कांग्रेस महाधिवेशन गर्न क्रियाशील सदस्यता बाधक बन्नसक्ने - रुपान्तरण
 २०८१ जेठ ६, आईतबार    

कांग्रेस महाधिवेशन गर्न क्रियाशील सदस्यता बाधक बन्नसक्ने


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले ३३ जिल्लाका थप ६५ स्थानको नामावली सार्वजनिक गरेको छ ।

शनिबारको बैठकको निर्णय अनुसार पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्र अनुसारको प्रक्रिया पुर्याई विवादरहित तरिकाले क्रियाशील सदस्यता सम्बन्धी कार्य सम्पन्न गरी जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप ३३ जिल्लाका ६५ स्थानको नामावली सम्बन्धित सरोकारवालाको जानकारीका लागि नेपाली कांग्रेसको आधिकारिक वेवसाइटमा सार्वजनिक गरिएको कांग्रेसले जनाएको छ ।

यसअघि नै कांग्रेसले १०१ स्थानको नामावली सम्बन्धित सरोकारवालाको जानकारीका लागि कांग्रेसको आधिकारिक वेवसाइटमा सार्वजनिक गरिसकिएको कांग्रेसले जनाएको छ । योसहित अहिलेसम्म १६६ स्थानको नामावली सार्वजनिक भइसकेको छ ।

कांग्रेसले भदौमा पार्टीको १४ औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । तर विभिन्न जिल्लामा भएको विवादका कारण क्रियाशील सदस्यताको टुंगो लाग्न समस्या देखिएको छ ।

भदौ १९ गतेसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरेर महाधिवेशनको काम अगाडी बढाइएको भएपनि महाधिवेशन हुनसक्ने विषयमा प्रश्न उब्जिएको छ । किनकी अब असार २० गतेसम्म जिल्लाहरुबाट पार्टीको क्रियाशील सदस्यता पठाउनु पर्ने बाध्यता छ । नपठाए विकल्पमा गएर महाधिवेशनमा गर्ने विषयमा छलफल शुरु गर्नुपर्ने बाध्यता छ ।

सप्तरी, सिन्धुपाल्चोक, सर्लाही, बारा, प्यूठान, बर्दिया, रुकुम पश्चिम, रौतहट लगायका जिल्लाहरूमा क्रियाशील सदस्यताको विवाद उत्पन्न भएको छ । क्रियाशील सदस्यताको विषय टुंगाएर क्रियाशील सदस्यता छानविन समितिले असार २० गतेभित्र पार्टीलाई विवरण बुझाउनु पर्नेछ । तर, त्यो असम्भवप्रायः देखिएको छ ।

किनकी समय सकिन लाग्दा क्रियाशील सदस्यताले टुंगो नपाउनुको मुख्य कारण संस्थापन र इतर पक्षको विवाद नै प्रमुख कारण हो । आफैँले बनाएको संगठन समायोजनको मापदण्डलाई बेवास्ता गर्दा कांग्रेसको आन्तरिक लोकतन्त्रक र पार्टी अस्तित्व संकटमा परिरहेको छ ।