छ।’

‘डा.गिरीको जीवन रक्षा अहिले मुख्य चिन्ताको विषय बन्न पुगेको भन्दै चिकित्सा शिक्षा आयोगको स्वायत्तता र डा. गिरीको भौतिक र मानसिक सुरक्षा सुनिश्चित गर्न सरकार तथा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराइएको छ। उनीहरुले डा.गिरीको सुरक्षाका निम्ति आ–आफ्नो ठाउँबाट आवाज उठाउन र आन्दोलित हुन सबै राजनीतिक दल, पेसाकर्मी तथा नागरिकमा अपिल गरेका छन्, विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले गत शुक्रबार आकस्मिक रुपमा चिकित्सा शिक्षा आयोगको बैठक डाकेर बीएन्डसीलाई सम्बन्धन दिन दबाब दिएका थिए । कुनै समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आदर्श मानेका मेडिकल व्यवसायी दुर्गा प्रसाईको निजी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि नै ओलीले आकस्मिक रुपमा आयोगको बैठक बोलाउन लगाएको बताइन्छ ।